१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

सफाइ कर्मचारी आफैं अस्वस्थ

‘फोहोर छुन घिन लाग्दैन, हामीलाई दुव्र्यवहार गर्ने मान्छेदेखि घिन लाग्छ’
फातिमा बानु

काठमाडौँ — एक किलोमिटर टाढैसम्म दुर्गन्ध फैलिने फोहोरको डगुंरमाथि घोप्टो परेकी भेटिइन् उनी । न उनको मुखमा मास्क थियो न हातमा पन्जा वा खुट्टामा सुरक्षित जुत्ता नै । ४० वर्षीया उनी एक दशकदेखि फोहोर व्यवस्थापनको काम गरिरहेकी छन् । उनी दैनिक ८ देखि १२ घण्टा फोहोरमै व्यस्त रहन्छिन् ।

सफाइ कर्मचारी आफैं अस्वस्थ

बस्तीबाट उठाएर ल्याइएको फोहोरका पोका खोल्ने, कुहिने/नकुहिने छुट्याउने उनको काम हो । यस्तो फोहोरमा किन माक्स नलगाई काम गरेको भनी सोध्दा उनी भन्छिन्, ‘दमको रोग छ, माक्स लगाउँदा सास फेर्न गाह्रो हुन्छ ।’

केही वर्षअघि दुर्घटनामा परेर पतिको मृत्यु भएपछि उनी फोहोरको काममा लागेकी हुन् । यही कामबाट तीन बच्चाको लालनपालन गर्छिन् । भाडाको कोठामा बस्छिन् । ८ घण्टा फोहोरमा काम गरेबापत मासिक ७ हजार रुपैयाँ तलब थाप्छिन् । भन्छिन्, ‘पाँच हजार त कोठाभाडा नै तिर्नुपर्छ, गुजारा गर्न धेरै गाह्रो छ ।’ फोहोरको काम गर्ने सुरुवाती दिनमा उनले खानासमेत खान सकिनन् । भन्छिन्, ‘बान्ता हुने र रुघा लाग्ने त सधैं भइरहन्छ, सिसा र फलामले हात पनि काट्छ ।’ काटेर गहिरो घाउ लाग्दा उनी सातासम्म काम गर्न सक्दिनन् । ज्वरो आउने, दम बढ्ने समस्याले पनि थला परिरहन्छिन् । फोहोरको कामले शरीर मैलिन्छ । दिनहुँ नुहाउनुपर्ने हुँदा जाडो मौसममा उनी बढी थला पर्छिन् ।

कामबारे घरमा छोराछोरीले सोधिरहन्छन्, उनी ढाँटिरहन्छिन् । ‘फोहोरको काम गर्ने भनेर कसैले इज्जत गर्दैन, आफ्नै बच्चाले पनि घिन मान्लान् भन्ने डर लाग्छ,’ उनी भन्छिन् । कुहिएको खाना तरकारी र हिलोदेखि उनलाई त्यति घिन लाग्दैन । तर, दिसापिसाबका पोका र रगतका प्याड छुनुपर्दा उनी घिनाउँछिन् । ‘फोहोर भन्दैमा जथाभावी गरेर नफालिदिए हुन्थ्यो, छुट्याएर फालिदिए हामीलाई सास्ती कम हुन्थ्यो,’ उनले भनिन् ।

उनीजस्तै फोहोरमै लामो समय बिताएका अर्का मजदुर छन् झापाका ५० वर्षीय एक पुरुष । उनी २० वर्षदेखि राजधानीमा फोहोरको काम गर्दै आइरहेका छन् । दैनिक बिहानै २ सय २५ घरको दैलोमा पुगेर फोहोर बोक्छन् । फोहोर छुँदा अपनाउनुपर्ने सुरक्षाबारे उनी जानकार छन् तर सुरक्षा कहिल्यै अपनाउँदैनन् । उनी भन्छन्, ‘पञ्जा लगाउँदा हातै टाठो हुँदैन, काम छिटो हुँदैन ।’ बर्खामा फोहोरको थुप्रोमा हिलो पनि मिसिन्छ, थुप्रो अझ बढी गन्हाउँछ । उनी सुरक्षित जुत्ता लगाउँदैनन् । उनी भन्छन्, ‘फोहोरमै घुँडासम्म आउने बुट भेटाएको छु, बुट लगाएर धेरै बेर काम गर्दा खुट्टामा औंला पाक्छ, गर्मी हुन्छ, त्यसैले लगाउँदिनँ ।’

