कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

किन बढ्दैछ टिपर आतंक ?

काठमाडौँ — सोल्टीमोडमा गत शनिबार दिउँसो ना ७ ख ९४७५ नम्बरको टिपरले बा ९६ प ४९११ नम्बरको मोटरसाइकललाई ठक्कर दियो । मोटरसाइकलमा पछाडि बसेकी चितवनकी १८ वर्षीया अनुजा घिमिरे गम्भीर घाइते भइन् । उनको उपचारका क्रममा निधन भयो । ***

किन बढ्दैछ टिपर आतंक ?

असार ८ गते पेप्सीकोलाबाट सानोठिमीतर्फ जाँदै गरेको स्कुटर पनि टिपरको चपेटमा पर्‍यो । बिहानै साढे ५ बजे बा १ाक ३९३४ नम्बरको टिपरले बा ६६ प ८५५३ नम्बरको स्कुटरलाई पछाडिबाट ठक्कर दियो । स्कुटर चालक सिन्धुपाल्चोक घर भई मध्यपुर ठिमी बस्दै आएका ४८ वर्षीय चेतबहादुर थापाको उपचारका क्रममा ज्यान गयो ।
***

असार ३० गते जडिबुटीमा टिपरकै ठक्करबाट काभ्रेकी अस्मिता भण्डारीको मृत्यु भयो । उनी साथीसँगै बा ७० प ९३९९ नम्बरको स्कुटरमा कोटेश्वरतर्फ आइरहेकी थिइन् । सोही दिशातर्फ आइरहेको बा ४ ख ३५५८ नम्बरको टिपरले उनको स्कुटरलाई ठक्कर दियो । अस्पताल पुर्‍याउनेबित्तिकै चिकित्सकले मृत घोषणा गरे । स्थानीय युवा र सवारी चालकले टिपरमा आगजनी गरे । स्कुटर चालक उनका साथी अहिले पनि उक्त दुर्घटनाको मानसिक असरबाट गुजिरहेका छन् ।
***

यी मात्र होइन, पछिल्लो समय टिपर, ट्रकजस्ता ठूला सवारीका कारण ज्यान गएका थुप्रै उदाहरण छन् । असार ५ गते भक्तपुरतर्फ मनोहरा पुलमा कन्टेनरमा ठोक्किँदा बा ८८ प २८० नम्बरको मोटरसाइकल दुर्घटनाग्रस्त भग्यो । दिउँसो साढे ४ बजे ना ६ ख ५६४० नम्बरको ट्रक भक्तपुर आँखा अस्पतालतिर मोड्न खोज्दा सोही दिशातर्फ गइरहेको मोटरसाइकल ठोक्किएको थियो । उक्त दुर्घटनामा काभ्रे घर भई राधेराधे बस्ने ३४ वर्षीय गणेश दुलाल घाइते भए । उपचारका क्रममा उनको मृत्यु भयो ।

कलंकीमा यही असार २७ मा भाडाको ट्रकले थानकोटबाट आइरहेको स्कुटरलाई ठक्कर दियो । बिहान ११ बजेतिर बा ५२ प ३६८९ नम्बरको स्कुटरलाई सोही रुटबाट आइरहेको ना ७ ख २७०८ नम्बरको ट्रकले ठक्कर दिएकोमा चालक टंक गुरुङ र पछाडि सवार ३९ वर्षीया सरिता प्रधान घाइते भए । उपचारका क्रममा प्रधानको मृत्यु भयो । महानगरीय ट्राफिक महाशाखाको तथ्यांकले ०७४ साउनदेखि ०७५ जेठ महिनासम्ममा ट्रक तथा टिपरले ४ सय १५ वटा दुर्घटना गराएको देखाउँछ । उपत्यकामा असार ३० सम्म ठूला सवारीसाधनले मृत्यु हुनेको संख्या ५२ छ ।

टिपरको ठक्करबाट मात्र उपत्यकाका तीनै जिल्लामा २२ जनाको मृत्यु भइसकेको छ भने ट्रकले गर्दा २३ जनाको ज्यान गएको छ ।

