२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

थुप्रियो फोहोर

ललितपुर — ललितपुर र काठमाडौं महानगरपालिकाका चोकचोकमा फोहोर थुप्रिन थालेको छ । नुवाकोटस्थित ल्यान्डफिल्ड साइट सिसडोल ओभरलोडले पर्खाल भत्किएपछि समस्या भएको हो । २ वर्षअघि पनि साइटमा भासिएर समस्या भएको थियो ।

थुप्रियो फोहोर

ललितपुर महानगरपालिका प्रवक्ता राजु महर्जनले पनि साइट भरिसकेकाले सरकारले चाँडो व्यवस्थापनमा चासो दिनुपर्ने बताए ।

काठमाडौं महानगरपालिका प्रवक्ता ज्ञानेन्द्र कार्की भन्छन्, ‘महानगरपालिकाको काम फोहोर संकलन गर्नु हो । नुवाकोट महानगरपालिकाअन्तर्गत पर्दैन । ल्यान्डफिल्ड साइट बनाउने काम केन्द्रीय सरकारको हो ।’ उनले महानगरपालिकाले बेलाबेलामा सरकारको ध्यानाकर्षण गराउँदा पनि बेवास्ता गर्दै आइरहेको बताए ।

‘यस्तै स्थिति रहिरहे ५ महिनापछि उपत्यकामा फोहोरको दुर्गन्धले बस्नै नसक्ने अवस्था आउनेछ,’ उनले भने, ‘हामीले फोहोरका गाडी सकेसम्म पठाइरहेका छौं ।’ उनले बन्चरेडाँडाको पूर्वाधार तयार भइनसकेकाले फोहोर व्यवस्थापनमा केही समय लाग्ने बताए । ‘सिसडोलमा फेरि पनि फोहोर फालेमा दुर्घटना हुने खतरा रहेको प्राविधिक रिपोर्ट छ,’ उनले भने, ‘केही अनर्थ भएमा महानगरपालिकाले जिम्मा लिन सक्दैन ।’

महानगरपालिकाले सिसडोलमा २०६२ देखि फोहोर फाल्दै आएको छ । तीन वर्षका लागि भनिएको साइट १० वर्ष चलाइसकेको छ । ललितपुर र काठमाडौं महानगरपालिकाका अनुसार सरकारले साइट भरिएपछि सिसडोलभन्दा २ किमि पर नुवाकोट र धादिङको सिमानामा बन्चरेडाँडामा आधुनिक फोहोर फाल्ने ठाउँ बनाउने घोषणा गरेका थिए । तर, व्यवस्थापनमा चासो नदिँदा पटक–पटक समस्या आउने गरेको दुवै महानगरपालिकाको भनाइ छ ।

अहिले ललितपुरको कुपण्डोल, ज्वागल, न:टोल, लगनखेल र काठमाडौंको भृकुटीमण्डप, बागबजार, चाबहिललगायत मुख्य चोकमा फोहोर थुप्रिन थालेको छ । दुर्गन्धले वरिपरिका घरधनी र बटुवा हैरान छन् । फोहोरका कीटाणुका कारण हैजा, झाडापखाला, आउँजस्ता संक्रमणहरू हुन सक्ने सम्भावना बढेको चिकित्सकहरू बताउँछन् ।

ललितपुरको सबस्टेसन बालकुमारी र काठमाडौंको टेकुमा छ । बालकुमारीले २ दिन र काठमाडौंले एक साता मात्र फोहोर थेग्न सक्छ । अहिले दुवैमा फोहोर भरिसकेको छ । सिसडोलमा दैनिक १ सय ८० वटा फोहोर बोकेका गाडी विसर्जन गर्न पुग्छन् ।

काठमाडौं महानगरपालिकाले सिसडोल प्रवेश गरेबापत निजी गाडीलाई न्यूनतम ८ टनसम्म १ सय ५० रुपैयाँ र ८ टनभन्दा माथिका गाडीको २ सय ५० रुपैयाँ शुल्क उठाउँछ । यसबापत महानगरले वार्षिक १५ करोडभन्दा बढी आम्दानी गर्छ । ललितपुरमा दैनिक ९० टन फोहोर उत्पादन हुन्छ । जसमा महानगरले ६० टन र ३० टन निजी कम्पनीले व्यवस्थापन गर्दै आइरहेको छ । काठमाडौंमा एक सय टन फोहोर उत्पादन हुन्छ ।

प्रकाशित : असार ३२, २०७५ ०८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?