काठमाडौंको लैनचौरमा फोहोर उठाइँदै ।

फोहोरको काम गरेर उनी मासिक मुस्किलले १० हजार रुपैयाँ कमाउँछन् । उनी भन्छन्, ‘फोहोर छुन घिन लाग्दैन, हामीलाई दुव्र्यवहार गर्ने मान्छेदेखि घिन लाग्छ ।’ फोहोर उठाउँन पुग्दा कसैले फोहोरको भाँडोसमेत छुन नदिँदा उनलाई धेरै दु:ख लाग्छ, यो कामै गर्न मन लाग्दैन । फोहोर उठाएको खर्चले मात्रै घर धान्न मुस्किल भएकाले उनी थुनिएको ढल खोल्ने, मरेको कुकुर गाड्ने काम पनि गर्दै आइरहेका छन् ।

काठमाडौं महानगरको वातावरण विभागका प्रमुख रविनमान शाक्यका अनुसार फोहोरजस्तो संवेदनशील ठाउँमा काम गर्नेले अनिवार्य रुपमा मास्क, पन्जा, सुरक्षित कपडा, हेल्मेट र छाल नदेखिने खालको जुत्ता लगाउनुपर्छ । तर, राजधानी वरपरको फोहार व्यवस्थनपनमा काम गर्ने मजदुरले यस्तो सुरक्षा अपनाएको विरलै देखिन्छ । फोहोरमा काम गर्ने मजदुर अरुभन्दा बढी स्वास्थ्य जोखिममा हुन्छन् ।

विशेषज्ञका अनुसार उनीहरू सरुवा रोग र संक्रमणको उच्च जोखिममा छन् । सुरक्षा नअपनाई काम गर्दा जोखिमको सम्भावना अझै बढी हुन्छ । सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुन भन्छन्, ‘सुरक्षा नपनाई काम गर्दा मौसमी भाइरसको संक्रमण, झाडापखाला, हैजा र महामारीले छिटो आक्रमण गर्छ । समुदायमा रोग सार्ने पहिलो संक्रमित स्रोत पनि यस्तै व्यक्ति हुन्छन् ।’

फोहोर समातेकै हातले आँखा, नाकमुखजस्ता अंग छुने हुँदा यस्ता मजदुर संक्रमणको सिकार भइरहन्छन् । विशेष गरी फलामका टुक्रा, चक्कु, बिजुलीका तार, चिम र सिसाका टुक्रा जस्ता हानिकारक धातुजन्य वस्तुले काट्दा धुनुष्टंकार र रगतको संक्रमण बढी भई अस्पताल भर्ना हुनुपरेको मजुदर सुनाउँछन् । फोहोरमा चिप्लेर लडी घाइते हुने, आँखा पाक्ने, छाला चिलाउने, काटेर रगताम्य हुने जस्ता घटना त दैनिक भोगिरहेका छन् ।

वान्ता हुने, टाउको दुख्ने समस्याले पनि उस्तै सताउँछ । काठमाडौं महानगरपालिकाको तथ्यांकअनुसार राजधानीमा मात्रै फोहोरमा काम गर्ने ७ सय ५० मजदुर छन् । फोहोर व्यवस्थापन सम्बन्धी काम गर्ने विभिन्न संस्थाले पनि यस्ता मजदुर खटाउने गरेका छन् । सहरले उत्पादन गर्ने फोहोर व्यवस्थापन गरेर सफा राख्न मद्दत गर्ने भए पनि उनीहरूको समाजले कदर भने गर्दैन । ‘हामीलाई एकदमै तल्लो स्तरको व्यवहार गर्छन् । म यस्तो काम गर्छु भनेर भन्न पनि सकिँदैन,’ एक सफाइ मजदुरले भने ।

फोहोरमा काम गर्ने कुनै पनि मजदुरले आफ्नो नाम उल्लेख गर्न रुचाएनन् । एक दुई दिन घरको फोहोर नउठ्दा मानिसहरूलाई उकुसमुकुस लाग्छ । तर, त्यो काम गरेर राहत दिने मानिसहरू चाहिँ नामै लिन नमिल्ने हुन् त ?

प्रकाशित : श्रावण ४, २०७५ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?