कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

छिनछिनमा रोकिन्छ सिसडोल सडक

तत्काल सडक सुधार गर्छौं : महानगर
सुदीप कैनी

काठमाडौँ — नुवाकोटस्थित सिसडोल ल्यान्डफिल साइट पुग्ने सडक छिनछिनमा अवरुद्ध हुँदा राजधानीको फोहोर उठ्न सकेको छैन । असार १५ गतेबाट बिग्रिएको सडक बुधबार दिनभर नै अवरुद्ध बन्यो । सडक मर्मतपछि साँझपख केही टिपर फोहोर खसालेर काठमाडौं फर्केको औखरपौवा प्रहरी चौकीले जनाएको छ ।

छिनछिनमा रोकिन्छ सिसडोल सडक

फोहोरको पहाडमाथि बनाइएको सडक छिनछिनमा अवरुद्ध भएको हो । ‘फोहोरको पानीले उकालो सडकमा टिपर चढ्न सक्दैन,’ ओखरपौवा चौकीका असई पशुपति पाठकले भने, ‘पानी परेपछि झनै चिप्लो हुन्छ, सडक भासिने र भ्वाङ पर्ने भइरहेको छ ।’ फोहोर बोकेर बिहानै सिसडोल पुगेका टिपरहरू साँझ मात्रै फर्किए ।

समयमा ‘अनलोड’ गर्न नसक्दा विभिन्न संघसंस्थाले राजधानीको फोहोर उठाउन छाडेका छन् । फोहोर बोकेर गएका गाडी ओखरपौवास्थित बस्ती क्षेत्रको सडकमा पार्किङ गरेर राख्ने गरिएको छ । यसले स्थानीयवासी मर्कामा परेका छन् । घरअगाडिको सडकमा लिचड (फोहोरको पानी) चुहिएको र दुर्गन्ध बढेको भन्दै स्थानीयले विरोध गर्न थालेका छन् ।

उपत्यकाको फोहोर उठ्न छाडेपछि बुधबार काठमाडौं र ललितपुर महानगरका प्राविधिकले सिसडोलको स्थलगत निरीक्षण गरे । काठमाडौं महानगरका सहसचिव ईश्वर मरहठ्ठाले तत्कालका लागि फोहोरमाथिको सडक मर्मत र सुधार गरिने बताए । भासिएको सडकमा तारजाली, टेवापर्खाल लगाउने र चिप्लोमा ग्राभेल गर्ने महानगरको योजना छ ।

‘साइटमा प्राविधिक खटाएका छौं, १/२ दिनैमा सुधारको काम सक्छौं,’ उनले भने । दीर्घकालीन रूपमा उपत्यकाको फोहोर व्यवस्थापन गर्न केन्द्रीय सरकार र अन्य स्थानीय तहसँग समन्वय र परामर्श गर्नुपर्ने मरहठ्ठाले जनाए । ‘सिसडोलमा फोहोर काठमाडौं महानगरले मात्रै फाल्ने हैन, उपत्यकाका धेरै स्थानीय तहले फाल्छन्, केन्द्रीय सरकारको पनि मद्दत लिएर वैकल्पिक उपाय खोज्नुपर्छ’, उनले भने ।

१० वर्षअघि निर्माण थालिएको सिसडोलभन्दा दुई किलोमिटर परको बञ्चरेडाँडामा आधुनिक फोहोर व्यवस्थापन स्थलको पूर्वाधार बनिनसक्दा दैनिक निस्कने एक हजार टन फोहोर व्यवस्थापनमा समस्या परेको हो । ककनी गाउँपालिका–२, ओखरपौवा क्षेत्रको बञ्चरेडाडाँलाई दीर्घकालीन रूपमा आधुनिक फोहोर व्यवस्थापन स्थलका रूपमा छनोट गरिएको थियो । सरकार र काठमाडौं महानगरको ढिलासुस्तीले १० वर्षसम्म त्यहाँ १० प्रतिशत मात्रै पूर्वाधार बनेको छ ।

सिसडोलमा सन् २०१७ पछि फोहोर फाल्न सकिन्न भनेर महानगरका प्राविधिकले सुझाव दिएका थिए । अन्यत्र फोहोर व्यवस्थापन गर्ने ठाउँको विकल्प नहुँदा जोखिमपूर्ण रूपमा त्यहीं थुप्रो लगाइएको हो । बञ्चरेडाँडामा पूर्वाधार बनाउन २ अर्ब ४५ करोड खर्च लाग्ने अनुमान गरिएको छ । ३ वर्षका लागि परीक्षणका रूपमा फोहोर फाल्न छनोट भएको सिसडोलमा १३ वर्षसम्म फोहोर थुपार्दा अहिलेको अवस्था आएको हो ।

प्रकाशित : श्रावण ३, २०७५ ०९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?