कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

भीभीआईपी उपचार कक्ष सुनसान

फातिमा बानु

काठमाडौँ — ढोकैदेखि रातो कार्पेट ओछ्याइएको । भित्तामा आकर्षक रङ र बुट्टेदार पेन्टिङ । एसी जडान गरिएको सुविधासम्पन्न, सफासुग्घर र चिटिक्क उस्तै । देशका भीभीआईपी तहका बिरामीका लागि बनाइएको ६ कोठे उपचारकक्ष राजधानीका पाँचतारे होटलका कोठाभन्दा कम सुन्दर छैन ।

भीभीआईपी उपचार कक्ष सुनसान

औषधि, भेन्टिलेटर, अक्सिजन लगायत उपचारका लागि आकस्मिक आवश्यक सबै पूर्वाधार तयारी अवस्थामै ।


वीर अस्पतालको यो उपचार कक्ष हरेक दिन तयारी गरिन्छ । तयारीका दैनिक मेहनत र लगानी खर्चिए पनि २६ वर्षदेखि प्रयोगविहीन छ । हालसम्म कुनै भीभीआईपीले उपचार गराएको अस्पतालको रेकर्डमा छैन । देशका प्रधानमन्त्री, न्याय प्रमुख, अख्तियार प्रमुख, सभामुख, राष्ट्रपति र उपराष्ट्रपति लगायतका विशिष्ट व्यक्तिका लागि बनाइएको कक्षमा हालसम्म एक भीभीआईपी बिरामीले पनि उपचार गरेका छैनन् ।


तत्कालीन राजपरिवार सदस्यका निर्माण गरिएको (रोयल स्विट) कक्षलाई अस्पतालले पछिल्लो पटक नेपालमा आयोजित सार्क शिखर सम्मेलनताका विशिष्ट पाहुनाका लागि भीभीआईपी उपचार वार्डमा परिणत गरेको थियो, २० लाख रुपैयाँ खर्चेर । नेपालमै सम्भव हुने उपचारका लागि पनि धेरैजसो भीभीआईपी र भीआईपी राज्यको चर्को खर्चमा विदेश वा नेपालकै निजी अस्पताल धाउँछन् । उनीहरूका लागि तयार गरिएको सुविधासम्पन्न उपचार कक्ष सुनसान छ ।


कक्षको प्रमुख कोठामा भीभीआईपीका लागि बिरामी बेड, कुरुवा बस्ने सोफा, औषधिलगायत दैनिक प्रयोगका सामान राख्ने दराज छन् । ‘अट्याच’ बाथरुमको पनि व्यवस्था छ । खाना पकाउनका लागि भान्साकोठा पनि छ । भान्साकोठामा भाँडाकुँडा, ग्यास, फ्रिज पनि छन् । लामो समयसम्म प्रयोगमा नआएकै कारण ग्यास र फ्रिज बिग्रिएका छन् । ती सामान मर्मतसम्भारका लागि दिइएको भीभीआईपी र भीआईपी वार्डकी इन्चार्ज सीता अर्यालले बताइन् । उनले भनिन्, ‘विद्युतीय सामान बिग्रिरहन्छ, प्रयोगमा नआए पनि बनाउन दिन्छौं ।’ कक्षका सबै कोठा दैनिक दुई पटक सरसफाइ गरिने उनले बताइन् । आवश्यक परे जस्तोसुकै सेवा पनि उपलब्ध हुने उनले बताइन् ।


कक्षमा भीभीआईपी बिरामीका लागि मात्रै सुविधा छैन । कुरुवा र भेट्न आउने आगन्तुकका लागि पनि विशेष सुविधा छ । भेट्न आउँदा पर्खिनका लागि विशिष्ट आगन्तुक कक्ष, आफन्त बस्ने कक्ष, सुरक्षाकर्मी कक्ष र डाक्टर/नर्सका लागि पनि छुट्टै कक्षको व्यवस्था पनि छ । सुरक्षाकर्मी, सहयोगी र चिकित्सक कक्षमा समेत सोफालगायत विभिन्न फर्निचर राखिएका छन् ।


चिकित्सक टोली र नर्सिङ टोलीका लागि छुट्टाछुट्टै कक्ष छन् । भान्सा र आगन्तुकका लागि निर्माण गरिएको शौचालयसमेत वार्डभित्रै छ । आईसीयू स्तरको बिरामी बेडमा विशेष बेडसाइड मनिटर पनि छ । यसबाट बिरामीको मुटुको चाल, श्वासप्रश्वास, तापक्रम र प्रेसर नापिन्छ । बिरामी आइहाले उपचारका लागि जनशक्ति पनि तयारी अवस्थामा छन् ।


भीभीआईपीसँगै अस्पतालमा भीआईपी उपचार कक्ष पनि छ । देशका मन्त्री, पूर्वप्रधानमन्त्री, सभासद् र राजनीतिक दलका नेता भीआईपी हुन् । कक्षबाट उपचार सेवा लिएबापत दैनिक तीन हजार बेड शुल्क लाग्छ ।


यो कक्षमा एउटा मात्रै कोठा छ । सबै सुविधा छन् । कुरुवाबेड, फोन र भान्सा पनि छ । भीआईपी कक्ष बिरलै मात्रै प्रयोगमा आउने गरेको अस्पतालका निर्देशक डा. भूपेन्द्रकुमार बस्नेतले बताए । यो कक्षबाट हालसम्म नौ जनाले मात्रै उपचार लिएको अस्पतालको तथ्यांक छ । पछिल्लो पटक पूर्वसभासद तारानाथ रानाभाटले यहाँबाट उपचार लिएका थिए । अघिल्लो वर्ष शिक्षामन्त्री गिरिराजमणि पोखरेलले भीआईपी कक्षबाट उपचार लिएका थिए । सात दिन बसेरे २१ हजार तिरेको अस्पतालको रेकर्ड छ ।


प्रकाशित : श्रावण २३, २०७५ ०७:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?