पहिरोको जोखिममा बस्ती

भक्तपुर — चाँगुनारायण नगरपालिका ४ संगमटोल परियार बस्तीकी ६१ वर्षीया चिनीमाया परियारको घर २०७२ वैशाखको भूकम्पले भत्कियो । आफ्नै घरले पुरिएर चिनीमाया घाइते भइन् । झन्डै ६ महिनाको उपचारपछि उठेकी उनले सुखको सास फेर्न भने पाइनन् ।

पहिरोको जोखिममा बस्ती

‘भूकम्पपछि टहरामै ४४ वर्षीय छोरा (बलबहादुर परियार) लाई गुमायौंं,’ उनले भनिन्, ‘४ वर्षदेखि ७० वर्षीय श्रीमान् इच्छाराम पक्षघातका बिरामी छन् ।’

भूकम्पपछिको करिब ३८ महिनादेखि उनको ५ जनाको परिवार अस्थायी टहरामा बसिरहेका छन् । जसोतसो भूकम्पले क्षतिग्रस्त घरको पुनर्निर्माण थालेका चिनीमायाको परिवारमा अर्को विपद् आइलाग्यो । ‘भत्किएको घर ऋण गरेर बनाउन सुरु मात्र गरेका छौं,’ उनले भनिन्, ‘ढलान लेभलसम्म उठाएको घर लगातारको वर्षाले पहिरोको जोखिममा छ ।’ भूकम्पले घरबाट टहरामा विस्थापित परिवारमा वर्षात्सँगै आएको पहिरोले अर्को पीडा थपेको छ । ‘अनुदानको रकमले जग खन्न पनि पुगेन,’ भवानीले भनिन्, ‘८ लाख ऋण नै छ, निर्माणाधीन घर पहिरोको उच्च जोखिममा छ ।’ परियार बस्तीकै साइँली परियारको पीडा पनि उस्तै छ । भूकम्पपछि ६ जनाको परिवार अस्थायी टहरामा बस्दै आएका छन् ।

‘क्षतिग्रस्त घर पुनर्निर्माण गरी ढलान लेभल पूरा भएको छ,’ उनले भनिन्, ‘दु:ख गरेर बनाएको घर पहिरोले लैजाने भयो ।’ संगमटोल परियार बस्तीका अधिकांश भूकम्पपीडित अस्थायी टहरामा बसोबास गर्छन् । परियार बस्तीका करिब ६ घरधुरी पहिरोको उच्च जोखिममा छन् । २ घरपरिवार विस्थापित भएको चाँगुनारायण–४ की वडा महिला सदस्य राममाया मिजार बताउँछिन् ।

अव्यवस्थित रूपमा बस्तीको चारैतिरबाट इँटाभट्टाका लागि माटो उत्खनन गर्ने, बालुवा झिक्नुले विपन्न दलित बस्ती जोखिममा परेको स्थानीय बासिन्दा बताउँछन् । नगरपालिकाले गत आर्थिक वर्ष कार्यविधि नै नबनाई माटो निकाल्ने तथा ओसारपसारको स्वीकृति दिएको थियो । जिल्लामा सञ्चालित बालुवा, माटो, ढुंगालगायत २६ खानीको फाइल अख्तियारले लगेको नाममा स्थानीय प्रशासनले खानी बन्द गराए पनि अवैधानिक खानीका कारण पहिरोको जोखिम बढेको स्थानीय कामना परियार बताउँछिन् ।

अवैधानिक रूपमा सञ्चालित खानीकै असरले परियार बस्तीलगायत चाँगुनारायण क्षेत्र पहिरोको जोखिममा परेको परियारले बताइन् । पहिरो रोकथाम तथा नियन्त्रणका लागि चाँगुनारायण नगरपालिका ४ नम्बर वडा कार्यालयले टेको पर्खाल निर्माणका लागि जिल्ला प्रशासन कार्यालय भक्तपुर, जिल्ला विपद् व्यवस्थापन कार्यालयलाई पत्राचार गरेको नगर सदस्य दिनेश खनालले बताए ।

प्रकाशित : श्रावण ६, २०७५ ०७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?