१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

भक्तपुरमा बाटोमै पार्किङ

लीला श्रेष्ठ

भक्तपुर — भक्तपुरको जगातीस्थित यातायात व्यवस्था कार्यालयमा सयौंको संख्यामा सेवाग्राहीको भीड लाग्ने गर्छ । अरनिको राजमार्ग सडक खण्डमा पर्ने कार्यालय आउने सेवाग्राहीले सडकमै पार्किङ गनुपर्ने बाध्यता छ ।

भक्तपुरमा बाटोमै पार्किङ

भाडाको घरमा सञ्चालन भइरहेको कार्यालयले पार्किङको व्यवस्था गर्न सक्ने अवस्था नरहेको कार्यालयका सूचना अधिकृत कोमल निरौला बताउँछन् । २०७३ माघदेखि सञ्चालनमा आएको कार्यालयले पार्किङ व्यवस्थापनका लागि नगरपालिकालाई पत्राचार गरेको निरौलाले बताए ।

नगरपालिकाले यातायात कार्यालय आउने सेवाग्राहीसँग सडक किनारामा पार्किङ गरेका सवारीको शुल्क उठाउने गरेको छ । ‘पार्किङस्थल तोकेको छैन, सडकमै पार्किङ गर्नुपर्ने बाध्यता छ,’ सूर्यविनायक–६ कटुञ्जेकी अरुणा श्रेष्ठले भनिन्, ‘सडकमा पार्किङ गरेको शुल्क लिइन्छ, शुल्क लिने भए पार्किङ स्थल हुनुपर्‍यो ।’ नगरपालिकाले कार्यविधि नबनाई पार्किङ शुल्क उठाउने गरेको सेवाग्राहीको गुनासो छ । नगरपालिकाले इटा तथा टायल उद्योग प्रालिको समन्वयमा करिब ३ रोपनी जग्गामा सेवाग्राहीका लागि पार्किङको व्यवस्था गर्न लागेको छ । व्यवस्थित पार्किङ स्थल निर्माण गर्न नगरले सामाजिक विकास समिति संयोजक किरण थापाले बताए । उनी ८ नम्बर वडाका अध्यक्षसमेत हुन् ।

त्यस्तै, नगरका ६ र ८ वडाका विभिन्न स्थानमा सडकको दायाँ–बायाँ अव्यवस्थित सवारी पार्किङले दिनहुँ जाम हुने गरेको छ । दर्जनौं बैंक तथा वित्तीय संस्था, व्यापारिक स्थल भएको सूर्यविनायकमा दैनिक हजारौं सेवाग्राहीको आवातजावत हुने गर्छ । भक्तपुर नगरपालिका–१० कमल विनायकमा पनि उस्तै अवस्था छ । निजी तथा साना सवारीसाधन मात्र नभई सार्वजनिक बससमेत सडकमै पार्किङ गर्ने गरिएको छ ।

काभ्रेको मण्डन देउपुर, तेलकोट, कलमसीं, बागेश्वरी, छालिङलगायतका स्थानमा चल्ने बस सडकमै पार्किङ गरिन्छ । पर्यटकीय गन्तव्य नगरकोटको मुख्य मार्ग कमल विनायकको साँघुरो सडकको दायाँ–बायाँ असरल्ल राखिएका साना तथा ठूला सवारीसाधनले नगरको सौन्दर्यतामा प्रश्न उठेको पुस्तक व्यवसायी राधेश्याम सुवाल बताउँछन् । ‘२०५७ सालमा नगरकोटमा सार्क सम्मेलन हुने हल्ला थियो, पछि राजधानीमै सार्क सम्मेलन भयो’ उनले स्मरण गरे ।

त्यतिबेलादेखि ब्यासी, कमल विनायकको सडक विस्तार गर्ने योजना बने पनि सडक फराकिलो हुन सकेको छैन । पर्यटकको आकर्षकको केन्द्र नगरकोट घुम्ने पर्यटकले अवलोकनका लागि शुल्क बुझाउनुपर्छ । तर, चाँगुनारायण नगरपालिकाले नगरकोटमा पार्किङको व्यवस्था भने गर्न सकेको छैन । काभ्रे र भक्तपुरको सीमा क्षेत्रमा पर्ने नगरकोटमा मन्डन देउपुर र चाँगुनारायण नगरले पर्यटकका लागि छुट्टाछुट्टै शुल्क निर्धारण गरेको छ । त्यसैगरी मध्यपुर थिमि बाहाखा बजारमा पुरानो थिमि भएर चल्ने लखनखेल, गौशाला, रत्नपार्कका बसका कारण जाम हुने गरेको छ ।

सर्भिस ट्रयाकको दुरुपयोग
सूर्यविनायक–तीनकुने सडक खण्डको सर्भिस ट्रयाक पार्किङस्थलका रूपमा परिणत भएको छ । ६ लेनको ९ दशमलव १ किमि चौडा सडकको दायाँ–बायाँको करिब १८ किलोमिटर सर्भिस ट्रयाक पार्किङ रूपमा परिणत भएको हो ।

ट्रयाक मिचेर निर्माण सामग्री राख्ने, गाडी पार्किङ गर्ने, सडकमै सामान झार्ने, जथाभावी ट्याक्सी पार्किङ गर्ने तथा सडकमै हुने तरकारी, फलफूल, चनाचटपटे र कपडाको व्यापारले पैदलयात्रुलाई सास्ती हुने गरेको छ । ‘व्यापारीले सडकमै व्यवसाय गर्छन्,’ सूर्यविनायककी रीता जोशीले भनिन्, ‘मुख्य सडकको दायाँ–बायाँको सर्भिस ट्रयाक पार्किङ र व्यापारिक थलो बनेको छ ।’ वर्षौंदेखि सडक मिचेर व्यवसाय सञ्चालन तथा अव्यवस्थित पार्किङविरुद्ध सम्बन्धित निकायले कारबाही नगरेको गठ्ठाघरका राजन सुवालले बताए ।

सर्भिस ट्रयाकको निर्माण र मर्मतको जिम्मा लिएको काठमाडौं–भक्तपुर–धुलिखेल सडक विस्तार योजनाले भने स्थानीय व्यापारीमा जनचेतनाकै कमी रहेको जनाउँदै आएको छ । योजना प्रमुख इन्जिनियर राकेश महर्जनले जथाभावी पार्किङ गर्ने, खुला रूपमा व्यापार गर्नेलाई ट्राफिक प्रहरीले कारबाही थाल्नुपर्ने बताउँछन् ।

तर प्रहरीले भने सर्भिस ट्रयाकको दुरुपयोग नियन्त्रण गर्न प्रहरी एक्लैले नसक्ने र पार्किङको जिम्मा नगरपालिकाले लिनुपर्ने बताउँदै आएको छ । महानगरीय ट्राफिक प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी निरीक्षक जगत नेपालीले सडक तथा सर्भिस ट्रयाकको अतिक्रमणले सर्वसाधारण मर्कामा परेको स्विकार्छन् ।

प्रकाशित : श्रावण १३, २०७५ ०८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?