काठमाडौँ महानगरपालिकाले भुस्याहा कुकुर र छाडा चौपाया व्यवस्थापन गर्ने
काठमाडौँ — बितेको तीन महिनामा काठमाडौंमा रेबिजका कारण पाँचजनाले अकालमा ज्यान गुमाए ।
टेकुका शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डाक्टर शेरबहादुर पुनका अनुसार २०७५ सालमा १७ जना र २०७४ मा १६ जनाले ज्यान गुमाएका थिए । यो संख्या वर्षेनी बढ्दै गएको छ ।
अस्पतालमा दैनिक कम्तीमा डेढसयदेखि बढीमा दुईसयसम्म रेबिजका बिरामीहरु आउछन् । रेविजका बिरामी कहिल्यै छुट्दैनन् यहाँ । विरामीमध्ये अधिकांशलाई कुकुरले टोकेका र केहीमात्रै बिरालो र बाँदरले टोकेका आउँछन् ।
काठमाडौंमा भुस्याहा कुकुरको बिगबिगिले गर्दा रेबिजका विरामी अत्यधिक आउने गरेका अस्पतालले बतायो ।
काठमाडौं महानगरपालिकाको तथ्यांक अनुसार महानगर क्षेत्रमा २२ हजार भुस्याहा कुकुर छन् । साउन लागेदेखि मात्रै पशुपतिमा बाँदरले टोकेका बिरामी आउन थालेका छन् ।
मृत्यु हुनेहरु भने रेबिजको सुई लगाउन स्वास्थ्य संस्था जानुपर्छ भन्ने ज्ञान हुँदाहुँदै समयमा पुग्दैनन् । ‘बिरामी, उनका परिवारहरुको हेलचेक्राईले गर्दा बिरामी अन्तिम अवस्थामा पुगेपछि अस्पताल आउँछन्, बचाउन हरप्रयास गर्दागर्दै प्राण छोड्छन्,’ डाक्टर पुनले भने ।
कुकुरले टोकेका बिरामीहरुमा अझैपनि टीटीको सुई लगाएकाले रेबिज लाग्दैन भन्ने विश्वास छ । पुन भन्छन्, ‘टीटीको सुई त टिटानसको लागि मात्रै हो, रेबिजको सुई लगाउन स्वास्थ्यसंस्था पुग्नैपर्छ ।’
कुकुरले टोकेका विरामी तथा मृत्युदर बढ्न थालेपछि नयाँ आर्थिक वर्ष सुरु भएसँगै काठमाडौं महानगरपालिकाले कुकुर व्यवस्थापन गर्ने नीति ल्याएको छ ।
महानगरवासीहरुलाई कुकुर पाल्दा समाजलाई असर नपार्ने गरी पाल्न भनेको छ । जसले समाजलाई प्रतिकुल असर पार्नुहुदैन । तर भुस्याहा कुकुरले भुक्ने, लखेट्ने र टोक्ने गर्छन् ।
महानगरले कुकुरको संख्या घटाउन चाहेपनि पशु अधिकार अनुसार मार्न नपाउने भएपछि औषधीउपचार गर्ने, रेबिजको सुई हान्ने र बन्ध्याकरण गराउने नीति अघि सारेको छ । यसलाई संख्या नियन्त्रण गर्ने विकल्प मानिएको छ ।
काठमाडौं महानगरपालिका सहरी स्वास्थ्य महाशाखा प्रमुख हरिकुमार श्रेष्ठका अनुसार एक वर्षभित्रमा सबै कुकुरको बन्ध्याकरण गराउने भएको छ । बसाईसराईका क्रममा कुकूरको संख्या वृद्धि त हुन्छ नै । बन्ध्याकरण गराएपछि बढ्न पाउदैन ।
महानगरपालिकाले नगर क्षेत्रका कुकुरलाई औषधी उपचार र रेबिजको सुई लगाएपछि बन्ध्याकरण गराउने भएको छ । यसकालागि महानगरले औषधी खरिदका लागि ७५ लाख बजेट विनियोजन गरेको छ ।
टेण्डर समेत आह्वान गरिसकेको छ । महानगरले यो कार्य कुनै एक संस्थासँग मिलेर गर्ने भएको छ । जसमा महानगरले औषधी उपब्ध गराउने र सहयोगी संस्थाले सामाग्री र मानवीय संशाधनको व्यवस्थापन गरेर संयुक्त रुपमा बन्ध्याकरण गराउने तयारी गरेको छ ।
