कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

अनुसन्धानमै बित्यो एक वर्ष

प्रशान्त माली

ललितपुर — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साझा प्रकाशनको अनियमितताबारे थालेको छानबिन वर्षदिनमै टुंगिएन । आयोगमा साझाका कर्मचारीले संस्थामा भएको भ्रष्टाचार छानबिन गरी कारबाही गर्न माग गरेर गत वर्ष साउनमा उजुरी दर्ता गरेका थिए ।

अनुसन्धानमै बित्यो एक वर्ष

आयोगको टोलीले तत्कालै साझाको आर्थिक र उत्पादन कारोबारसम्बन्धी सम्पूर्ण फाइल अनुसन्धानका लागि लगेको थियो ।

साझाका कर्मचारीले अख्तियारले छानबिन आलटाल गरेको आरोप लगाए । ‘साझाका बारेमा शिक्षा मन्त्रालय र सार्वजनिक लेखा समितिले गरेको अनुसन्धान पनि टुंगिएको छैन,’ एक कर्मचारीले भने, ‘चाँडै अनुसन्धान टुङ्ग्याएर भ्रष्टाचार मुद्दा दायर गरी कारबाही गर्ने भनेका थिए ।’ कर्मचारीले कार्यालय परिसरमा संस्थाको कुनै पनि अन्तिम निर्णय शिक्षा मन्त्रालयले मात्र गर्न पाउने व्यवस्था गर्न, डोलिन्द्रप्रसाद शर्माले तत्काल महाप्रबन्धक पदबाट राजीनामा दिनुपर्ने भन्दै शुक्रबार पनि नाराबाजी गरे । शिक्षा मन्त्रालयले चाँडै ‘प्रकाशन सञ्चालन कार्यव्यवस्था नियमावली’ जारी गर्नुपर्ने कर्मचारीले माग गरेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता रामेश्वर दंगालले साझाको फाइल अनुसन्धानकै क्रममा रहेकाले अहिले केही भन्न नसकिने बताए । ‘छानबिन भइरहेको छ,’ उनले भने । कर्मचारीले महाप्रबन्धक शर्माविरुद्ध अख्तियारमा अर्थ मन्त्रालयले २०७१ मा दायित्व नबढाउन भनी दिएको निर्देशन विपरीत ८८ जनाभन्दा बढी कर्मचारी नियुक्त गरेकोलगायत ११ बुँदे उजुरी दर्ता गरेको थियो । ‘शर्माको संस्था प्रवेश नै साझा प्रकाशन कर्मचारी प्रशासन नियमावलीविपरीत छ,’ ती कर्मचारीले भने ।

कर्मचारीका अनुसार शर्माकी श्रीमतीको नाममा रहेको अक्सफोर्ड पब्लिकेसन र समिसम प्रकाशन नामक संस्था शर्माकै रहेको र समान प्रकृतिको संस्थाका सञ्चालक साझा प्रकाशनमा पदाधिकारी बन्नु नियमवालीविपरीत छ । कर्मचारीहरूले मन्त्रालयको निर्देशनविपरीत भर्ना गरिएका कर्मचारीलाई भुक्तानी गरिएको तलब तथा अन्य सुविधासमेत महाप्रबन्धकबाट असुलउपर गर्नसमेत माग गरेका छन् ।

संस्थाको मुख्य आम्दानीको स्रोत कक्षा ११ र १२ को पाठ्यपुस्तक ‘सबैको नेपाली’ छपाइबाट हुने हो । महाप्रबन्धक शर्माले ०७२ मा उक्त कक्षाको पाठ्यपुस्तक छाप्न सम्झौता अर्कैको नाममा गरी मुद्रण भने आफ्नै प्रेस समिसम मुद्रणालयबाट गरेका थिए ।

एक लाख थान मुद्रण गर्न लगिएको भए पनि ३८ हजार थान मात्र संस्थामा पाठ्यपुस्तक ल्याई बाँकी अक्सफोर्ड र गणेश इन्टरनेसनल संस्थाबाट बिक्रीवितरण गरेको आरोप छ । यसले राष्ट्रिय परीक्षा बोर्ड र लेखकले पाउनुपर्ने १०/१० प्रतिशत रोयल्टी भुक्तानी हुँदा कट्टा हुने १५ प्रतिशत आयकरमा ठगी भएको र यसबाट शर्माले करोडौं रुपैयाँ अवैध आम्दानी गरेको कर्मचारीको ठम्याइ छ । उनीहरूले यसले साहित्यिक सिर्जनाको प्रतिलिपि अधिकारसमेत हनन भएको बताएका छन् ।

उजुरीमा महाप्रबन्धक शर्माले ०७३ मा आफ्नो समिसम मुद्रणालयलाई कथित रूपमा बेचेको र अल्पाइन अफसेट प्रेसको थोत्रो वेभ मेसिन प्रक्रिया नपुर्‍याई भाडामा लिएका थिए । २०७४ मा काठमाडौं, ललितपुर, भक्तपुर, धादिङ, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछापलगायत जिल्लाका लागि ५ हजार थान पुस्तक पाठ्यपुस्तकको हिज्जे परिवर्तन गरिएको थियो । उक्त पुस्तक कुनै पनि बिक्री भएको थिएन ।

तर, बजारमा जतासुकै पाइन्छ, जुन अवैध रूपमा शर्माकै प्रेस र पसलबाट बिक्री गरिएको उल्लेख छ । साझाको पुल्चोकस्थित केन्द्रीय कार्यालय परिसरको जग्गा सहकारी बैंकको लिलामबाट बचाउन सरकारबाट ३० करोड रुपैयाँ दिएको थियो । तर, उक्त रकममध्ये १४ करोड रुपैयाँबाहेक बाँकी रकम मनोमानी ढंगले खर्च गरेको अरोप छ । साझाका आफ्नै छापाखाना र कम्प्युटर छन् । लेखकहरूबाट पाण्डुलिपि टाइप भएर प्राप्त हुने नियम छ । तर, कम्प्युटर टाइपिङ, प्रुफिङको नाउँमा लाखौं रुपैयाँ भुक्तानी भएको भनी छानबिन गर्न कर्मचारीले माग गरेका छन् ।

त्यस्तै संस्थामा लेखा, प्रशासन, छापाखानालगायतका केन्द्रीय विभागमा महाप्रबन्धकपछि २ जना वरिष्ठ अधिकृत द्वितीय तहका कर्मचारी छन् । आर्थिक अनियमितता गर्न स्थायी कर्मचारी हँुदाहुँदै पनि करारमा नियुक्त गरेकाहरूलाई जिम्मेवारी दिएको र करोडौं रकम पर्ने जिन्सी सामान भएको शाखा प्रमुखमा पनि आफूनिकट कर्मचारी नियुक्त गरी जिम्मेवारी दिई रकम हिनामिना गरेको आरोप लागेको थियो ।

सार्वजनिक खरिद ऐनविपरीत बिना टेन्डर कागज खरिद, आफू संलग्न रहेको अल्पाइन अफसेट प्रेसबाट वेभ छपाइ मेसिन भाडामा लिएको र उक्त मेसिन सञ्चालनको हिसाब पनि पारदर्शी नभएको कर्मचारीको आरोप छ ।

प्रकाशित : श्रावण २१, २०७५ ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?