१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

दशक बित्यो, समस्या उस्तै

सुदीप कैनी

काठमाडौँ — उपत्यकाको फोहोर दीर्घकालीन व्यवस्थापन गर्ने प्रक्रिया एक दशकदेखि योजनामै सीमित छ । राजधानीका घर, सडक र सार्वजनिक स्थलका फोहोर नउठेर दुर्गन्धित हुने क्रम पटकपटक दोहोरिँंदै आएको छ ।

दशक बित्यो, समस्या उस्तै

योजनाहरू अघि बढे पनि दीर्घकालीन व्यवस्थापनको प्रक्रिया एक दशकदेखि टुंगो लाग्न सकेको छैन ।

लगानी बोर्डले सार्वजनिक–निजी साझेदारीमा उपत्यकाको फोहोर व्यवस्थापन गर्ने परियोजना अघि बढाएको छ । तर उक्त परियोजनाको प्रक्रियामा काठमाडौं महानगरपालिका पूर्ण सहमत छैन । महानगरपालिकाको रायसुझावबिनै बोर्डले आयोजना विकास सम्झौता (पीडीए) स्वीकृत गरेको छ । दैनिक ५ सय टनभन्दा बढी फोहोर उत्पादन गर्ने महानगरकै बिमतिका कारण परियोजना सम्पन्न गर्न झनै ढिलो हुँदै गएको छ । काठमाडौंबाहेक उपत्यकाका ललितपुर र भक्तपुरको फोहोर व्यवस्थापनको योजना झनै अन्योलमा छ ।

काठमाडौं महानगरमा एक हजारभन्दा बढी मजदुर कर्मचारी फोहोर व्यवस्थापनमा कार्यरत छन् । निजी क्षेत्रलाई फोहोर उठाउने जिम्मेवारी दिँदा ती मजदुर कर्मचारी कहाँ व्यवस्थापन गर्ने भन्ने चिन्ता महानगरको छ । ‘लगानी बोर्डले पर्याप्त छलफल नै गरेको छैन,’ काठमाडौं महानगरका प्रवक्ता ज्ञानेन्द्र कार्कीले भने, ‘केन्द्रीय सरकारसँग मिलेर काम अघि बढेको छ, महानगरसँग छलफल भएको छैन, फोहोर व्यवस्थापनका धेरै समस्या छन्, निजी क्षेत्रलाई दिने भनेरमात्र हुँदैन ।’ हाल कार्यरत मजदुरको व्यवस्थापन कसरी गर्ने भनेर परियोजनाले प्रस्ट गर्नुपर्ने उनको भनाइ छ ।

बोर्डले सार्वजनिक–निजी साझेदारीमा उपत्यकाको एकीकृत फोहोरमैला व्यवस्थापन गर्ने परियोजना ९ वर्षदेखि अघि बढाएको हो । काठमाडौं जिल्लाभित्रका कीर्तिपुर नगरपालिकाबाहेकका स्थानीय तहको फोहोर व्यवस्थापन गर्न पहिलो प्याकेजअन्तर्गत विकासकर्ता नेपवेस्ट कम्पनी प्रालिसँग पीडिए स्वीकृत भएको छ । तर काठमाडौं महानगरले राय सुझाव दिएको छैन । बोर्डका प्रवक्ता उत्तमभक्त वाग्लेले स्थानीय तहहरूसँग समन्वय गरेरमात्र परियोजना अघि बढाउने बताए ।

‘पीडीए स्वीकृत भएको छ, नगरपालिकाहरूसँग रायसुझाव लिएर एमओयू (सम्झौता) गर्ने तयारी गरेका छौं,’ उनले भने । अहिले उपत्यकाको फोहोर फाल्दै आएको नुवाकोटस्थित सिसडोलको ल्यान्डफिल साइट भरिएर विकराल अवस्था आएको छ । फोहोर राजधानीमै थुप्रेर दुर्गन्धित बने पनि बर्खाको समयमा सडकका कारण फोहोर नउठ्नु सामान्य भएको महानगरका वातावरण विभागका कर्मचारीहरू बताउँछन् ।

