२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

जथाभावी बाटो काटे कक्षा लिनुपर्ला !

सवारी दुर्घटनामा मृत्यु हुनेमध्ये ४३ प्रतिशत पैदलयात्री
दीपेन्द्र विष्ट

काठमाडौँ — सिन्धुपाल्चोकका दिनेश दुलाललाई आइतबार कोटेश्वर ट्राफिक प्रहरीले अचानक केहीबेर नियन्त्रणमा लियो । ट्राफिकले अचानक रोकेको देखिपछि उनी छक्क परे । जथाभावी रूपमा बाटो काटेको भन्दै ट्राफिकले सचेतनामूलक कक्षा दिन थालेपछि आफूले गल्ती गरेको उनले थाहा पाए ।

जथाभावी बाटो काटे कक्षा लिनुपर्ला !

‘थाहा थिएन, अलि पर जेब्रा क्रसिङ थियो, मैले त वरैबाट बाटो काटें’ उनले भने, ‘करिब २० मिनेट सचेतनामूलक कार्यक्रमपछि अफिस गएँ ।’ सचेतनामूलक कक्षा लिंदा आफूलाई ट्राफिक नियम र सडक दुर्घटनाबारे थाहा पाएको उनले बताए । चितवनका सुरेश लामालाई पनि नयाँ बानेश्वर चोकमा प्रहरीले रोक्यो ।

कलेज जाने हिंडेका उनलाई प्रहरीले कक्षा लिन भनेपछि आफूले केही गल्ती नगरेको भन्दै केहीबेर रनभुल्ल परे । जब प्रहरीले जेब्रा क्रसिङ बाटो नकाटेको भनेपछि उनले आफूले गल्ती गरेको थाहा पाए । सचेतनामूलक कक्षापछि उनी क्याम्पस गए । ‘म त हतारमा बाटो काटै थिएँ, तर पछि पो थाहा भयो, जथाभावी बाटो काटेछु भनेर,’ उनले भने, ‘सचेतनामूलक कक्षा राम्रो लाग्यो, यसले पैदलयात्रीलाई दुर्घटना हुनबाट बचाउँछ ।’

पैदलयात्रीले जथाभावी रूपमा बाटो काटा दुर्घटना र ट्राफिक जाम बढेपछि ट्राफिक प्रहरीले ‘सडक सभ्यता नामक’ अभियान अघि बढाएको छ । ‘सडकमै पढाउने गरेका छौं, पैदलयात्रीकै सुरक्षाका लागि कार्यक्रम सञ्चालन गरेका हौं,’ महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वसन्तकुमार पन्तले भने, ‘यसले दुर्घटना न्यूनीकरण गर्छ,, सडक अनुसाशन बढाउँछ, किनभने सडक दुर्घटना मृत्यु हुनेमध्ये एक तिहाइ पैदलयात्री छन् ।’ जथाभावी बाटो काटे अंगभंग हुने, मृतकको संख्यालगायत बाटो काट्नसमेत सिकाउने गरेको उनले बताए ।

विशेषगरी ‘पिक आवर’ मा उक्त अभियान सञ्चालन गरेको उनले बताए । ‘यो समयमा मान्छे हतारमा हुन्छ, हतारको बेला जथाभावी बाटो काट्छ दुर्घटना र ट्राफिक जाम हुन्छ,’ उनले भने ।

बिहान साढे ९ देखि साढे ११ बजे र दिउँसो ४ बजेदेखि साँझ साढे ६ बजेसम्म उक्त कार्यक्रम सञ्चालन गरिने उनले बताए । उक्त कार्यक्रम १ महिनासम्म लागू गरिनेछ । ट्राफिक र जनपद गरी करिब २ सयभन्दा बढी प्रहरी उक्त अभियानमा संलग्न गराएको उनले बताए । ‘अलि पर जेब्रा क्रसिङ अथवा ओभर ब्रिज छ तर त्यहाँ जान मान्दैनन्, जथाभावी बाटो काट्छन्,’ उनले भने, ‘तीव्र गतिमा आएको गाडीले ठक्कर दिन्छ, पाँच मिनेटको लापरबाहीले ज्यान गएको हुन्छ अथवा अंगभंग भएको हुन्छ ।’ आइतबार करिब २ हजार जनाले सचेनातमूलक कक्षा लिएको उनले बताए ।

उपत्यका ट्राफिक महाशाखाले आर्थिक वर्ष ०६८ र ६९ देखि २०७४/७५ जेठसम्मको सवारी दुर्घटनाको तथ्यांक केलाउँदा सडक दुर्घटनामा मृत्यु हुनेमध्ये ४३ प्रतिशत पैदलयात्रु रहेको देखिएको छ । यो अवधिमा ७ सय २० जनाको सवारी दुर्घटनामा मृत्यु भएको छ ।

तीमध्ये २ सय ९६ पैदलयात्री छन् । आव ०६९ र ७० मा १ सय ४८ मृतकमध्ये ६३ पैदल यात्रु छन् । ०७० र ७१ मा १ सय ४३ जनामध्ये ५३ जनालाई पैदल हिँडिराखेका बेला गाडीले ठक्कर दिएर मृत्यु भएको छ ।

यस्तै ०७१ र ७२ मा १ सय ३३ जनाको मृत्यु भएका मध्ये ५७ पैदलयात्रु छन् । ०७२ र ७३ मा १ सय ६६ जनाको मृत्यु भएको छ । त्यसमध्ये ५७ पैदलयात्री छन् । ०७३ र ७४ चैत मसान्तसम्म १ सय ३० जनाको सवारी दुर्घटनामा मृत्यु भएकामा ५८ पैदलयात्री छन् । २०७४/७५ मा जेठ मसान्तसम्म १ सय ६८ जनाको मृत्यु भएको छ त्यसमध्ये ५३ जना पैदलयात्रीको मृत्यु भएको छ ।

प्रकाशित : असार ३२, २०७५ ०८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?