ट्याक्टरले ५ र ग्रेडर, जेसीबीले दुई जनाको मृत्यु भएको तथ्यांक छ । गिट्टी, बालुवा निकासी करबापत जिल्ला समन्वय समितिले कर काट्ने गरेको तथ्यांकलाई हेर्दा दिनहुँ सरदर ४ हजार बिल काटिन्छन् । अर्थात् राजधानीको भौतिक निर्माणमा आवश्यक कच्चा पदार्थ आपूर्तिका लागि दैनिक ४ हजार वटा टिपर राजधानी आउजाउ गर्छन् । टिपर व्यवसायीको तथ्यांकअनुसार राजधानीलाई केन्द्र मानेर दुई हजार टिपर काम गर्छन् र दिनमा दुई ट्रिप भ्याउने गरेका छन् ।

धेरैजसो घटनामा दुई समानता देखिन्छन् । पहिलो, एउटै दिशातर्फ गइरहेको दुईपांग्रे सवारी ठूलाको चपेटमा परेका देखिन्छन् । अर्को, ठूला सडकमा मात्र ठूला सवारी दुर्घटना भएका छन् । ट्रक वा टिपर बालुवा, माटो लगायतका सामग्री लामो दूरीमा, बढी परिमाणमा ओसार्न बनेका हुन् । यसको मुख्य बेफाइदा वा खराब पक्ष भनेकै ‘ग्राउन्ड लेभल’ देख्न नसक्नु हो । एउटै दिशामा जाँदा ठूला सवारी चालकले आफू अगाडिको सवारी साधन देखे पनि आफ्नै मुनिको सानो सवारी देख्दैनन् । बनावट नै त्यस किसिमको भएका कारण चाहेर पनि टिपर चालकले देब्रेतर्फको आफ्नो एकदमै नजिक र मुनिको सवारी देख्न भ्याउँदैन । देब्रेतिरको चक्कासमेत ‘लुकिङ ग्लास’ मा देखिन्न ।

‘ड्राइभर बस्ने सिट निकै माथि हुन्छ । टिपर रोकेका बेला दुईपांग्रे कतैबाट छिरेर नजिक आए ऐनामा देखिन्न,’ वाग्मती टिपर व्यवसायी संघका अध्यक्ष शेरबहादुर कुँवरले भने । केहीबेर ढिला हुन नचाहने, बिस्तारै हिँड्न नरुचाउने, जाम हुनेबित्तिकै लेनको परवाह नगरी जथाभावी छिराउने दुईपांग्रे सवारी चालकको पनि उत्तिकै दोष देख्छन् कुँवर ।

ठूला सडकमा बेतोडले सवारी कुदाउने भएकाले ठूला सडकमै बढी दुर्घटना हुन्छ । यसमा टिपर चालक र दुईपांग्रे दुवैको प्रवृत्ति उस्तै उस्तै देखिन्छ । दुर्घटना गराउने ट्रक तथा टिपरका चालकको उमेर कम हुन्छ, उमेर विश्लेषण गर्दा औसतमा साढे ३५ वर्ष देखिन्छ । ट्राफिक महाशाखा, रामशाहपथका प्रवक्ता सुरेन्द्रप्रसाद मैनाली भन्छन्, ‘चालकले तीव्र गतिमा कुदाउनु दुर्घटनाको मुख्य कारण देखिएको छ । दुर्घटना गराउने ठूला गाडी र दुर्घटनामा पर्ने दुई पांग्रे चालक दुवै कम उमेरकै छन् ।’

महाशाखाको तथ्यांक अनुसार दुर्घटनामा मृत्यु हुनेमा १७ देखि ३५ वर्षका बढी हुन्छन् । २०७२/७३ मा भएका १ सय ६६ मृत्युमा ९२ जना र २०७३/७४ मा १ सय ८२ मा ८६ जना सोही उमेर समूहका छन् । त्यसैगरी २०७४/७५ मा उपत्यकामा १ सय ४९ जनाको सवारी दुर्घटनामा मृत्यु भएकोमा ८० जना ३५ वर्षसम्मका छन् ।