‘बन्ध्याकरणले संख्या बढ्दैन, टोकिहालेमा रेबिज संक्रमणको महामारी फैलन्न र मानिसले अकालमा ज्यान गुमाउनुपर्दैन,’ सहरी स्वास्थ्य महाशाखा प्रमुख श्रेष्ठले बताए । महानगरले अन्य नगरपालिकाहरुमा पनि बन्ध्याकरण कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ ।
घरपालुवा कुकुर पाल्नेहरुले सडक क्षेत्रमा जथभावी कुकुरालाई दिसापिसाब गराउने परिपाटीले दुर्गन्धसँगै रोग संक्रमणको जोखिम बढेको छ । घरधनीलाई घरभित्रै दिशापिसाब गराउन महानगरले भनेपनि हालसम्म कार्यान्वयन छैन ।
‘घरमा दिसापिसाब गराउनहोस्, त्यो उठाउने काम महानगरको भने पनि अटेर गरेका छन्, वर्ष वर्षमा औषधोपचार गर्नुपर्छ त्यो पनि छैन,’ श्रेष्ठले भने । भुस्याहा कुकुर मात्र नभएर घरपालुवा कुकुर धनीको अटेरीपनाले पनि जोखिम बढ्दै गएको श्रेष्ठले बताए ।
महानगरपालिकाको स्वास्थ्य नीतिमा महानगरक्षेत्रभित्र पशुपंक्षी तथा कुकुर पालन सम्बन्धि नियमन गर्नका लागि आवश्यक मापदण्ड बनाई लागू गर्ने उल्लेख छ ।
कुकुरसँगै सडकमा छाडिएका छाडा चौपायाको पनि महानगरले व्यवस्थान गर्ने कार्यक्रम ल्याएको छ । छाडा चौपाया र कुकुरले सहरलाई कुरुप र अशोभनीय मात्र बनाएका छैनन्, अस्तव्यस्त र आतंक मच्याएका छन् । यसले गर्दा महानगरले कार्यक्रम नै बनाएर व्यवस्थापनमा लागेको जनाएको छ ।
छाडा चौपायाले गर्दा सवारी दुर्घटना बढ्न थालेको र फुटपाथ पैदलयात्रुमैत्री नभएको गुनासा बढ्न थालेपछि चौपायाको प्रभावकारी नियन्त्रण गर्ने नीति अख्त्यार गरेको छ । महानगरले एउटा धार्मिक संस्थासँग मिलेर सडकका चौपायालाई उठाइ औषधी उपचार गर्ने, ट्याग लगाउने तयारी गरिरहेको छ ।
यो कार्य महानगरपालिकाले ती संस्थासँग साझेदारीमा गर्नेछ । चौपाया व्यवस्थापनका लागि लाग्ने खर्च दुवै संस्थाले ५०/५० प्रतिशत व्यहोर्नेछन् । तत्कालका लागि १०/१० लाखको स्टीमेट भएको छ ।
बुढानिलकण्ठमा एक संस्थासंग मिलेर ती चौपायालाई काञ्जीहाउसमा भेला पार्ने नगरपालिकाले योजना छ । उक्त संस्थाले ठूलोसंख्यामा चौपाया अटाउने गरी काञ्जीहाउस विस्तार गर्न टोबाको कम्पनीको खाली जग्गा किन्न लागेको छ । काञ्जीहाउसमा राखिएका चौपाया लिन चौपायाधनी आए उसलाई आवश्यक क्षतिपूर्ति तिराएर फिर्ता गराउने र निश्चित अवधिसम्म लिन नआए गाउँमा पाल्नका लागि दिइनेछ ।
महानगरपालिकाले काञ्जीहाउस बनाएपनि त्यसको जिम्मा अरुलाई नै दिनुपर्ने भएकाले भएकै कान्जीहाउसमा व्यवस्थापन गर्न लागेको छ । महानगरले चौपाया व्यवस्थापन गर्दै जाने महानगरबासीले सडकमा ल्याउँदै छाड्ने कारण समस्या बढ्दै गएको छ ।
यसकारण चालू आवभित्रै चौपायाको मुहानै बन्द गराउने महानगरले योजना बनाएको छ । महानगर कति छन् भन्ने यकिन तथ्याङ्ग भने महानगरसँग छैन ।
प्रकाशित : श्रावण १४, २०७५ १९:३६