कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

दुर्घटना गराउँदै, उन्मुक्ति पाउँदै

दीपेन्द्र विष्ट

काठमाडौँ — सोविन्द तामाङले चलाएको माइक्रोबसले ठक्कर दिँदा ३ वर्षअघि नयाँ बसपार्कमा ४ वर्षीय पैदलयात्री अनुष तामाङको मृत्यु भयो । प्रहरी विवरणमा दुर्घटनाको कारण चालकको लापरबाही भन्ने प्रस्ट छ ।

दुर्घटना गराउँदै, उन्मुक्ति पाउँदै

तिनै सोविन्दले ट्राफिक अनुशासन उल्लंघन गरेबापत २७ पटक जरिवाना तिरे । तर, गाडी चलाउने सरकारी अनुमति भने पाइरहे । हिलटेक कम्पनीको नाममा रहेको को१क १८९ नम्बरको बसका चालकले ५० पटक ट्राफिक नियम उल्लंघन गरे । उनी कहिले लेन अनुशासन मिचेको त, कहिले फरक किसिमका हेलचेक्र्याइँ गरेको अभियोगमा कारबाहीमा परे । चालक फेरिए पनि बस चलाउने तरिका फेरिएन । जो आए पनि कारबाहीमा परिरहे ।

अर्जुन सेवाले चलाएको माइक्रोबसले किच्दा २ वर्षअघि चिकित्सकद्वय सन्दीप सुवेदी र सोनी आनन्दको मृत्यु भयो । नयाँ बानेश्वरस्थित विद्या संस्कार विद्यालयको विद्यार्थी बोकेको बा१य ४३ नम्बरको हरियो प्लेटको माइक्रोबस अचानक ब्रेक फेल भएर दुर्घटना भएको थियो । यसमा ३ किसिमका कमजोरी भएका थिए, पर्यटक बसमा विद्यार्थी बोक्नु, अति जीर्ण गाडी चलाउनु र पटकपटक ट्राफिक नियम उल्लंघन गर्ने चालक हुनु ।

प्रहरी प्रतिवेदनअनुसार अर्जुन सेवाले लाइसेन्स लिएको ९ वर्षमै साना–ठूला गरी २६ दुर्घटना गराए । २०६३ मा वाग्मती अञ्चल यातायात कार्यालयबाट लाइसेन्स लिएको केही महिनामै उनले ठक्कर दिए र जरिवाना तिरेर निस्के । ट्राफिक प्रहरी महाशाखाका अनुसार लाइसेन्स लिएको ६ महिनाभित्र उनले ३ पटक जरिवाना तिरिसकेका थिए । २०६७ मा उनले १० पटकभन्दा बढी जरिवाना तिरे । २०७२ मा मात्र ५ पटक जरिवानामा परे । उनले २०६५ मा तनहुँको घाँसीकुवामा गाडी दुर्घटना गराउँदा एक जनाको मृत्यु भयो । पुर्पक्षका लागि थुनामा रही छुटेको केही महिनामै उनले पुन: गल्ती गरेर जरिवाना तिरे ।

५ वर्षअघि बौद्धमा विष्णुबहादुर बलले चलाएको माइक्रोबसको ठक्करले मोटरसाइकल चालक भक्तबहादुर विकको घटनास्थलमै मृत्यु भयो । बल २० पटक कारबाहीमा परिसकेका व्यक्ति हुन् ।

बा१ज ९७६ नम्बरको ट्याक्सी चालक अष्टनारायण महर्जन ३४ पटक, बा२ख ९५ नम्बरको गाडीका चालक प्रकाश आचार्य ४२ पटक कारबाहीमा परे । यसरी पटकपटक दुर्घटना गरेर पनि चालकले तुरुन्तै उन्मुक्ति पाउने गरेका छन् । ‘जतिसुकै ठूलो दुर्घटना भए पनि चालक सजिलै उम्कने गरेका छन्,’ महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख वसन्त पन्तले भने, ‘तत्काललाई पक्राउ गरेर मुद्दा चलाएपनि अदालतबाट छिट्टै उन्मुक्ति पाउँछन्, केही समयपछि त्यही चालकले गाडी चलाउन थालेको भेटिन्छ ।’

प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष २०७४/७५ मा उपत्यकामा हरेक दिन १७ सवारी दुर्घटना हुने गरेका छन् । चालकको लापरबाही, तीव्र गति, मादक पदार्थ सेवन, यान्त्रिक गडबडी, नियमविपरीत ओभरटेक, पैदलयात्रीको लापरबाही, सडकको अवस्था र मौसम तथा चौपायाका कारण सवारी दुर्घटना बढ्दै गएको हो ।

अधिकांश दुर्घटना चालकको लापरबाहीका कारण हुने गरेको प्रहरीको भनाइ छ । पछिल्लो समय सडकको दुरावस्थाका कारण पनि सवारी दुर्घटना बढेको छ । ‘चालकले ओभर कन्फिडेन्टमा गाडी हाँक्छन, तर सडकको अवस्था नाजुक छ,’ एक प्रहरी अधिकारीले भने, ‘सडकको अवस्था नबुझेरै गाडी हाँक्दा पनि दुर्घटना बढेका छन् ।’ चालकको लापरबाहीले ६ हजार ३ सय ८१, तीव्र गतिले ७१, मादक पदार्थ सेवनले २ सय २१ र यान्त्रिक गडबडीले गर्दा ४४ दुर्घटना भइसकेका छन् ।

‘दक्ष चालक पनि छैनन्, जभाभावी गाडी चलाउँछन, दुर्घटना गर्छन्, प्रहरीले कारबाही गर्छ, अदालत पठाउँछ, केही समयपछि नै अदालतले छाडिदिन्छ,’ उनले भने, ‘त्यस कारण त्यस्ता चालकको मनोबल बढेको पाइन्छ ।’ सडक विभागका प्रवक्ता तुलसीराम अर्यालले अस्वस्थ प्रतिस्पर्धाका कारण चालकले जथाभावी गाडी चलाउँदा दुर्घटनाको अनुपात बढेको बताए ।

लाइसेन्स तत्काल खारेज गरी निश्चित अवधिपछिमात्र नयाँ लाइसेन्स लिन पाउने कानुन बनाउनुपर्ने उनले बताए । ‘कानुन कडा बनाउनुपर्छ,’ उनले भने, ‘नत्र लापरबाहीपूर्वक चलाउने चालकको मनोबल बढ्छ ।’ ओभरटेक गर्दा २९, पैदलयात्रीको लापरबाहीले ३, सडक अवस्थाका कारण ४८, मौसम तथा चौपायाका कारण ४ सवारी दुर्घटना भएका छन् ।

प्रकाशित : श्रावण २१, २०७५ ०८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?