कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

गुहयेश्वरी सत्तल मापदण्डविपरीत

दामोदर न्यौपाने

काठमाडौँ — गुहयेश्वरीमा पुजारी र सुरक्षाकर्मी बस्न बनाइएका ऐतिहासिक सत्तल पुरातात्त्विक मापदण्डविपरीत छन् । साढे तीनतले सत्तल घटाएर साढेदुई तले मात्रै बनाइएको छ । सत्तलको चौडाइ पनि घटाइएको गुहयेश्वरीका पुजारी अभिषेख कर्माचार्यले जानकारी दिए ।

गुहयेश्वरी सत्तल मापदण्डविपरीत

गुहयेश्वरीमा काठमाडौं, भक्तपुर र ललितपुरका कर्माचार्यले पूजा गर्दै आएका छन् । पुजारी बस्ने व्यवस्था सत्तलमै छ । सत्तलमा तीन कबल छन् । ती तीन कबल भक्तपुर, ललितपुर र काठमाडौंका लागि छुटयाइएका हुन् । पुजारी हरेक महिना फेरिन्छन् । हरेक महिना एउटा कबलमा एउटा जिल्लाका पुजारी बस्छन् । यहाँ २७ पुजारी बस्छन् । एउटा कबलमा ९ पुजारी बस्छन् । ‘साँघुरो भयो अब,’ कर्माचार्य भन्छन्, ‘बस्न समस्या हुन्छ ।’ साँघुरो मात्र होइन, बाहिरी भित्री स्वरुप पनि परिवर्तन गरेको कर्माचार्य बताउँछन् । ‘पहिला पुजारी बस्न भित्र ठूला कबल थिए,’ उनी भन्छन्, ‘अब कबल नभई कोठा जस्ता हुने भए भित्री संरचना पनि । हेर्दै दिक्क लाग्दो छ ।’


यहाँ ४ सत्तल छन् । तीमध्ये उत्तरतिरको सत्तल पुजारीका लागि छुट्याइएको हो । पश्चिमको सत्तलमा देवपाल बस्छन् । दक्षिणको सत्तल पाटका लागि छुट्याइएको छ । उत्तरी सत्तलमा भक्तपुर र काठमाडौंका पुजारी बस्छन् । देवपालको पनि १५/१५ दिनमा पालो पर्छ ।


यो मन्दिर हिन्दु मात्र नभइ बौद्ध धर्मावलम्बी पनि पूजा गर्छन् । वैदिकहरूले दुर्गा, काली र पार्वतीका रूपमा पुज्छन् । बौद्ध धर्म मान्नेले चाहिं नैरात्माका रूपमा पूजा गर्ने चलन छ । यी क्षेत्रको रेखदेख पशुपति क्षेत्र विकास कोषले गर्दै आएको छ । यो सत्तलको पुनर्निर्माण पनि पशुपति क्षेत्र विकास कोषले गरेको हो । कोषका सदस्यसचिव प्रदीप ढकालले गुहयेश्वरी मापदण्डविपरीत बनाएको बारे अनविज्ञता जनाए । ‘मापदण्डविपरीत बनेको छ र ?’ उनले भने, ‘खै मलाई त थाहा छैन ।’ ढकाल कोषको सदस्य सचिव बन्नु पहिला नै (२०७३ सालमा) यसको निर्माण सुरु भएको हो । यी सत्तलमध्ये एउटाको छानो राख्ने काम सकिएको छ । एउटाको छानो राख्ने काम धमाधम भइराखेको छ ।


प्राचीन स्मारक संरक्षण ऐन २०१३ अनुसार सम्पदाजस्तो छ त्यस्तै बनाउनुपर्छ । ‘सम्पदा संरक्षण भनेको जस्तो छ, त्यस्तै आउँदो पुस्तालाई हस्तान्तरण गर्नु हो,’ पुरातत्त्वविद् भीम नेपाल भन्छन्, ‘संरक्षणको सिद्धान्त पनि यही हो । सम्पदा तोडमोड गर्नु भनेको सम्पदाको मूल्यमान्यता विपरीतको काम हो । सम्पदा मास्नु हो ।’


यी सत्तल झन्डै ३ सय वर्ष पुराना हुन् । पुजारी कर्माचार्यका अनुसार यी सत्तलको निर्माण भक्तपुरका राजा भूपतीन्द्र मल्लले बनाएका हुन् । भूपतीन्द्र विसं १७५३ मा २२ वर्षको उमेरमा भक्तपुरका राजा भएका थिए । उनको शासनकालमा भक्तपुरको कलाकृतिको निकै विकास भएको थियो ।


उनको काम भक्तपुरमा मात्रै सीमित थिएन । कर्माचार्यका अनुसार भक्तपुरका प्रधानहरूले उनलाई राजाबाट हटाए । राजाबाट हटेपछि उनी गुहयेश्वरी आएर बसे । त्यही क्रममा यहाँ सत्तल बनाउन लगाए । यहाँबाट सेना लिएर फेरि भक्तपुर गए । मल्लकालमा बनेका बाहेकका सत्तल पनि छन् यहाँ । यी प्राचीन सत्तलको ढोकासमेत सानो बनाइएको छ । २२ महिनामा सक्ने लक्ष्यसहित निर्माण सुरु भएको थियो । तोकिएको समयमा काम पनि सकिएको छैन । ‘हामीसँग निर्माण गर्ने बेलामा छलफलै गरिएन,’ कर्माचार्य भन्छन्, ‘सत्तलको जगमा पनि पुरातात्त्विक मापदण्डविपरीत आधुनिक निर्माण सामग्री प्रयोग गरिएको छ । पहिला जस्तो छ, त्यस्तै बनाउने भनिएको थियो । तर जस्ताको तस्तै बनाइएन ।


एउटा ठेकेदारलाई भत्काउन दिइयो । अर्काेलाई बनाउन दिइयो । यहाँ भएका पुराना सामानसमेत प्रयोग गरिएन ।’

प्रकाशित : श्रावण १८, २०७५ ०८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?