कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

परम्परागत शैलीका भवनलाई सहुलियत

भक्तपुर — सांस्कृतिक नगर भक्तपुुरको स्वरूप बचाउन परम्परागत शैलीमा घर निर्माण गर्ने तथा स्लोप छाना निर्माणलाई प्राथमिकता दिँदै भक्तपुर नगरपालिकाले १ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

परम्परागत शैलीका भवनलाई सहुलियत

नगरपालिकाको तेस्रो नगरसभाबाट पारित नीति तथा कार्यक्रम र बजेट सार्वजनिकीकरण कार्यक्रममा नगरप्रमुख सुनील प्रजापतीले सांस्कृतिक, ऐतिहासिक नगरको स्वरूप बचाउन परम्परागत शैलीमा घर निर्माण गर्ने नगरको पुरानो क्षेत्रभित्रका नगरवासीलाई मोहडाको लागि लाग्ने इँटा र काठमा खर्चको ३५ प्रतिशत अनुदान दिँदै आएको बताए ।

चालू आर्थिक वर्षभित्र नगरका ९४ जनाले घर निर्माण सम्पन्न प्रमाणपत्र लिएको र तीमध्ये नगरको पुरानो क्षेत्रमा नक्सापास गरी परम्परागत शैलीमा ११ जनाले घर निर्माण गरेको उनले बताए । ऐतिहासिक नगरको पुरानो क्षेत्रको परम्परागत सौन्दर्यलाई कायम राख्न नगरपालिकाले आग्रह गरे अनुसार मापदण्डबमोजिम परम्परागत शैलीमा घर निर्माण गर्ने र सम्पदा संरक्षण कार्यमा पुर्‍याएको योगदानको सम्मान गर्दै उनीहरूलाई २१ लाख ५२ हजार २ सय २८ रुपैयाँ बराबारको अनुदान रकम तथा प्रशंसा पत्र वितरण गरेको छ ।

नगरपालिकाले ०७५/७६ को नीति तथा कार्यक्रममा भक्तपुर दरबार क्षेत्रको पचपन्नझ्याले दरबारमा आन्तरिक र बाह्य पर्यटकहरूका लागि साताको तीन दिन खुल्ला गर्ने कार्यविधि बनाएर भौतिक पूर्वाधारको तयारी गरेको उनले बताए । भक्तपुर नगरपालिकाले आर्थिक वर्ष ०७५/७६ का लागि कुल १ अर्ब ७३ करोड ४० लाख रुपैयाँ बजेट पारित गरेको छ । जसमध्ये नगरपालिकाले चालु खर्चअन्तर्गत ६० वटा मुख्य कार्यक्रमका लागि बजेट विनियोजन गरेको नगरप्रमुख प्रजापतीले बताए । नगरपालिकाले शिक्षालाई पहिलो प्राथमिकता दिँदै २४ करोड ७ लाख ४४ हजार ३ सय रुपैयाँ बिनियोजन गरेको छ ।

नगरपालिकाले शिक्षा शीर्षकमा १० वटा नीति तथा कार्यक्रम अघि सारेको छ । भक्तपुर नगरपालिकाले आफू मातहत सञ्चालन हुँदै आएको ख्वप कलेज, ख्वप: इन्जिनियरिङ कलेजमा चित्रकला, ज्योतिषशास्त्र तथा नक्षत्र विज्ञानको कक्षा सञ्चालनको तयारी अघि बढाउने नीति तथा कार्यक्रममा उल्लेख छ । नगर क्षेत्रभित्रका विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई २१ औं शताब्दीका लागि योग्य बनाउन शिक्षकलाई नेपाली, अंग्रेजी, विज्ञान र गणित विषयको विशेष तालिमको व्यवस्था गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । उक्त नीति तथा कार्यक्रममा निजी तथा संस्थागत विद्यालयलाई शैक्षिक गुठी तथा सहकारीमार्फत सञ्चालन गर्दै लैजान भनिएको छ ।

अध्ययन अनुसन्धान गर्नेलाई आर्थिक अनुदान भक्तपुरको खानेपानी, शिक्षा, सरसफाइ, सम्पदा, परम्परागत शैलीका घर वा भक्तपुर नगरपालिकासँग सम्बन्धित विषयमा अध्ययन अनुसन्धान गर्ने विद्यार्थीलाई आर्थिक अनुदानको व्यवस्था मिलाउने उल्लेख छ । इतिहास, भूगोल, राजनीतिशास्त्र, नेपालभाषा र संस्कृत विषय लिई स्नातक वा स्नातकोत्तर अध्ययन गर्ने विद्यार्थीलाई निश्चित रकम तोकी छात्रवृत्तिको व्यवस्था गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । नगरपालिकाले सहुलियतमा पाँच लाखसम्म शैक्षिक ऋण उपलब्ध गराउने जानकारी दिएको छ ।

नगरपालिकाले छात्रवृत्ति तथा शैक्षिक ऋणको लागि १ करोड ५५ लाख रुपैयाँ विनियोजन गरेको जनाएको छ । आर्थिक वर्ष ०७५/७६ को नपाको नीति तथा कार्यक्रममा चिकित्साशास्त्रअन्तर्गत विभिन्न विषयमा एमडी वा सो सरह स्नातकोत्तर तह अध्ययन गर्ने विद्यार्थीमध्ये दुई जनालाई छात्रवृत्ति दिने व्यवस्था मिलाइएको छ । छात्रवृत्ति पाउने चिकित्सकले भने भक्तपुर नगरपालिकाद्वारा सञ्चालन गर्ने ख्वप: अस्पतालमा कम्तीमा पाँच वर्ष पूर्णकालीन सेवा गर्नुपर्ने सर्त राखिएको छ ।

ख्वप अस्पतालका लागि १४ करोड रुपैयाँ बजेट विनियोजन गरेको जनाएको छ । नगरपालिकाले क्यान्सर, मृर्गौला प्रत्यारोपण, मुटुको शल्यक्रिया तथा मस्तिष्काघात जस्ता कडा रोग लागेका नगरबासीलाई नगरपालिकाका तर्फबाट प्रतिव्यक्ति १० हजार रुपैयाँका दरले उपचार सहयोग रकम प्रदान गर्ने नीति तथा कार्यक्रमअनुसार १० लाख रुपैयाँ विनियोजन गरेको प्रजापतीले बताए ।

प्रकाशित : असार ३१, २०७५ ०७:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?