‘बर्खाको पानीले सडक हिलो र चिप्लो भएर समस्या आएको हो,’ विभागका प्रमुख हरिबहादुर कुँवरले भने, ‘विगतका वर्षमा पनि यस्तो समस्या आएको थियो, बाटो बनाउँदै फोहोर फाल्दै गरेका छौं ।’ हिउँद लागेपछि फोहोर व्यवस्थापन सुचारु हुने उनको तर्क छ ।

उपत्यकामा भने घरघर र चोकचोकमा फोहोर थुप्रो लागेर दुर्गन्ध बढेको छ । महानगरको संकलन केन्द्र टेकुस्थित टान्सर्फमर स्टेसनमा समेत फोहोरको पहाड चुलिएको छ । केन्द्रीय सरकार र स्थानीय पहिलो प्याकेजको परियोजना समयमै अघि बढे पनि पूर्वाधार निर्माण गरे फोहोर व्यवस्थित गर्न कम्तीमा दुई वर्ष लाग्छ । सिसडोल ल्यान्डफिल साइटमा क्षमताभन्दा बढी फोहोरको पहाड बनिसकेकाले केन्द्रीय सरकारले वैकल्पिक ल्यान्डफिल साइटको व्यवस्था गरिदिनुपर्ने कुँवरको तर्क छ । त्यहाँ जबरजस्ती फोहोर फालिएको कर्मचारी बताउँछन् ।

फोहोरको पहाड जुनसुकै बेला भासिएर दुर्घटना हुन सक्ने खतरा रहेको प्राविधिकहरूले औंल्याएका छन् । नुवाकोटकै बन्चरेडाँडामा एकीकृत फोहोरमैला प्रशोधन गर्न जग्गा छनोट भएको छ । निजी क्षेत्रले पहिलो प्याकेजअन्तर्गत सोही जग्गामा फोहोर प्रशोधन गरेर बायोग्यास र बिजुली उत्पादन गर्ने परियोजनामा उल्लेख छ ।

केन्द्रीय सरकारले सोही जग्गामा पूर्वाधार निर्माण गरिदिनुपर्ने कुँवरले बताए । उनले भने, ‘महानगरसँग पूर्वाधार निर्माण गर्ने स्रोत साधन छैन ।’ त्यहाँ पूर्वाधार निर्माण गर्न २ अर्ब ४५ करोड रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ । दीर्घकालीन फोहोर व्यवस्थापनका लागि महानगरले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग छलफल अघि बढाएको उनले जनाए । ‘केही समयका लागि सिसडोलमा नै सडक मर्मत सुधार गरेर फोहोर फाल्न सकिन्छ,’ उनले भने, ‘दीर्घकालीन रूपमा फोहोर व्यवस्थापन गर्न बन्चरेडाँडामा पूर्वाधार विकास गर्नुपर्छ ।’

महानगरका प्रशासकीय प्रमुुख यादवप्रसाद कोइरालाले फोहोर व्यवस्थापनका लागि ३ तरिकाले योजना बनाइएको बताए । ‘सिसडोलसँगै ६० रोपनी जग्गा छ, बन्चरेडाँडामा पूर्वाधार नबनेसम्म उक्त जग्गामा वैकल्पिक ल्यान्डफिल साइट बनाउन सकिन्छ ।’ उनले बन्चरेडाँडामा दीर्घकालीन रूपमा फोहोर व्यवस्थापन गर्न केन्द्रीय सरकारलाई अनुरोध गरिएको जनाए । लगानी बोर्ड र निजी क्षेत्रले फोहोर व्यवस्थापन गर्न लागेको बारे भने कोइरालाले समेत अनभिज्ञता प्रकट गरे ।

प्रकाशित : श्रावण १३, २०७५ ०८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?