यातायात विज्ञ कमल पाण्डेका अनुसार चलाउन खासै कठिनाइ नहुने टिपर चलाउन नयाँ लाइसेन्स लिनेहरू आकर्षित भइरहेका छन् । बढ्दो भौतिक निर्माणका क्रियाकलापले गर्दा उनीहरूलाई जागिर पाउन समस्या छैन, पुराना चालक बाहिर गएकाले झन् सहज छ । टिपरको प्रयोग मिनिट्रकभन्दा बढेकाले दुर्घटना बढी देखिएको हो । बढी बोक्न सक्ने, छिटो गन्तव्यमा पुग्न सक्ने, सामग्री ओसार्न जनशक्ति नचाहिने जस्ता फाइदाले यसको प्रयोग बढेको हो ।

ठाउँमा ब्रेक नलाग्ने, सामग्री बोक्दा र नबोक्दाको स्थितिमा फरक जस्ता ‘प्राविधिक समस्या’ लाई सडकका अन्य सवारी साधनले पनि बुझिदिनुपर्छ । यसले आफूलाई नै दुर्घटनाबाट बचाउँछ ।

‘अहिले पावर स्टेयरिङ भएको, बढी गतिमा चल्ने टिपर सडकमा कुद्ने गरेका छन् । सडक सबैको हो भन्ने भावना सबै सवारी चालकमा हुनुपर्छ,’ पान्डेले भने, ‘सवारी अनुसारको सवारी चालकको मानसिकता पनि हुन्छ । त्यसैले बढ्दो दुर्घटनामा यो पनि एक प्रमुख कारण हो ।’ ठूला सवारीले सानालाई सडकमा हेप्ने र पेल्न खोज्ने प्रवृत्तिले टिपर दुर्घटना बढेको उनको बुझाइ छ । चालकको मानसिक स्थिति र सानो सवारी चालकको रूपमा उसको अनुभवले पनि ठूलो सवारी चलाउँदा अरूप्रतिको मनोस्थितिलाई प्रभाव पार्छ ।

अनुमतिपत्र दिने प्रावधानमा कमजोरी
चालक निकै कम उमेरका भएकाले जिम्मेवारीपूर्वक गाडी नचलाउने र अनुभव कम हुने गरेको ट्राफिक प्रहरीको भनाइ छ । धेरैजसो युवा र कम उमेरका चालकले टिपर चलाइरहेका छन् । ‘आलाकाँचा र भर्खरका’ चालकले दुर्घटना गराउने आरोपमाझ टिपर व्यवसायी यो गलत रहेको बताउँछन् । निर्माण कार्यका हिसाबले चालक अभाव रहेको र नेपालको कानुनले नै २१ वर्ष पुगेपछि ठूला सवारीको चालक अनुमतिपत्र पाउने प्रावधान राखेकाले चालकलाई ‘कम उमेर’ भन्न नमिल्ने टिपर व्यवसायीको तर्क छ ।

धेरैजसो ठूला सवारी चालक बिदेसिनु पनि यसको एक कारण हो । ‘हामीलाई चालक चाहिएको हुन्छ । लाइसेन्स लिएर जो आए उसलाई हामीले जागिर दिनैपर्छ,’ वाग्मती टिपर व्यवसायी संघका अध्यक्ष कुँवर भन्छन्, ‘हामीले पनि छानेर लिन पाइरहेका छैनौं । निर्माण कार्य र टिपरका हिसाबले चालक कम छन् ।’

ठूला सवारीको चालक अनुमतिपत्र लिन २१ वर्ष उमेर पूरा गरेको र दुई वर्ष साना सवारी चलाएको अनुभव हुनुपर्छ । तर यहाँ डोजर, एक्साभेटरमा ‘हेल्पर’ को काम गरेर चलाउन सिकेकाहरू लाइसेन्स लिन जाँदा दुई वर्ष साना सवारी चलाएको अनुभव आवश्यक पर्छ, जुन उनीहरूसँग हुँदैन । यस्तोमा नयाँ चालक उत्पादन घटेको र पुराना बिदेसिएकाले भर्खरै लाइसेन्स प्राप्त गरेकालाई गाडी चलाउन दिनैपर्ने टिपर मालिकको बाध्यता छ ।

