फोहोर व्यवस्थापन स्थलबारे महानगर: ‘जिम्मेवारी हाम्रो होइन’ (भिडियो सहित)

बन्चरेडाँडामा १० वर्षमा १० प्रतिशत मात्रै पूर्वाधार
सुदीप कैनी

काठमाडौँ — काठमाडौं महानगरपालिकाले फोहोर फाल्ने स्थान व्यवस्थापन गर्ने जिम्मेवारी आफ्नो नभएको बताएको छ । प्राविधिक र आर्थिक रूपमा फोहोर व्यवस्थापन गर्न आफू सक्षम नभएको महानगरको भनाइ छ ।

फोहोर व्यवस्थापन स्थलबारे महानगर: ‘जिम्मेवारी हाम्रो होइन’ (भिडियो सहित)

नुवाकोटको सिसडोलस्थित ल्यान्डफिल साइट चुलिएर जोखिमपूर्ण बनेपछि फोहोर नउठ्दा राजधानी दुर्गन्धित बनिरहेकै बेला महानगरपालिकाले स्थान व्यवस्थापन गर्ने जिम्मेवारी आफ्नो नभएको बताएको हो । १० वर्षअघि निर्माण थालिएको आधुनिक फोहोर व्यवस्थापनस्थल बन्चरेडाँडामा १० प्रतिशत मात्रै पूर्वाधार बनेको छ । बन्चरेडाँडा नुवाकोटस्थित ककनी गाउँपालिका २ ओखरपौवा क्षेत्रमा पर्छ । महानगरपालिकाका फोहोर व्यवस्था इन्चार्ज सरकारदीप श्रेष्ठ फोहोर व्यवस्थापन गर्ने ठाउँ अन्य जिल्ला (नुवाकोट) मा भएकाले यसको जिम्मेवारी महानगरको नभई संघीय सरकारको भएको बताउँछन् । ‘फोहोर संकलन र ढुवानी मात्रै महानगरको जिम्मेवारी हो, स्थानको व्यवस्थापन हाम्रो होइन,’ श्रेष्ठले भने ।

संघीय मामिला तथा सामान्य प्रशासन सचिव दिनेशकुमार थपलिया भने फोहोर व्यवस्थापनको जिम्मेवारी स्थानीय तहकै भएको जिकिर गर्छन् । ‘मन्त्रालयले आवश्यक परे सहयोग गर्न सक्छ, जिम्मेवारी स्थानीय तहकै हो,’ उनले भने ।

संघीय मन्त्रालय, लगानी बोर्ड र काठमाडौं महानगरपालिका तीनै निकायले बन्चरेडाँडाको विकल्प नभएको बताएका छन् । तर यहाँको व्यवस्थापन जिम्मेवारी भने आफ्नो नभएको भन्दै पन्छिन् । पछिल्लोपटक उपत्यकाको फोहोर व्यवस्थापन गर्न लगानी बोर्डको अध्यक्षतामा निजी क्षेत्रलाई दिने योजना अघि सारिएको छ । फोहोरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रले एकीकृत फोहोरमैला प्रशोधन केन्द्र सञ्चालन गरे पनि फोहोर संकलन/व्यवस्थापन स्थल बन्चरेडाँडा बनाउनुको विकल्प नभएको बताएको छ । तर, व्यवस्थापन स्थलको जिम्मेवारी भने आफ्नो नभएको केन्द्रका कार्यकारी निर्देशक विश्वमणि ज्ञवाली बताउँछन् । ‘यो काम महानगरपालिकाको हो,’ उनले भने ।

कार्यकारी निर्देशक ज्ञवालीका अनुसार बन्चरेडाँडालाई फोहोर व्यवस्थापन स्थल बनाउन नजिकैको सिसडोलमा परीक्षणका रूपमा मात्रै ल्यान्डफिल साइट छनोट गरिएको थियो । बढीमा ३ वर्षका लागि छानिएको ठाउँमा १३ वर्षसम्म फोहोर फालियो, जुन अहिले भरिएर फोहोरको पहाड बन्न पुग्यो । पानी परेपछि टिपर त्यहाँ जान नसकेकाले काठमाडौंमा फोहोर उठ्न रोकियो ।

‘अझै त्यहीं फोहोर थपिराखे दुर्घटना हुने खतरा छ,’ ज्ञवालीले भने, ‘भासिएको पहाडमा पहिरो गएर भयावह स्थिति आउन सक्छ ।’ यतिखेर उपत्यकाबाट दैनिक निस्कने १ हजार टन फोहोर व्यवस्थापन जटिल बनेको छ । दीर्घकालीन रूपमा व्यवस्थापन स्थलका रूपमा बन्चरेडाँडा छनोट गरिएको थियो । सरकार र काठमाडौं महानगरपालिकाको ढिलासुस्तीले १० वर्षसम्म त्यहाँ पूर्वाधार नै बन्न सकेको छैन ।

