कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

भाइरस ‘फेरिँदा’ इन्फ्लुएन्जाको जोखिम

अघिल्लो वर्ष नेपालमा १३ सय व्यक्तिमा इन्फ्लुएन्जा देखापरेको थियो, तीमध्ये १८ ले ज्यान गुमाए
फातिमा बानु

काठमाडौँ — जलवायु परिवर्तनका कारण इन्फ्लुएन्जा भाइरसले छिटो स्वरूप परिवर्तन गर्न थालेका छन् । ‘यस्ता भाइरस सधैं एकनासका हुँदैनन् । भाइरसले बनोट परिवर्तन गरेपछि पहिले बनाएको औषधिले काम गर्दैन,’ विशेषज्ञ डा. समीरकुमार अधिकारी भन्छन् ।

भाइरस ‘फेरिँदा’ इन्फ्लुएन्जाको जोखिम

भाइरसको परिवर्तन अवधि अनुसार अनुसन्धान र औषधि नहुँदा रोग नियन्त्रणमा चुनौती थपिएको उनले बताए । भाइरल इन्फ्लुएन्जा ठीक नभए निमोनियाँलगायत जटिलता भएर बिरामीको ज्यान जोखिममा पर्ने उनले बताए ।

इन्फ्लुएन्जा भाइरसले परिवर्तित रुप फेर्दा औषधिले समेत प्रभावकारी काम गर्न छोडेको छ । नेपालमा इन्फ्लुएन्जा संक्रमण गराउने भाइरसको प्रजाति इन्फ्लुएन्जा एएच–थ्री र बी प्रजाति भाइरस सबैभन्दा बढी देखिएका छन् । यी हङकङफ्लु, स्वाइनफ्लु र बर्डफ्लुका नामले चिनिन्छन् ।

यस्ता भाइरस वर्षायाम र चिसो मौसम सुरु हुने समय बढी सक्रिय हुन्छन् । यस्तो मौसममा कम घाम लाग्ने हुन्छ र मानिस घामको सम्पर्कमा कम आउँछन् । यसले गर्दा शरीरमा भिटामिन ‘डी’ को मात्रा न्यून भएर भाइरसले छिटै शरीरमा आक्रमण गर्छन् । यसको संक्रमण मानव र जनावर दुवैमा देखिने गरेको छ । यी भाइरसको संक्रमण हुँदा बिरामीमा मृत्युदर उच्च हुने सरुवारोग विशेषज्ञ डा.शेरबहादुर पुनले बताए ।

उनले भने, ‘बालबालिका, वृद्ध र दीर्घरोगी संक्रमणको उच्च जोखिममा छन् ।’ अंग प्रत्यारोपण गरेका व्यक्ति र दमका बिरामी पनि उत्तिकै जोखिमा भएकाले उनीहरू मौसमी फ्लुबाट सक्दो बच्नुपर्ने उनले बताए । अस्पतालमा भर्ना भएका बिरामीमध्ये भाइरस संक्रमित हुनेमा युवा समूह बढी छन् । आईसीयूमा भर्ना हुनेर अवस्था जटिल भई मृत्यु हुनेमा बालबालिका र वृद्ध बढी छन् । डा. पुन भन्छन्, ‘युवावर्ग बढी बाहिरी रूपमा देखापर्ने हुँदा उनीहरूमा संक्रमण बढी देखिएको हो, उनीहरूले नै घरमा संक्रमण सार्छन् र कमजोर व्यक्ति जटिल अवस्थामा पुग्छन् ।’

अमेरिकाको ब्यालोर कलेज अफ मेडिसिनले गरेको अध्ययन अनुसार पाँचदेखि १० वर्षको अवधिमा इन्फ्लुएन्जा भाइरसले ‘जिन’ परिवर्तन गर्छ । परिवर्तित भाइरसबाट संक्रमित व्यक्तिको समयमै उपचार नभए ज्यान जाने खतरा हुन्छ । अमेरिकामा इन्फ्लुएन्जा भाइरसकै कारण वार्षिक ३६ हजारले ज्यान गुमाउने गरेको तथ्यांक छ । सन् २००९ देखि १० सम्म इन्फ्लुएन्जाले नेपालमा चारसहित विश्वभर करीब १९ हजारको ज्यान लिइसकेको छ ।

