१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

दरबार हाईस्कुल पुनर्निर्माण

कान्तिपुर संवाददाता

काठमाडौँ — भूकम्पले क्षतिग्रस्त दरबार हाईस्कुलको भवन अबको बीस महिनाभित्रै पुनर्निर्माण हुने भएको छ । चीन सरकारको सहयोगमा पुनर्निर्माण सुरु गरिएको छ । विद्यालय भवन पुरानै स्वरूपमा देखिने गरी चार तलाको बनाइनेछ । 

दरबार हाईस्कुल पुनर्निर्माण

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल र नेपालका लागि चिनियाँ राजदूत यु होङले शुक्रबार संयुक्त रूपमा भवन पुनर्निर्माणको शिलान्यास गरे । दुई देशबीच भएको सम्झौताअनुसार ९० करोड १० लाख लागत इस्टिमेट गरिएको छ । सरकारले भौतिक निर्माणमा प्रयोग हुने सामग्री ढुवानीका निम्ति ५० करोड रुपैयाँ लागतको कर छुटको चिठीसमेत पठाइसकेको जनाएको छ ।


विद्यालय पुनर्निर्माण कार्यमा चिनियाँ निर्माण कम्पनी सांघाई कन्स्ट्रक्सन ग्रुपलाई जिम्मा दिइएको छ । उक्त कम्पनीले काठमाडौंको चक्रपथ (रिङरोड) समेत निर्माण जारी राखेको छ । विसं १९४८ मा बनाइएको दरबार हाईस्कुल भवन भूकम्पले जीर्ण बनेपछि गत असारमा भत्काइएको थियो ।


भूकम्पपछि पुनर्निर्माण सहयोग परियोजनाअन्तर्गत नेपाल र चिनियाँ सरकारबीच सहमति भएपछि निर्माण प्रक्रिया अघि बढेको हो । पुरातत्त्व विभागले मापदण्ड स्वीकृति र काठमाडौं महानगरपालिकाले प्राविधिक पक्षमा नयाँ भवनको नक्सा पास गरेको थियो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) ले जनाएअनुसार ‘चिनियाँ सहयोगमा विद्यालय निर्माण आयोजना’ अन्तर्गत निर्माण प्रक्रिया अघि बढेको हो ।


दरबार हाईस्कुलका नाममा साढे ९ रोपनी क्षेत्रफल रहेको छ । सम्झौतापत्रमा उल्लेख भएअनुसार ४ हजार २ सय स्क्वायर मिटर क्षेत्रफलमा ४ तले भवनको नक्सा पास भएको छ । त्यसमा ४० वटा कक्षाकोठा बन्नेछन् । शिक्षा आयोजना निर्देशक इमनारायण श्रेष्ठका अनुसार उक्त भवन २० महिनामा निर्माण सम्पन्न हुनेछ ।


प्रकाशित : श्रावण १८, २०७५ २१:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?