१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

महानगरका सडक: खन्न हतार, बनाउन आलटाल

विद्या राई

काठमाडौँ — विभिन्न बहानामा छोटो समयमै महानगरको एउटै सडक पटकपटक खनिन्छ । कहिले सडक मर्मतका लागि भने कहिले कहिले मेलम्ची खानेपानीको पाइप बिछ्याउन । त्यसैगरी, कहिले ढल निर्माण तथा मर्मतका लागि ।

महानगरका सडक: खन्न हतार, बनाउन आलटाल

तर, खनिएका सडक समयमै पुनर्निर्माण गरिंदैन । यसले गर्दा पानी परेका बेला हिलो र घाम लागेका बेला धूलोको सास्ती बेहोर्न महनागरवासी बाध्य छन् । पटकपटक खनिएका सडक समयमै मर्मत नभएपछि खाल्डाखुल्डी बढेका छन् । सामान्य पानी पर्नेबित्तिकै सडक आहालमा परिणत हुने गरेको छ ।


महानगरको १२ नम्बर वडामा पर्ने टेकु चोकदेखि न्युरोडसम्मको सडकको हालत यस्तै छ । फागुनमा महानगरले निर्माण गरेको सडक छ महिना नबित्दै मेलम्ची खानेपानी पाइप बिछ्याउने क्रममा भत्काइदियो । यस खण्डमा मानिसहरूलाई पानी परेको बेला हिलो र घाम लागेको बेला धूलोको सास्ती छ । पानी पर्नेबित्तिकै खाल्डाखुल्डीमा पानी जम्ने कारणले गर्दा तीव्र गतिमा गुडेर आएका सवारीसाधनले पैदलयात्रुहरूलाई पानी छ्यापिदिने गर्छन् । महिला, बालबालिका, वृद्धवृद्धा, विद्यार्थीहरू निकै मारमा पर्ने गरेको एक विद्यार्थीले गुनासो पोखिन् ।


‘विद्यालय जाने समयमा पानीले छ्यापेर स्कुल ड्रेस नै निथ्रुक्क भिजाइदिन्छन् । घर फर्किनु कि विद्यालयका जानु दोधारमा परिन्छ,’ उनले भनिन् । वडा नम्बर १५ को डल्लु आवासमा खानेपानी समस्या भएपछि आयोजनामार्फत घरघरमा पाइप पुर्‍याउनुपर्‍यो । यस क्रममा सडक भत्काइयो । तर, मर्मत भने भएन । सडकको सास्ती वडा नम्बर १२ को जस्तै छ । ‘वडा कार्यालयले सडक भत्काएपछि बनाउनुपर्ने सहमति बनाएको भए समस्या हुने थिएन,’ सतर्कतापूर्वक काम नभएका कारण सास्ती भएको महानगरपालिकाका इन्जिनियर रामबहादुर थापाले बताए ।

नक्सालमा भत्केको सडक । तस्बिर : कविन अधिकारी


नयाँ बानेश्वरको कात्यानी चोक र मिलनचोकको बीचमा सडक कहिल्यै राम्रो भएको छैन । स्थानीय गीता उपाध्याय भन्छिन्, ‘मेलम्चीले खन्यो, फेरि ढल बनाउन खनियो, फेरि मेलम्चीले खन्छु भन्छ, पिच बनाएको ३/४ महिना हुन पाको हुँदैन फेरि भत्काइन्छ, समयमै पूरे त भइहाल्थ्यो नि ।’ यो सास्ती सर्वसाधारणका लागि मात्रै छैन । महानगरका लागि पनि छ । किनकि उक्त सडक महानगरले पुनर्निर्माण गर्नुपर्ने जिम्मेवारी आइलागेको छ । आफैंले बनाएको सडक अरूले भत्काएर पुन: बनाउनुपरेपछि दोहोरो खर्च हुन्छ ।


