कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चीनबाट अनुदानका दुईवटा ब्रुमर भित्र्याइदै

विद्या राई

काठमाडौँ — चीनको अनुदानमा सडकको धुलो सफा गर्न प्रयोग हुने दुईवटा ब्रुमर काठमाडौं महानगरपालिकामा भित्र्याउने तयारी भइरहेको छ ।

चीनबाट अनुदानका दुईवटा ब्रुमर भित्र्याइदै

छेङ्दु नगरले प्रधानमन्त्री केपी ओली चीन भ्रमणमा गएका बेला बु्रमर दिने प्रतिबद्धता गरे अनुरुप महानगरमा उक्त ब्रुमर भित्र्याउन लागिको हो ।


ती ब्रुमर चीनबाट आगामी दुई महिनामा काठमाडौं ल्याउने तयारी भएपनि साँचो भने हस्तान्तरण भइसकेको छ ।

छेङ्दु नगर एसोसियसनका कार्यकारी उपाध्यक्ष जियाङ बिनले ब्रुमरको साँचो महानगरको वातावरण व्यवस्थापन विभागका प्रमुख हरिबहादुर कुँवरलाई यसअघि नै हस्तारण गरिसकेका छन् ।


महानगरलाई प्राप्त हुन लागेका ब्रुमर युरो मापदण्ड ४ का हुन् । बु्रमर ८ दशमलव ६ मिटर लम्बाइ र ३ दशमलव ५ मिटर चौडाईका छन् । तौल १५ दशमलव ८ मेट्रिक टनका छन् ।

धुलो र कसिंगार संकलन गर्न सकिने बु्रमर आधुनिक प्रविधिका छन् । ७ घनमिटर धुलो संकलन गर्न सक्ने क्षमताका छन् । उही अनुपातमा पानी बोक्ने क्षमता पनि रहेको महानगरको वातवरण शाखाले जनाएको छ ।


सडक बढार्नुअघि पानी छम्केर धुलो नउड्ने बनाएपछि धुलो र कसिंगार संकलन गर्न सकिन्छ । बु्रमर ९८ किलोमिटर प्रतिघण्टा गतिको छ । तर सडकको अवस्था र फोहोरको मात्रा हेरेर प्रति घण्टा ३ देखि ५ किलोमिटरसम्म सडक सफा गर्न सक्ने महानगरको वातावरण व्यवस्थापन विभागका प्रमुख कुँवरले बताए ।


ब्रुमर ल्याएपछि काठमाडौंका मुख्य सडक, एयरपोर्टखण्ड, सिंहदरबार क्षेत्र, चक्रपथ, आन्तरीक सडकहरु सफा गरिने भएको छ ।

हाल महानगरसँग भएको एउटा बु्रमरले काम चलाइरहेको कुँवरले बताए । महानगरका जम्मा तीनवटा ब्रुमर मध्ये दुईवटा काम नलाग्ने भएर थन्किएका छन् ।


ती पनि चीनबाटै अनुदानमा प्राप्त भएका थिए । बाँकी एउटा बु्रमर घाम लागेका बेला सडक सफा गर्न प्रयोग हुँदै आएको छ । पानी परेका बेला सडक हिलो हुने भएका कारण सफा गर्न मिल्दैन ।


महानगरपालिकाले बु्रमरको आवश्यकता पहिचान गरेर थप पाँचवटा बु्रमर पनि खरिद गर्दैछ ।

सडकमा धुँवाधुलोको मात्रा बढ्दै गएपछि कम गर्न सफाइका लागि ब्रुमर खरिद गर्न लागेको हो । यसपछि महानगरमा चालू अवस्थाका ८ वटा बु्रमर हुनेछन् ।


महानगरका प्रवक्ता ज्ञानेन्द्र कार्कीका अनुसार ११ करोडको लागतमा पाँचवटा बु्रमर किन्न अर्थ मन्त्रालयले ९ करोड रुपैयाँ निकासा दिएको छ । थप रकम महानगरले जुटाएको छ । ती बु्रमर पनि आगामी दुईमहिनाभित्र काठमाडौं ल्याइदैछन् ।

यहाँका सडक सफा गर्न उपयुक्त हुने खालको ब्रुमर किन्नका लागि सडक विभाग र थापाथली इन्जिनियरिङ क्याम्पसको मेकानिक डिपार्टमेन्टसँग प्राविधिक अध्ययन गरेको थियो ।


सवारीसाधनको चाप, मेलम्ची खानेपानी विस्तार, सडक निर्माण तथा मर्मतका क्रममा काठमाडौंका अधिकांश सडक धुलाम्मे छन् । यहाँका सडक घाम लाग्दा धुलाम्मे र पानी पर्दा हिलाम्मे हुने कारण काठमाडौंबासीलाई सास्ती छ । धुँवाधुलोकै कारण वायुप्रदुषण पनि बढ्दै गएको छ ।


हाल महानगरसँग भएको एउटा बु्रमरले मात्र सडक सफा गर्न पर्याप्त नभएपछि कुचोले बढारेर धुलो सफा गर्ने र ट्याङ्करको पानीले सडक सफा गर्दै आएको छ ।

महानगर भवन रहेको बागदरबार क्षेत्र, लैनचौर, रत्नपार्क, जमल, पुरानो बसपार्क, पुतलीसडक चोक, त्रिचन्द्र कलेज आसपास र भद्रकालीबाट एक हजार ६०० टन धुलो र फोहर संकलन गर्दै आएको छ ।

प्रकाशित : श्रावण २२, २०७५ १९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?