१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

परिवार नियोजनका साधन प्रयोग गर्दैनन् किशोरकिशोरी

फातिमा बानु

काठमाडौँ — परिवार नियोजन लक्षित धेरै कार्यक्रम र योजना सरकारले ल्याए पनि किशोरकिशोरीमा यसको प्रयोग भने निकै कम पाइएको छ । जनचेतना कमी, गोपनीयता नहुने र वैदेशिक रोजगारका कारण उनीहरूमा यसको प्रयोग न्यून भएको हो ।

परिवार नियोजनका साधन प्रयोग गर्दैनन् किशोरकिशोरी

वैदेशिक रोजगारीका कारण नवविवाहित दम्पती लामो समयसम्म छुट्टिएर बस्दा उनीहरूबीच यौनसम्पर्क नहुँदा साधन प्रयोगमा युवाको तथ्यांक न्यून देखिएको विशेषज्ञ बताउँछन् ।

परिवार स्वास्थ्य महाशाखाको तथ्यांकअनुसार नेपालमा १५ देखि १९ वर्षका विवाहित किशोरीमध्ये १५ प्रतिशतले मात्र परिवार नियोजनका आधुनिक साधन प्रयोग गर्छन् । विवाहित महिलामध्ये ५३ प्रतिशतले भने परिवार नियोजनका साधन अपनाइरहेका छन् । विशेष गरी प्रदेश ४ र ५ मा यसको प्रयोग अत्यन्तै न्यून छ, दुवै प्रदेशमा ३८ प्रतिशत मात्रै ।

जातिगत स्थिति हेर्दा मधेसी र मुस्लिम समुदायमा यसको प्रयोग कम छ । तथ्यांकअनुसार हाल नेपालमा ३१ लाख ८५ हजार महिलाले मात्रै परिवार नियोजनका आधुनिक साधन प्रयोग गरिरहेका छन् । नियोजनका साधन प्रयोग गरी जन्मान्तर घटाउनुपर्ने चिकित्सकको सुझाव छ ।

कलिलो उमेरमा गर्भवती हुने र छोटो जन्मान्तरमा सन्तान जन्माउनेमध्ये १५ प्रतिशत आमा र बच्चाको ज्यानै जोखिममा पर्छ । साधन प्रयोग नगर्दा यसले धेरैपटक गर्भपतन गर्नेुपर्ने स्थिति निम्त्याउँछ । गर्भपतन गर्नेमा २० वर्ष नपुगेका किशोरीको संख्या बढ्नुको कारण पनि यही हो । एचआईभीलगायत यौनजन्य रोगबाट बच्न पनि साधनको प्रचारप्रसार र पहुँच बढाउनुपर्ने डा. उषा झा बताउँछिन् । भन्छिन्, ‘युवामा साधनको प्रयोग भए पनि यो स्थायी हुन सकिरहेको छैन, किशोर–किशोरीलक्षित कार्यक्रम ल्याउन आवश्यक छ ।’ विश्व स्वास्थ्य संगठनका अनुसार अनिच्छित गर्भ रहेका सबै महिलाले प्रभावकारी साधन प्रयोग गरे मातृमृत्युदर ३० प्रतिशत घटेर जान्छ । किशोरी अवस्थामा गर्भका कारण हुने मातृ मृत्युदर २० वर्षमाथि दोब्बर भइरहेको संगठनको तथ्यांक छ ।

देशका १३ जिल्लामा परिवार नियोजनका साधन प्रयोग न्यून छ । ती जिल्लामा ३० प्रतिशतभन्दा कम प्रयोगकर्ता भएको महाशाखाको तथ्यांक छ । विशेष गरी गरिब, हिमाली पहाडका दुर्गम क्षेत्र, दलित र मुस्लिम समुदायमा यसको प्रयोग न्यून देखिएको हो । पहुँच नपुग्नुले पनि किशोरीमा साधनको प्रयोग न्यून भएको हो । नेपालका १५ प्रतिशत हेल्थपोस्टमा मात्रै यस्ता सामग्री उपलब्ध छन् ।

बढ्दो जनसंख्या नियन्त्रण र मातृ–शिशु मृत्युदर घटाउन साधनको प्रयोग बढाउनुपर्ने परिवार नियोजन संघका अध्यक्ष छत्रबहादुर गिरी बताउँछन् । उनी भन्छन्, ‘परिवार नियोजनका साधनको प्रयोग गर्न पाउनु मानव अधिकार हो, अल्पसंख्यक र पिछडिएको समुदायमा यो अधिकार सुनिश्चत हुन सकेको छैन ।’

परम्परागत रूपमा परिवार नियोजनका साधनलाई बच्चा नजन्माउने उपायको मानिन्थ्यो । आजभोलि यसलाई किशोरकिशोरी स्वास्थ्य सुधार, व्यवस्थित परिवार र नवजात तथा बालस्वास्थ्यसँग पनि जोडेर हेरिन्छ । स्त्रीरोग विशेषज्ञ डा. किरण रेग्मी भन्छिन्, ‘यो महिला सशक्तीकरण र आर्थिक उत्थानसँग पनि जोडिएको छ, यसको प्रयोग बढाउन अभियानै आवश्यक छ ।’

कतिपय ठाउँमा परिवार नियोजनका साधनको प्रयोगले शरीरलाई कमजोर पार्छ, रोग लाग्छ, देवता रिसाउँछन्, बाँझोपन हुन्छ जस्ता गलत मानसिकताका कारण यसको प्रयोग बढ्न सकेको छैन । साधनकै कारण नेपालमा मातृ–शिशु मृत्युदर घटेको परिवार स्वास्थ्य महाशाखा जनस्वास्थ्य विज्ञ घनश्याम पोखरेल बताउँछन् ।

दुई दशकपहिले नेपालमा मातृ मृत्युदर प्रति १० हजारमा ५ सय ३९ जना थियो । अहिले घटेर प्रति १० हजारमा २ सय ३९ भइसकेको छ । पोखरेल भन्छन्, ‘साधन सेवाप्रदायी संस्था किशोरकिशोरीमैत्री हुन आवश्यक छ, गोपनीयता कायम गर्न सके उनीहरूमा यसको प्रयोग बढेर जान्छ ।’

सरकारले सन् २०२० सम्ममा परिवार नियोजनका आधुनिक साधनको प्रयोगदर ७१ प्रतिशतसम्म बढाउने लक्ष्य लिएको छ । यसका लागि सरकारले यस क्षेत्रमा लगानी पनि बढाएको छ । ३ वर्ष पहिले परिवार नियोजनका लागि २५ करोड हाराहारी खर्च गरेको थियो । यस वर्ष लगानी बढाएर ४१ करोड रुपैयाँ पुर्‍याएको छ ।

प्रकाशित : असार ३१, २०७५ ०७:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?