स्मार्ट लाइसेन्स नै नक्कली

प्रशान्त माली

ललितपुर — ललितपुर ट्राफिक प्रहरीले यो साता दुई जनालाई नक्कली स्मार्ट कार्ड लाइसेन्ससहित पक्राउ गरेको छ । ट्राफिक चेकिङका क्रममा सातदोबाटोबाट निर्माण सामग्री बोकेको बा४ख ७१२९ नम्बर मिनीट्रकका चालक प्रावीन स्याङ्तान र ग्वार्कोबाट बा५ख २८५४ नम्बर मिनीबस चालक चक्रे नेपाली पक्राउ परेका हुन् । दुवैलाई थुनामा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

स्मार्ट लाइसेन्स नै नक्कली

ललितपुर ट्राफिक प्रहरी प्रमुख सीताराम हाछेथु भन्छन्, ‘स्मार्ट कार्ड नै नक्कली फेला परेपछि चकित भएँ । पहिलो पटक दुई जना पक्राउ परेका छन् । अरू पनि हुन सक्छन्, चेकिङ कडा बनाएका छौं ।’

उनले लाइसेन्स सक्कली कि नक्कली भनी जाँच्ने मेसिन नहुँदा समस्या भएको बताए । ‘यातायात विभागसँग पटक–पटक मेसिन माग गरिरहेका छौं,’ उनले भने, ‘चाँडै उपलब्ध गराए नक्कली बोक्नेलाई कानुनी दायरामा ल्याउन सकिनेछ ।’

उनका अनुसार नक्कली लाइसेन्स बोक्ने चालक ट्राफिक देख्नेबित्तिकै डराउँछन् । ‘सवारी दुर्घटनाका विभिन्न कारणमध्ये एउटा मुख्य यही हो,’ उनले भने, ‘सवारी चालक अनुमतिपत्र भनेको नागरिकता र विद्यालयको प्रमाणपत्र होइन । एउटा लाइसेन्समा आफ्नो र अरूको जीवन अडिएको हुन्छ । राज्यले यसलाई गम्भीर ढंगबाट लिनुपर्छ ।’

यातायात विभागका प्रवक्ता तुल्सीराम अर्यालले स्मार्ट लाइसेन्स जाँच गर्ने मेसिन खरिदको तयारी भइरहेको बताए । ‘पहिलो लटको एक सयवटा मेसिन वितरण भइसकेको छ,’ उनले भने, ‘नक्कली लाइसेन्स किनबेचमा कर्मचारीको संलग्नता देखिए कारबाही गर्छौं ।’ प्रहरीसित बयानमा स्याङ्तानले लाइसेन्स यातायात कार्यालय, एकान्तकुनाबाट १५ हजार रुपैयाँ तिरेर लिएको बताएका छन् । उक्त लाइसेन्स सम्झना डंगोलका नाममा छ ।

अनुसन्धानमा एउटै लाइसेन्स नम्बर दुई जनाले प्रयोग गरेको देखिएको छ । लाइट गाडी चलाएको दुई वर्षपछि हेभी गाडीको लाइसेन्स लिन पाउने व्यवस्था छ । स्याङ्तानले सुरुमै हेभी लिएका थिए ।

नेपालीले भने काठमाडौं, ठूलो भर्‍याङस्थित यातायात कार्यालयबाट १८ हजार रुपैयाँ तिरेर लिएको बताएका छन् । उनले २०७१ मा लाइसेन्स लिएका थिए । ४ वर्षअघि हेभी गाडीको लाइसेन्स लिएकाले प्रहरीलाई शंका लागेर जाँच गर्ने क्रममा उनी पक्राउ परेका थिए । उनले बोकेको लाइसेन्स नम्बर २०६९ मा विष्णु महर्जनको नाम छ ।

दुवै लाइसेन्स दिने व्यक्तिको हस्ताक्षर एउटै छ । यसमा एउटै गिरोहको संलग्नता हुन सक्ने प्रहरीको अनुमान छ । यातायात कार्यालय सवारी चालक अनुमतिपत्र, वाग्मती एकान्तकुना कार्यालयका निमित्त प्रमुख किरणप्रसाद ढकालले कर्मचारीको संलग्नता देखिए कारबाही गरिने बताए ।

छुट्याउनै गाह्रो
अहिलेसम्म आँखाकै भरमा स्मार्ट कार्ड लाइसेन्स सक्कली कि नक्कली भनी छुट्याउनुपर्ने बाध्यता रहेको ललितपुर ट्राफिक प्रहरीले जनाएको छ । शंकास्पद लाग्दा बरामद गरेर यातायात व्यवस्था विभागमा जाँच गर्न पठाउनुपर्छ । हाछेथु भन्छन्, ‘कार्ड रिड गर्ने मेसिन ट्राफिकका लागि अनिवार्य भइसक्यो । तर, सरकारले अहिलेसम्म उपलब्ध गराएको छैन ।’

विभागका अनुसार हालसम्म झन्डै ४ लाख स्मार्ट लाइसेन्स वितरण भइसकेको छ । थप ३ लाख पाउने प्रक्रियामा छन् । नक्कली लाइसेन्सको बिगबिगी भएपछि स्मार्ट लाइसेन्स प्रयोगमा आएको हो । स्मार्ट कार्डमा सिमकार्डमा जस्तै धातुको चिप्स जडान गरिएको हुन्छ जसमा चालक र सवारीसँग सम्बन्धित डाटा स्टोर हुन्छ । कुनै सवारी चालक ट्राफिक प्रहरीको कारबाहीमा परे त्यसैमा रेकर्ड रहन्छ ।

प्रकाशित : श्रावण ५, २०७५ ०८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?