नेपालमा भने यसको यकिन तथ्यांक छैन । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक अनुसार अघिल्लो वर्ष नेपालमा १ हजार ३ सय व्यक्तिमा इन्फ्लुएन्जाका भाइरस देखा परेको थियो । भाइरस आक्रमणकै कारण देशभर १८ बिरामीले ज्यान गुमाएका थिए । विश्व स्वास्थ्य संगठनका अनुसार मौसमी भाइरसविरुद्धको खोप अनिवार्य रूपमा सबैले लगाउनुपर्छ । नेपालमा रुघाखोकी र ज्वरोलाई सामान्य मान्ने प्रवृत्तिका कारण खोप कार्यक्रम प्रभावकारी नभएको पुन बताउँछन् ।

विशेषज्ञका अनुसार यस्ता मौसमी भाइरस आफंैमा खतरनाक र ज्यान लिने खालका हुँदैनन् । यसले स्वास्थ्य सन्तुलन गडबड गरिदिने मात्रै हो । स्वस्थ व्यक्तिलाई यो भाइरसले आक्रमण गर्दा पाँचदेखि सात दिनमा असर आफैं हराएर जान्छ । महाशाखाका विशेषज्ञ डा. समीरकुमार अधिकारी भन्छन्, ‘रोगप्रतिरोध क्षमता कम भएका व्यक्तिलाई भाइरसले कमजोर बनाइदिन्छ । शरीर कमजोर हुँदा निमोनियाँ जस्तो जटिल रोगले समात्छ र बिरामी मृत्युको मुखसम्म पुग्छ ।’

संक्रमित व्यक्ति जोखिम समूहको भए सक्दो चाँडो अस्पताल पुग्नुपर्छ । युवालगायत कम जोखिम हुने व्यक्तिले भने घरमै बसेर आराम गरेर झोलिलो खानेकुराको सेवन गर्नुपर्ने चिकित्सकको सुझाव छ । इन्फ्लुएन्जा भाइरस छिटो एक व्यक्तिबाट अर्कोमा सर्ने हुँदा आफू घरमै बसेर अरूमा सर्नबाट बचाउनुपर्ने डा.अधिकारी बताउँछन् । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दैनिक कडाखाले ज्वरोका साथै रुघाखोकी, भाइरल र टाइफाइडका बिरामी बढिरहेका छन् ।

यो मौसममा बिरामीको चाप अझै बढ्ने चिकित्सक बताउँछन् । अघिल्लो इन्फ्लुएन्जाका वर्ष समान्य लक्षण लिएर अस्पताल आएका ८० प्रतिशतमा विभिन्नखाले फ्लु देखिएको थियो । रुघा लाग्ने, ज्वरो आउने, जाडो हुने, काम्ने, खोकी लाग्ने, घाँटी दुख्ने, सास फेर्न गाह्रो हुने, स्वर बस्ने, सिंगान आइरहने, छाती दुख्ने, शरीरमा घमौरा आउने, बान्ता हुने, रिंगटा लाग्ने, घेरै थकान हुने, पूरै शरीर दुख्ने र ज्वरोको औषधि खाए पनि निको नहुने इन्फ्लुन्जा संक्रमणका लक्षण हुन् ।

पाँच वर्षमुनिका बालबालिका, वृद्धवृद्धा, गर्भवती महिला र क्षयरोगका बिरामी यसको उच्च जोखिममा छन् । साबुनपानीले हात सफा गरेर खाना खाने, रुघाखोकी लागेको व्यक्तिलाई घरमा छुट्टै कोठामा राख्ने, संक्रमितले प्रयोग गरेका सामान प्रयोग नगर्ने, मास्क लगाएर सार्वजनिक स्थलमा जाने, बिरामी हुँदा घरमा आराम गर्ने, प्रशस्त झोलिलो तथा पोसिलो खानेकुरा खाने र रुघाखोकी र ज्वरो आउनेबित्तिकै चिकित्सकसँग परामर्श लिने वा अस्पताल जाने गर्दा जटिल अवस्था नआउने चिकित्सक बताउँछन् । यस्तै ६ महिनाभन्दा बढी उमेरका सबैले इन्फ्लुएन्जाविरुद्धको खोप लगाए धेरै हदसम्म जोगिन सकिन्छ ।

प्रकाशित : श्रावण ३, २०७५ ०९:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?