महानगरभित्र जम्मा १ हजार ४ सय ५० किलोमिटर सडक छ । महानगरलाई ८ मिटर चौडाइ भएका १ हजार किलोमिटर सडकको जिम्मेवारी छ । वडा नम्बर ४, १२, १३, १५ र २६ वडामा यस्तो समस्या बढी छ । वडा नम्बर १३ मा व्यक्तिगत प्रयोजनका लागि सडक विभिन्न स्थानमा भत्काइएका छन् । यस्ता समस्या बढेर महानगरलाई समेत दोहोरो आर्थिक भार पर्न थालेपछि अनुमतिबिना भत्काउन नपाउने नियम बनाएको छ । दुई वर्षयता निर्माण गरेका सडकको पुन: निर्माणको ग्यारेन्टी नभई अनुमति भएर पनि खन्न पाइँदैन । तर, खानेपानीको धारा बनाउनुपर्‍यो, ढलको जाम खोल्नुपर्‍यो भन्ने समस्यामा त मानवीय हिसाबले पनि सडक भत्काउन दिइन्छ ।


नखनी नहुने र आवश्यक परेका स्थानमा खन्न पाइन्छ । महानगरले यो नियम बनाए पनि वडा तहले स्वीकृति दिने कारण समस्या भएको महानगर बताउँछ । कतिपय व्यक्तिले स्वीकृतिबिनै खनिदिन्छन् । त्यसको कारबाही भने छैन । खनेर पुरपार गर्ने छोड्ने, त्यसैमाथि सवारीसाधन कुद्ने, पानी परेपछि हिलो हुने, भत्कँदै ठूला खाल्डाखुल्डी बढ्ने हुन्छ । महानगरका सडकमा हिलो, धूलो, खाल्डा हुने, जाम बढ्ने समस्या बढ्दै गएको छ । महानगरमा मेलम्ची खानेपानी आयोजनाका कारण सबैभन्दा बढी समस्या थपिएको छ । मेलम्चीले खानेपानी पाइप बिच्छ्याउने र सामान्य पुरपार गरेर बीचैमा छाडिने गर्छ ।


ठेकेदारले तत्काल सडक मर्मतको काम नगर्दा समस्या छ । ‘एउटाले खन्ने, अर्कोले पुर्ने, बनाउने, दुईको तालमेल नमिल्दा समस्या छ,’ इन्जिनियर थापाले भने, ‘एक ठाउँ निर्माण गर्दा अर्को ठाउँ झनै बिग्रन्छ, महानगरका थुप्रै सडकमा यस्तो समस्या छ, जसलाई तत्कालै निर्माण गर्न सकिंदैन ।’ मेलम्चीले खन्ने बेला महानगरसग अनुमति लिनुपर्ने नीतिगत सहमति भए पनि हरेक ठाउँमा अनुमति लिन र दिन झन्झट हुने भएपछि भत्काएको बनाउने सर्तमा खन्न दिइएको छ । तर मेलम्चीले छ महिनापछि मात्रै पुनर्निर्माण गरिदिने गरेको महानगर बताउँछ । तत्कालै बनाउँदा जति खर्च लाग्छ ६ महिनापछि बनाउँदा दोब्बर खर्च हुन्छ ।


पिच नगरे पनि ढलान गरेर छाडे यस्तो समस्या निकै कम हुन्छ । सडक विभागका सडकमा भने मेलम्चीले खनेको स्थानमा मर्मतका लागि आयोजनाले आर्थिक सहयोग गरेको कारण विभागले सडक बनाइहाल्छ । जसमा त्यति धेरै समस्या हँुदैन । मेलम्चीले महानगरका अधिकांश स्थानमा पाइप बिच्छ्याइसकेको छ । अब ढल खन्न लागेको छ । भत्काउने र छोड्ने यही ताल हो भने महानगरले बनाउन अनुमति नदिने भएको छ । खनेका ठाउँमा तत्कालै पुनर्निर्माण गर्ने ग्यारेन्टी नभईकन खन्न नदिने भएको हो ।

प्रकाशित : श्रावण १६, २०७५ ०९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?