२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

नगरकोट घुम्ने पर्यटकलाई दोहोरो शुल्क

लिला श्रेष्ठ

भक्तपुर — काभ्रे र भक्तपुरको सिमानामा पर्ने पर्यटकीय गन्तव्य नगरकोट आउने पर्यटकले दोहोरो शुल्क तिर्नुपर्ने भएको छ । मन्डनदेउपुर काभ्रे र चाँगुनारायण नगरपालिकाले छुट्टाछुट्टै प्रवेश सेवा शुल्क निर्धारण गरी ठेक्का प्रक्रिया थालेको छ ।

नगरकोट घुम्ने पर्यटकलाई दोहोरो शुल्क

चाँगुनारायण नगरपालिकाले गत आव ०७४/७५ मा नगरकोट आउने पर्यटकसँग प्रवेश सेवा शुल्क लिन ५१ लाख रुपैयाँमा ठेक्का दिएको थियो ।


चालु आवको साउन १ गतेबाट नगरकोट र चाँगुनारायण मन्दिर प्रवेश सेवा शुल्क लिने गरी ‘न्यू दक्षिणकाली सप्लायर्स’ सँग ३ करोड ३९ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको छ । न्यू दक्षिणकाली सप्लायर्सले चाँगुनारायण नगरपालिका–६ तेलकोट र ८ कलमसीबाट पर्यटक प्रवेश सेवा शुल्क लिन थालेको छ । उक्त कम्पनीले चाँगुनारायण मन्दिर अवलोकनका लागि आउने पर्यटकसँग समेत शुल्क लिन पाउँछ ।


मन्डनदेउपुर नगरपालिका काभ्रेले चालु आवको साउन १ गते नगरकोट आउने पर्यटकसँग प्रवेश शुल्क लिने भनी सूचना प्रकाशित गरेको छ । मन्डनदेउपुरको सूचनामा ०७५/७६ का लागि नगरपालिकाअन्तर्गत नगरकोट क्षेत्रभित्रका काभ्रेचोक, भ्युटावर चोक र कात्तिके क्षेत्रमा आउने विदेशी पर्यटकहरूसँग प्रवेश शुल्क उठाउने गरी १ करोडको ठेक्का आह्वान गरिएको छ । उक्त सूचनामा बोलपत्र स्वीकृत भएका फर्म वा कम्पनीले सार्क राष्ट्रबाहेकका विदेशी पर्यटकसँग प्रति ३ सय र सार्क राष्ट्रभित्रका पर्यटकसँग २ सय रुपैयाँ (करबाहेक) प्रतिपर्यटक प्रवेश सेवा शुल्क उठाउन पाउनेछन् । चाँगुनारायण नगरपालिकाले सार्क राष्ट्रका पर्यटकसँग २ सय र अन्य राष्ट्रका पर्यटकसँग ३ सय प्रवेश शुल्क लिंदै आएको छ ।


दुई नगरपालिकाले आपसमा समन्वय नै नगरी पर्यटन सेवा शुल्क निर्धारण गरी छुट्टाछुट्टै शुल्क उठाउँदा पर्यटकमा नकरात्मक असर पर्ने पर्यटन व्यवसायीहरू बताउँछन् । ‘एकै ठाउँ आउन दोहोरो शुल्क तिर्नुपर्दा पर्यटकमा नकारात्मक सन्देश जान्छ, पूर्वाधारविहीन क्षेत्रमा शुल्क लगाउनु गलत हो,’ नगरकोट नाल्दुम पर्यटन विकास समितिका सचिव धनबहादुर लामाले भने, ‘नगरकोट आउने पर्यटकका लागि बसपार्कको व्यवस्था छैन, सार्वजनिक शौचालय छैन, सडकको अवस्था दयनीय छ ।’


नगरपालिकाले पर्यटन विकास तथा प्रवद्र्धनका लागि केही लगानी नगरी शुल्क उठाउन थालेको व्यवसायीको गुनासो छ । दुवै नगरपालिकाबीच समन्वय गरेर एकीकृत कर लगाएर नगरकोटको भौतिक विकासका लागि लगानी गर्नुपर्ने लामाको सुझाव छ । मन्डनदेउपुरले भने चाँगुनारायण नगरपालिकाका जनप्रतिनिधिले समन्वय नै नगरी नगरकोट आउने पर्यटक प्रवेश सेवाशुल्क निर्धारण गरेको भन्दै आलोचना गरेका छन् ।


‘गत आव ०७४/७५ मा चाँगुनारायण नगरपालिकाले कुनै समन्वय नै नगरी हतारमा टेन्डर गर्‍यो,’ मन्डनदेउपुर नगरप्रमुख टोकबहादुर वाइबाले भने, ‘नगरकोटको विकासका लागि चाँगुनारायण नगरपालिकाले केही पहल गरेको छैन ।’ पर्यटकीय क्षेत्र नगरकोट दुई जिल्लाको सिमानामा पर्ने भए पनि ८० प्रतिशत भूभाग मन्डनदेउपुर नगरपालिकामा पर्ने तर कर भने एउटाले मात्र लिएकाले बाध्य भएर चालु आवको पर्यटन सेवा शुल्कका लागि ठेक्का प्रक्रिया सुरु गरेको नगरपालिकाले जनाएको छ ।


मन्डनदेउपुर नगरपालिकाले नगरकोटको पर्यटन क्षेत्र पूर्वाधार निर्माणका लागि करिब ८० लाख रुपैयाँ बजेट विनियोजन गरेको जनाएको छ । ‘नगरकोटमा बसपार्क निर्माणका लागि १० लाख रुपैयाँ, सार्वजनिक शौचालय निर्माणका लागि १५ र तरकारी संकलन केन्द्र निर्माणका लागि १५ लाख विनियोजन गरेको छ’, नगरप्रमुख वाइबाले भने, ‘नगरकोट अवलोकन गर्नेबाट उठाएको पर्यटन प्रवेश सेवा शुल्क नगरकोटको विकासमा खर्च गर्छौं ।’


चाँगुनारायण नगरप्रमुख सोमप्रसाद मिश्रले भने पर्यटन शुल्क उठाउने सन्दर्भमा दुई नगरपालिकाबीच समन्वय गरी समस्या समाधान गर्ने बताएका छन् । नगरकोटको पर्यटन प्रवद्र्धनकै लागि शुल्क उठाउन थालेको र नगरपालिकाले सौर्य बत्ती जडानलगायत कार्यको थालनी गरिसकेको उनले बताए । ‘छलफल र कुराकानी गर्न खोज्दाखोज्दै समय व्यवस्थापन हुन सकेन,’ मिश्रले भने । मन्डनदेउपुर र चाँगुनारायणको सिमानामा पर्ने नगरकोटमा करिब १ सय साना तथा ठूला होटल/रेस्टुराँहरू छन् । अधिकांश होटल तथा रेस्टुराँहरू मन्डनदेउपुर नगरपालिका–१ र २ मा पर्छन् ।

प्रकाशित : श्रावण १६, २०७५ ०९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?