कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

अब व्यवस्थित पार्किङस्थल

तोकिएको स्थानभन्दा अन्यत्र पार्किङ गरे जरिवाना गरिनेछ

काठमाडौँ — जथाभावी रूपमा गाडी पार्किङ गर्दै हुनहुन्छ ? पार्किङस्थल भेटाउन भएको छैन ? अब उपत्यका टाफिक प्रहरी महाशाखा, सडक विभाग, यातायात व्यवस्था विभाग र काठमाडौं महानगरपालिकाले व्यवस्थित पार्किङको अवधारणा अघि सारेको छ ।

अब व्यवस्थित पार्किङस्थल

त्यसका लागि विभिन्न स्थानमा साना तथा ठूला सवारीसाधनका लागि पार्किङस्थल निर्धारण गर्ने तयारी गरेको छ ।

महानगरपालिका, ट्राफिक प्रहरी, यातायात व्यवस्था विभाग र सडक विभागले विस्तृत रूपमा अध्ययन गरेर उक्त तयारी गरेको हो । ट्राफिक समस्या समाधानका लागि ८३ स्थानमा अल्पकालीन र १० वटाभन्दा बढी स्थानमा दीर्घकालीन पार्किङस्थान तोक्ने तयारी गरेको महानगरीय टाफिक प्रहरी प्रमुख वसन्तकुमार पन्तले जानकारी दिए ।

‘अब जथाभावी पार्किङ गर्न कसैले पाउने छैनन्, त्यसका लागि विभिन्न स्थानमा पार्किङ स्थान तोक्दै छौं,’ उनले भने, ‘अब ट्याक्सी, मोटरसाइकल र ठूला सवारीसाधनले जथाभावी रूपमा पार्किङ गर्न दिन्नौं ।’ त्यसैगरी नयाँ यात्रु प्रतीक्षालयको निर्माण र पुरानाको मर्मत–सम्भार गरिने उनले बताए । १ सय ३ स्थानमा नयाँ पार्किङ निर्माण गरिने उनले बताए ।

सडकमा जथाभावी रूपमा सवारीसाधन पार्किङ गर्न थालेपछि पैदलयात्रीलाई समेत हिँड्डुल गर्न असहज भएको भन्दै नयाँ पार्किङस्थल निर्माण कार्य अघि बढाउन लागेको उनले बताए । महानगरपालिका नगर प्रहरी डीएसपी विष्णुप्रसाद जोशीले जथाभावी पार्किङले उपत्यकाको सवारी आवगमन अवरोध पुगेको भन्दै दीर्घकालीन तथा अल्पकालीन पार्किङको व्यवस्था गर्न लागेको बताए ।

‘नि:शुल्क पार्किङको व्यवस्था गरेको हो,’ उनले भने, ‘तर तोकिएको स्थानभन्दा अन्य स्थानमा पार्किङ गरे जरिवाना गरिन्छ ।’ अब प्रत्येक स्थानमा व्यवस्थित पार्किङस्थल निर्माण हुने उनले बताए । हाल उपत्यकामा १० लाखभन्दा बढी सवारीसाधन दैनिक गुड्ने गर्छन् । ती गाडीका लागि व्यवस्थित पार्किङको व्यवस्था हुन सकेको छैन ।

कहाँ बन्दै छन् अल्कालीन पार्किङस्थल ?
दरबारमार्ग मूल सडकमा कार, दरबारमार्ग र सरस्वती मार्गमा मोटरसाइकल, रानीपोखरी अगाडि मोटरसाइकल, कमलादी प्रज्ञाभवन पश्चिमपट्टि मोटरसाइकल र कार, प्रज्ञाभवन पश्चिमपट्टि मोटरसाइकल र कार, चारखाल पश्चिमपट्टि कार पार्किङको व्यवस्था गरेको छ ।

शंकरदेवअगाडि कार र मोटरसाइकल, ठमेल त्रिदेवीमार्ग र पुतलीसडक लालुपाते मार्गमा मोटरसाइकल, बागबजर पीके क्याम्पसविपरीतमा मोटरसाइकल, नक्साल टेलिकमअगाडि मोटरसाइकल र ठमेल हिमालयन जाभाअगाडि मोटरसाइकल पार्किङको प्रस्ताव गरेको छ ।

त्यसैगरी २९ नम्बर वडाअगाडि, नयाँ पोखरी, नयाँसडक, खिचापोखरी डबली र मुखमा, खिचापोखरी चौधरीअगाडि, पशुपति प्लाजा, पीपलबोट, पाको मुख पश्चिम, पाको दक्षिण, रणमुक्तेश्वर धर्मपथ पिनटअगाडि र धर्मपथमा अल्पकालीन मोटरसाइकल पार्किङ गर्ने प्रतिवेदनमा उल्लेख छ ।

शुक्रपथ, प्युखाचोक पूर्व, सुन्धारा उत्तर पश्चिम, धरहरा दक्षिण, धरहरा पूर्व, महाबौद्ध, जमलचोक, भोटाहिटी दरबार हाइस्कुल दक्षिण, भोटाहिटी नयाँ साझाअगाडि, संकटा मन्दिर परिसर, वसन्तपुर काउन्टरअगाडि, सुरज आर्केड अगाडि, ताम्राकार प्लाजाअगाडि, तारिणी बहालअगाडि, कालिमाटी सोल्टीमोड, कलंकी मालपोतअगाडि मोटरसाइकल पार्किङको व्यवस्था गर्ने तयारी गरेको छ ।

त्यसैगरी महाराजगन्ज खड्का नर्सरीअगाडि, चुच्चेपाटी, जोरपाटी, चाबहिल ओरालो, केएमसी अस्पतालको उत्तर र दक्षिण, एयरपोर्ट गेटअगाडि, कोटेश्वर भाटभटेनी, मेडिकेयर अस्पतालअगाडि, महाराजगन्ज प्रहरी वृत्तअगाडि, सामाखुसी विनायक अस्पतालअगाडि पनि मोटरसाइकल पार्किङका लागि स्थान निर्धारण गरिएको छ ।

कारका लागि खिचापोखरी, पाको मन्दिर अगाडि, धर्मपथको पिनट भवन दक्षिण, धर्मपथ, शुक्रपथ उत्तरपट्टि, प्युखाचोक, धरहरा बाटो दक्षिण स्थान निर्धारण गरेको छ । त्यसैगरी धरहरा दक्षिण, भोटाहिटी नयाँ साझाअगाडि, बालाजु चोक उत्तरपूर्व, महाराजगन्ज नर्सरी चोकअगाडि, चुच्चेपाटी, केएमसी दक्षिण खाली जग्गाअगाडि, कोटेश्वर भाटभटेनीअगाडि पनि ट्याक्सी तथा चारपांग्रे पार्किङ गर्न प्रस्ताव गरेको छ ।

दीर्घकालीन पार्किङस्थल कता ?
धर्मपथको खाली जग्गा, खुलामञ्च, केशरमहल पूर्वपट्टिको भाग, समाज कल्याण परिषद्, भृकृटीमण्डपभित्र, सुन्धाराको टक्सार विभाग, लैनचोर र विष्णुमती नदीमाथि भवन निर्माण गरेर बहुतलायुक्त भूमिगत पार्किङको व्यवस्था गर्न सकिनेछ ।

प्रकाशित : असार ३२, २०७५ ०८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?