लाइट बन्द, इशारा चालु

दीपेन्द्र विष्ट

काठमाडौँ — १० वर्षदेखि काठमाडौंमा ट्राफिक बत्तीले राम्ररी काम गरेका छैनन् । २० वर्षअघि नै सवारीको चाप बढेकाले नियन्त्रणलाई ट्राफिक बत्ती जोडिएको थियो । त्यसको तुलनामा काठमाडौंमा सवारी चाप निकै बढेको छ । तर, व्यवस्थापन भने सडक चोकमा उभिने ट्राफिक प्रहरीका २ हात र सिटीको भरमा चलिरहेको छ ।

लाइट बन्द, इशारा चालु

बिग्रिएका बत्तीले सडक चोकमा उभिएर जाम व्यवस्थापनमा उत्रेका ट्राफिक प्रहरीलाई गिज्याइरहेका जस्तो लाग्छ । प्रयोगमा नआएका लाइटमा कतै परेवाले गुँड बनाएका छन् भने कतै धूलोको पत्रमाथि पत्र थपिएका छन् । एकातिर बत्तीको दुर्गति छ भने अर्कातिर ट्राफिक प्रहरीलाई सास्ती । काठमाडौंका सबभन्दा धेरै ट्राफिक जाम हुने कलंकी, कोटेश्वर र कालिमाटीमा खटिने प्रहरीको अनुभवमा उनीहरूका लागि आफ्नो पेसा नै एक प्रकारको सजायजस्तै हो ।

प्रहरी निरीक्षक कृष्णप्रसाद सापकोटा कोटेश्वर चोकमा ट्राफिक व्यवस्थापनका लागि दैनिक ४ देखि ६ घण्टा खटिन्छन् । सडकमा उड्ने धूलो खाएरै उनी सिटी फुक्छन्, हावामा हात नचाउँछन् । प्रचण्ड गर्मी होस् वा झरी सवारीलाई संकेत दिने काम जारी रहन्छ । ‘सवारीको चाप यति धेरै बढिसकेको छ, अब ट्राफिक लाइटले मात्रै पुग्दैन । ओभरहेड ब्रिज र अन्डरपास बनाउनैपर्छ,’ उनी भन्छन्, ‘हातको इशाराले कति दिन ट्राफिक व्यवस्थापन गर्ने ?’


कलंकी चोकमा ट्राफिक व्यवस्थापनमा उत्रने प्रहरी निरीक्षक विम थापाको गुनासो पनि उस्तै छ । सवारीसाधन र पैदलयात्रीको अत्यधिक चाप हुने कलंकीमा उनी हातको इशाराले गाडीको भीड व्यवस्थापन गर्छन् । ‘धूलो, धूवाँले कति असर गर्छ भन्ने छोडौं, शरीर पनि मेसिनजस्तै भइसक्यो,’ उनी भन्छन्, ‘ट्राफिक बत्ती र अन्डरपास छिटो सञ्चालनमा आए सवारीसाधनका साथै पैदलयात्री कन्ट्रोल गर्न सजिलो हुन्थ्यो ।’

उनी सवारीमात्र नभई ट्राफिक लाइन नहुँदा पैदलयात्री पनि जोखिममा परिरहेको बताउँछन् । ‘पैदलयात्री ह्वात्तै आउँछन् । कहिले त गाडी नियन्त्रण गर्ने कि, पैदलयात्री भन्ने मेसो नै पाइँदैन । बत्ती नहुँदा पैदलयात्री दुर्घटनामा पर्ने सम्भावना बढी हुन्छ ।’ बल्खु–कोटेश्वर खण्डको सडक विस्तार भइरहेकाले ट्राफिकजाम अत्यधिक हुने उनले बताए ।


