गथांमुग: मनाइयो

लीला श्रेष्ठ

भक्तपुर — नेवार समुदायले साउन कृष्ण चतुर्दशीका दिन बिहीबार धुमधामका साथ गथांमुग:(घण्टाकर्ण) पर्व मनाएका छन् ।

गथांमुग: मनाइयो

यस पर्वमा विशेष गरी घर/घरमा भूत पन्छाउने गरिन्छ । यस दिन बिहानै घर नजिकको महादेव मन्दिरबाट ल्याएको जलले अभिषेक गर्ने प्रचलन रहँदै आएको छ ।

घर, परिवारलाई भूतप्रेतबाट मुक्त गर्न नेवार समुदायले घरघरबाट बौ वाय् ज्या (भूत पन्छाउने) गर्छन् । बौ वाय् ज्या मा काँचो माटोको सानो दहीको कटारोमा कर्कलो, धुस्वाँ, बौ स्वाँ, आरुको बोटको हाँगा सहितको छ्वाली बालेर छ्वास (दोबाटो) वा चौबाटोमा लगेर राखिन्छ ।


गथांमुग: कै दिन घरको मूल ढोका र मुख्य निदालमा पंचरंगी मयूरको प्वाँख र तीन खुट्टे फलामको किला ठोक्ने चलन छ । यसले घरमा भूतप्रेत पस्न सक्दैन भन्ने जन विश्वास छ । गथांमुग: को दिन फलाम वा तामाको औंठी लगाउने चलन छ ।


टोल/टोलमा नर्कट र छ्वालीको मानवाकृतयुक्त राक्षसको प्रतिक बनाई साँझपख नजिक तथा खोलामा लगेर जलाइन्छ । त्यसपछि घर/घरबाट छ्वालीको चिराग बालेर छ्वास वा चौबाटोमा लगेर सेलाइने प्रचलन छ ।


१४ औँ शताब्दीमा गोपाल राजवंशीमा गथांमुग: मनाएको उल्लेख भए अनुसार परापूर्वकालदेखि नै गथांमुग: पर्व मनाउन थालेको संस्कृतिकर्मी ओम द्यौभडेलले बताए । गथांमगु:का दिन वर्षौँदेखि दु:ख दिने राक्षसलाई समातेर दिनभर चोकमा उभ्याएर साँझपख खोलामा लगेर फालिएको सम्झनामा घण्टाकर्ण पर्व मनाउँदै आएको उनी बताउँछन् ।


गथांमुग: पर्वलाई नेवार समुदायले वर्षको पहिलो चाडको रुपमा मनाउने प्रचलन छ । गथांमुग:को दिनदेखि देवी/देवताहरू धर्तीमा सिद्ध हुने भएकाले महादेवको परमभक्त राक्षस घण्टाकर्णलाई नदी नालामा सेलाएर घरपरिवारलाई भूतप्रेतबाट जोगाउने चाडको रुपमा मनाउने परम्परा रहेको उनले बताए ।

तस्बिरहरुः इलिट जोशी/कान्तिपुर

प्रकाशित : श्रावण २४, २०७५ १९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?