सिसडोलमा सन् २०१७ पछि फोहोर फाल्न नसकिने सुझाव महानगरका प्राविधिकहरूले दिएका थिए । फोहोर व्यवस्थापन केन्द्रका अनुसार बन्चरेडाँडामा पुग्न कच्ची सडक विस्तार भएको छ भने कोल्पुखोलामा पुल निर्माण गरिएको छ । ज्ञवालीले खोलाको बहाव परिवर्तन गरेर फोहोर फाल्ने ठाउँ बनाइरहेको बताए । २ अर्ब ४५ करोड लागत अनुमान गरिएको उक्त योजना सक्न कम्तीमा ३ वर्ष लाग्ने उनले जनाए । फोहोर जम्मा पार्नका लागि बनाउनुपर्ने ३५ मिटर अग्लो बाँध निर्माणको मुख्य काम नै बाँकी छ । फोहोरको रस संकलन, उपचार विधि र प्रशोधन केन्द्रको पूर्वाधार बनाउन समय लाग्ने उनले बताए । जापानी सहयोग नियोग जाइकाको सहयोगमा काठमाडौं उपत्यकाको फोहोर ओखरपौवा क्षेत्रमा व्यवस्थापन गर्ने कार्य २०६२ बाट सुरु भएको थियो ।

स्थानीयवासीको विरोधपछि बन्चरेडाँडामा वातावरणीय प्रभाव मूल्यांकनको काम रोकिएको थियो । ढिलाइका कारण जाइका आयोजनाबाट पछि हट्यो ।

यसले पूर्वाधार निर्माणलाई झन् सुस्त बनायो । सरकारले पूर्वाधार निर्माणलाई प्राथमिकता दिएर बजेट नछुट्याएका कारण ढिलाइ भएको सरकारी अधिकारीहरूले नै बताउने गरेका छन् । सिसडोलमा यसअघि पनि क्षमताभन्दा बढी फोहोर थुप्रिएपछि आसपासकै अन्य ठाउँमा फोहोर व्यवस्थापन गरिएको थियो । प्राविधिकहरूको सुझावपछि काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पनि स्थलगत निरीक्षण गरेका थिए । तैपनि महानगरले फोहोर व्यवस्थापनको अन्य विकल्प अघि बढाएको छैन । हाल उपत्यकाका १८ वटै नगर र बनेपाको समेत फोहोर सिसडोलमै फालिँदै आएको छ ।

२०७३/०७४ को नीति तथा कार्यक्रममा समेत बन्चरेडाँडाको १ हजार ७ सय ९२ रोपनी क्षेत्रफलमा फोहोर व्यवस्थापन गर्न ३ वर्षभित्र पूर्वाधार निर्माण गरिसक्ने भनिएको छ । ‘मुलुक संघीय प्रणालीमा गएपछि बजेट काटियो, केन्द्र अधिकारविहीन भयो,’ कार्यकारी निर्देशक ज्ञवालीले भने । स्थानीय तहलाई जिम्मेवारी दिएपछि पूर्वाधार निर्माणका लागि ०७४/०७५ बाट बजेट छुट्याउन छाडिएको पनि उनले बताए । दैनिक ५ सय मेट्रिक टन फोहोर उत्पादन हुने काठमाडौं महानगरले पनि पूर्वाधार बनाउन बजेट विनियोजन गरेन । महानगरले सार्वजनिक स्थल, चोक, मुख्य सडकको फोहोर मात्रै उठाउँछ । भित्री सहर र निजी घरका फोहोर संघसंस्था र निजी संस्थाले शुल्क लिएर उठाउँछन् ।

सिसडोलमा फोहोर फालेबापत ६ टनभन्दा बढी बोक्ने प्रतिगाडी २ सय ५० र सोभन्दा साना थोरै बोक्ने गाडीले १ सय ५० का दरले महानगरलाई शुल्क तिर्छन् । अन्य नगरपालिकाका र सरकारी गाडीले लगेको फोहोरको शुल्क लाग्दैन । फोहोर व्यवस्थापनलाई स्थानीय रूपमा सहज बनाउन सिसडोलमा सशस्त्र प्रहरीको क्याम्प नै खडा गरिएको छ ।

प्रकाशित : श्रावण २, २०७५ ११:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?