यसैगरी मोटरसाइकलको लाइसेन्स लिन केही लिखित प्रश्नको जवाफ र अंग्रेजीको ८ आकार पार गरेर लिन सकिन्छ । तर त्यसले व्यावहारिक ‘ड्राइभिङ’ नसिकाउने प्रहरीहरूको भनाइ छ । ‘काठमाडौंको जस्तो ट्राफिक बढी भएको स्थानमा सेफ मात्र होइन, डिफेन्सिभ तरिकाले सवारी चलाउन जान्नुपर्छ,’ एक प्रहरी अधिकृतले भने, ‘कति दूरी राख्ने भनेर जवाफ लेख्दैमा हुन्न । त्यो व्यवहारमा पनि लागू गर्नुपर्छ ।’

अनुपयुक्त सवारी
घना बस्ती, सवारी साधनको पनि उत्तिकै चाप र देशकै जनघनत्व बढी भएको सहर हो काठमाडौं । देशकै सबैभन्दा ठूला र राम्रा मानिएका स्वास्थ्य संस्था, शैक्षिक संस्था, बैंक आदिका मुख्य कार्यालय सबै यहिँ छन् । जसको सांस्कृतिक र पौराणिक महत्त्व त छँदै छ, देशकै राजधानी भएकाले यहाँ आर्थिक कारोबारदेखि भौतिक निर्माणका कार्य पनि सधैं भइरहेका हुन्छन् ।

भौतिक निर्माणका कार्यबीच ठूला सवारीसाधनको प्रयोग र सञ्चालन उत्तिकै बढिरहेको छ । यसले गर्दा दुर्घटना पनि बढ्दो छ । दुर्घटनाको मुख्य कारण नै अव्यवस्थित बस्ती विकास, जथाभावी सडक निर्माण रहेकोमा पूर्वाधार विज्ञ, ट्राफिक प्रहरी र यातायात व्यवसायी तथा विज्ञ एकमत देखिन्छन् ।

सहरी पूर्वाधार विज्ञ पद्मसुन्दर जोशी मुख्य सडकबाहेकका क्षेत्र ठूला सवारी चलाउनका लागि नभएको धारणा राख्छन् । तर मुख्य सडकमा जोडिन पुगेका साना सडकबाट अचानक निस्किने गाडी, पार्किङ गरी राखिएका सवारीसाधन आदिले सडकमा जोखिम बढाउँछन् । सडक ठूलो भएर मात्र नहुने र त्यसको प्रयोगकर्ता सबैले ट्राफिक नियम पालना गरे दुर्घटना न्यूनीकरण हुने उनले बताए । उनले भने, ‘ठूला सवारी साधन ठूलै सडकमा, छुट्टै लेनमा गुड्नुपर्छ । टिपर चालक मात्र होइन, दुईपांग्रे चालकमा पनि दुर्घटनाबाट जोगिने गरी हिँड्न सिकाउनुपर्छ ।’

निर्देशन लत्याउँदै अनुमति
जिल्ला सुरक्षा समिति ललितपुरले व्यवसायी हितको पक्षमा टिपर सञ्चालन गर्न दिन निर्णय गरेको छ । समितिको सोमबार बसेको बैठकले राती ८ बजेदेखि बिहान ८ बजेसम्म सञ्चालन गर्न निर्णय गरेको हो । गृह मन्त्रालयले साताअघि शृंखलाबद्ध टिपरको ठक्करबाट मृत्युका घटना बढ्न थालेपछि उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी र महानगरीय प्रहरी ट्राफिक महाशाखालाई राति ८ बजेदेखि बिहान ५ बजेसम्म मात्रै टिपर चलाउने व्यवस्था मिलाउन निर्देशन दिएको थियो ।

निर्देशनलाई लत्याएर बिहानको समयमा तीन घण्टा थप गरेर चलाउन दिने निर्णय गरेको हो । ललितपुरका प्रमुख अधिकारी महादेव पन्थले मन्त्रालयले समय तोकेर जारी गरेको निर्देशन बारेमा जानकारी नभएको दाबी गरे । ‘जिल्लाको अनुकूल समय हेरेर टिपर चलाउने समयसीमा तोकेका छौं,’ उनले भने, ‘यो नियम रिङरोडभित्र लागू हुनेछ ।’

प्रकाशित : श्रावण १, २०७५ ०८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?