२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

रानीपोखरी सेनालाई दिइँदैन : महानगर

कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौं महानगरपालिकाले रानीपोखरी पुनर्निर्माणको जिम्मा नेपाली सेनालाई नदिइने स्पष्ट पारेको छ । शुक्रबार भएको २७ औं बोर्ड बैठकमा उपमेयर हरिप्रभा खड्गीलगायत वडा सदस्यले निर्माणको जिम्मा सेनालाई दिने विषयमा प्रश्न उठाएका थिए ।

रानीपोखरी सेनालाई दिइँदैन : महानगर

उनीहरूको प्रश्नको जवाफ दिंदै मेयर विद्यासुन्दर शाक्यले सेनालाई दिने विषयमा छलफल भए पनि निर्णय नभइसकेको बताए । ‘छलफल भएको हो,’ मेयर शाक्यको भनाइ उद्धृत गर्दै खड्गीले भनिन्, ‘तर दिने निर्णय भएको छैन । खै कसले हल्ला चलाइदियो ।’ पुरातात्त्विक मान्यताविपरीत पुनर्निर्माण सुरु भएपछि विवाद सुरु भएको थियो । पुनर्निर्माणको जिम्मा नेपाली सेनालाई दिने विषयमा रक्षामन्त्री ईश्वर पोखरेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी, पुरातत्त्व विभागका महानिर्देशक भेषनारायण दाहाल, काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यबीच छलफल भएको दाहालले बताएका थिए ।

यससम्बन्धी समाचार सार्वजनिक भएपछि यसको चौतर्फी विरोध भएको थियो । २०७२ वैशाख १२ भूकम्पले पोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा मात्रै क्षति पुर्‍याए पनि यसलाई ‘ब्युटिफिकेसन’ गर्ने भन्दै आधुनिक निर्माण सामग्री प्रयोग गरी पुनर्निर्माण सुरु गरिएपछि विवाद चर्केको थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी, पुरातत्त्व विभागका महानिर्देशक दाहाल, काठमाडौं महानगरका मेयर शाक्यलगायतको बैठकले गत जेठ १५ भित्रै काम सुरु गर्ने निर्णय गरेको थियो । तर सुरु गर्ने भनेको २ महिना बितिसक्दा पनि काम हुन सकेको छैन ।

प्रकाशित : श्रावण १२, २०७५ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?