कालिमाटी क्षेत्रका ट्राफिक असई विकल भट्टराई पनि बत्ती नहँुदा सवारी व्यवस्थापन गाह्रो हुँदै गएको बताउँछन् । ‘प्रविधिले फड्को मारिसक्यो, हामी आइल्यान्डमा उभिएर हात हल्लाइराछौं,’ उनले भने, ‘बाटो काटभन्दा सिटी, गाडी रोकभन्दा सिटी, अगाडि बढ र रोकभन्दा हात हल्लाउने यसरी कति दिन चल्छ ?’ करिब ४ महिनाअघि ७ स्थानका बत्ती मर्मत गरेर बाल्ने कोसिस गरिए पनि राम्ररी काम गरेका छैनन् । जापान सरकारको सहयोगमा निर्मित तीनकुने–सूर्यविनायक सडक खण्डका ६ वटा ट्राफिक बत्तीमात्र राम्ररी बल्छन् । नयाँ बानेश्वर चोकमा भने ट्राफिक बत्ती चलिरहेको छ ।

लाइटमात्र होइन, काठमाडौंका सडकका अन्य संकेत पनि ठीक अवस्थामा छैनन् । कतिपय संकेत सूचक बोर्डहरू धूलोले पुरिएका छन् भने कति भत्किएका छन् । ‘चाहिने जति जेब्रा क्रसिङ छैनन् । भएका ठाउँमा पनि पेन्ट मेटिएर केही देखिँदैन,’ महानगरीय ट्राफिक महाशाखाका एसएसपी वसन्त पन्त भन्छन्, ‘वर्षामा जेब्रा क्रसिङको संकेतसम्म देखिँदैन । यसले गर्दा जेब्रा क्रसिङमै पैदलयात्रीको मृत्यु हुने सम्भावना बढी छ ।’ महाशाखाका अनुसार काठमाडौंको सवारी दुर्घटनामा मृत्यु हुनेमा ४३ प्रतिशत पैदल यात्रु छन् ।


उपत्यकमा करिब १ हजार २ सय ट्राफिक प्रहरी परिचालित छन् । उपत्यकाको सवारी चापलाई हेर्दा र प्राविधिकबिना सवारी नियन्त्रण गर्न यो जनशक्ति निकै कम भएको पन्तको भनाइ छ । सार्वजनिक यातायातमा लामो अध्ययन अनुसन्धान गरेका पुल्चोक इन्जिनियरिङ कलेजका अतिथि प्राध्यापक सूर्यराज आचार्य उपत्यकाको यातायात पूर्वाधार नै कमजोर भएको बताउँछन् । ‘पूर्वाधार पैदलमैत्री नै छैन,’ उनले भने, ‘ट्राफिक बत्ती खै ? ट्राफिकले हात हल्लाएको भरमा कति दिन चल्छ ?’

आइल्यान्ड र जेब्रा क्रसिङ निर्माण, ट्राफिक बत्ती जडान तथा मर्मतको जिम्मा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको हो । सडक विभाग ट्राफिक महाशाखाका प्रमुख दीप बराहीले एक साताभित्र टेन्डर आह्वान गरेर लाइट जोड्ने प्रक्रिया अघि बढाइने बताए । ‘सम्पूर्ण प्रक्रिया पूरा भइसकेको छ,’ उनले भने, ‘बिमस्टेक बैठकभन्दा अघि सम्पूर्ण चोकमा लाइट जडान गरिन्छ ।’ बिमस्टेक बैठक भदौ १४ र १५ मा काठमाडौं हुँदैछ ।

थापाथली, कोटेश्वर, सिंहदरबार, पुतलीसडक, त्रिपुरेश्वरलगायत क्षेत्रका लाइटको मर्मत गरिनेछ । यस्तै पुरानो बानेश्वर, गौशाला र मित्रपार्कमा नयाँ लाइट जडान गरिने बराहीले बताए । त्यसै गरेर उपत्यकाका सबै सडक डिभिजनलाई जेब्रा क्रसिङ, साइड वालका रङरोगनलगायत मर्मत गर्न पनि सडक विभागले निर्देशन दिइसकेको उनले बताए । यसअघि उपत्यकाका ७ स्थानमा बत्ती जडान गरिसकेको छ ।

तस्बिरहरू : किरण पाण्डे र अंगद ढकाल

प्रकाशित : श्रावण १२, २०७५ ०८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?