३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

पानीमा ‘नाकाबन्दी’

लीला श्रेष्ठ

भक्तपुर — भक्तपुरमा दैनिक ३ देखि ४ हजार जार पानी वितरण हुँदै आएको छ । चाँगुनारायण नगरपालिकाले खानेपानीका बोतल र जारमा लगाएको कर उठाउने जिम्मा निजी क्षेत्रलाई दिएको विरोधमा व्यवसायीहरू आन्दोलित छन् । व्यवसायीले साउन १ गतेदेखि बजारमा पानी पठाउन बन्द गरेका छन् ।

पानीमा ‘नाकाबन्दी’

आफूहरू कर तिर्न तयार भएको तर कर नगरपालिका स्वयंले उठाउनुपर्ने माग गर्दै बजारमा पानी पठाउन बन्द गरेको नेपाल बोतल वाटर उद्योग संघ भक्तपुरले जनाएको छ । करको विरोधमा व्यवसायीले बिहीबार दिनभर चाँगुनारायण नगरपालिकामा धर्ना दिए ।

नगरपालिकाले ८० लाख ११ हजारमा भगवती सप्लायर्सलाई गत असार २१ मा पानीको कर उठाउने ठेक्का दिएको छ । नगरप्रमुख सोमप्रसाद मिश्रका अनुसार प्रतिजार १ रुपैयाँ र प्रतिबोतल दस पैसा कर लगाएको छ । स्थानीय तहलाई सिधै आम्दानी हुने क्षेत्र ठेक्कामार्फत निजी कम्पनीलाई नदिन पटक/पटक नगरपालिकाको ध्यानाकर्षण गरे तापनि सुनुवाइ नभएकाले विरोधस्वरूप व्यवसाय ठप्प पारेको नेपाल बोतल वाटर उद्योग संघको भनाइ छ ।

‘गत असार २६ गते कर उठाउने जिम्मा निजी क्षेत्रलाई नदिन, ठेक्का प्रक्रिया खारेज गरी नगरपालिका स्वयंले एकमुष्ट कर उठाउन माग गर्दै प्रमुखलाई ज्ञापनपत्र बुझाएका थियौं,’ संघ भक्तपुरको संयोजक राम सुवालले भने, ‘तर, नगरप्रमुखले हाम्रो मागप्रति बेवास्ता गर्नुभयो, हामीले पहिले पनि कर तिरेका थियौं ।’ व्यवसायीले भने नगरपालिकाले पानीमा लगाएको ठेक्का रद्द नगरेसम्म बजारमा पानी वितरण नगर्ने बताएको छ  ।नगरपालिकालाई कर तिर्न तयार भएको तर ठेक्का प्रक्रिया खारेज गरी अमानतमै कर उठाउन माग गरेको संघले जनाएको छ । ‘हामीले तिरेको कर नगरपालिकाको कोषमै जम्मा होस्, त्यो रकम विकास निर्माणमा खर्च होस्, कोही ठेकेदारको पेवा नबनोस् भन्ने हाम्रो माग हो,’ उनले भने ।

प्रक्रियाअनुसार विभिन्न निकायका प्रतिनिधिहरू राखेर छलफल गरी उपप्रमुखको संयोजकत्वमा गठन गरिएको परामर्शका आधारमा नगरसभाबाट पास गरी प्रक्रियागत ढंगबाट टेन्डर आह्वान गरेको नगरप्रमुख मिश्रले बताए । ठेक्का नपरेको झोकमा व्यवसायी विरोधमा उत्रिएर बजारमा पानी पठाउन बन्द गरेकोसमेत उनी बताउँछन् । ठेक्का प्रक्रिया सुरु भइसकेकाले कानुनी रूपमा ठेक्का रद्द गर्ने अधिकार नगरपालिकासँग नरहेकोसमेत जनाएको छ । चाँगुनारायण नगरपालिका झौखेलस्थित ११ वटा पानी उद्योग सञ्चालित छन् ।

एकताका मूर्त सम्पदा ढुंगेधाराको पानीले भक्तपुरवासीको तिर्खा मेट्ने गर्थे । ‘राजकुलोमार्फत ढुंगेधारामा आएको पानी नै स्थानीय उपभोक्ताको मुख्य स्रोत थियो,’ इतिहासविद् डा.पुरुषोत्तमलोचन श्रेष्ठ स्मरण गर्छन्, ‘समय क्रमसँगै बढ्दो जनसंख्या, अव्यवस्थित सहरीकरणले राजकुलो मासिन थाल्यो ।’ राजकुलो मासिएपछि ढुंगेधारा, इनार, कुवालगायत पानीको मुख्य स्रोत इतिहासमा सीमित भएको उनी बताउँछन् ।

मासिँदै ढुंगेधारा
सहरीकरणसँगै साझा ढुंगेधाराबाट घर/घरमा पाइप लाइन बिछ्याइयो । व्यक्तिगत धाराको विकासले खानेपानीको समस्या चुलिँदै गएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) दूधपाटीमा दिनहुँ खानेपानीको समस्या लिएर उपभोक्ताको भीड लाग्ने गरेको छ । खानेपानीको वैकल्पिक व्यवस्था हुन नसक्दा दिन प्रतिदिन खानेपानीको समस्या थपिँदै गएको केयूकेएल भक्तपुर शाखाले जनाएको छ । ‘दैनिक ९० लाखदेखि एक करोड लिटर खानेपानीको माग छ’, केयूकेएल भक्तपुर शाखा प्रमुख सुरेन्द्र हिमालयले भने, ‘४० लाख लिटर मात्र वितरण गरेका छौं ।’ दैनिक ३५ देखि ४० प्रतिशत उपभोक्तालाई मात्र पानी वितरण गरेको उनले बताए ।

खानेपानीको वैकल्पिक व्यवस्था गर्न नसक्दा हिउँदमा ५ देखि १० दिन र वर्षातमा दिन बिराएर उपभोक्तालाई पानी वितरण गर्दै आएको उनले बताए । केयूकेएल भक्तपुर शाखाले भक्तपुर, सूर्यविनायकको ५ र ६ वडाका केही भाग, चाँगुनारायणको ५, ७ र ८ वडाका केही उपभोक्तालाई खानेपानी वितरण गर्दै आएको जनाएको छ । केयूकेएलले नगरकोट मुहानपोखरी र मध्यपुरथिमि बोडेबाट खानेपानी वितरण गर्दै आएको छ ।

केयूकेएल भक्तपुर शाखाले बोडेबाट दैनिक १५ लाख लिटर र नगरकोट मुहानपोखरीबाट करिब २५ लाख लिटर पानी वितरण गर्दै आएको प्रमुख हिमालयले बताए । वर्षातसँगै मुहानपोखरीको पानी धमिलिएकाले समस्या आएको जनाइएको छ ।

प्रकाशित : श्रावण ५, २०७५ ०८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?