१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

टिपर आतंक अनुसन्धान भएन

प्रशान्त माली

ललितपुर — नुवाकोटकी कुमारी विश्वकर्मा बालुवा चाल्ने गर्थिन् । उनकी श्रीमान् काजीमान इँटा ओसार्ने । श्रीमान्/श्रीमती मिलेर राजधानीमा घर बनाउने ठाउँमा निर्माण सामग्री ओसार्ने ठेक्का लिने गर्थे । त्यहाँबाट हुने आम्दानीले घर खर्च चलाउँथे ।

टिपर आतंक अनुसन्धान भएन

पछिल्लो समय दम्पतीले जोडेको रकम र केही सापटी गरेर नख्खु खोलामा टहरा बनाए । उनीहरूको दैनिक गुजारा राम्रै गरी चलिरहेको थियो ।

एक्कासि थसिलेखमा मंगलबार साढे ९ बजे बाटो काट्ने क्रममा विदुर नगरपालिका–१२ की ३६ वर्षीया कुमारीलाई सातदोबाटोबाट एकान्तकुना जार्दै गरेको टिपरले ठक्कर दियो । दाया खुट्टामा गम्भीर चोट लागेको उनको अस्पतालमा मृत्यु भयो । अहिले काजीमान भावविह्वल अवस्थामा छन् । भन्छन्, ‘हाम्रो कुरा सुन्ने हाम्रो लागि बोलिदिने कोही छैनन् ।’ घटनाको चार दिन बितिसक्यो । प्रहरीले अहिलेसम्म टिपर र चालक नियन्त्रणमा लिन सकेका छैनन् । ‘गुनासो गर्दा प्रहरीको काम एउटै मात्र खोजीनीति गर्ने हँुदैन भनी जवाफ फर्काउँछ,’ उनले भने, ‘प्रहरीले घटनालाई ढिसमिस गर्न खोजियो ।’

मृतकको लास पाटन अस्पतालमा राखिएको छ । आफन्तले लास बुझ्न मानेका छैनन् । ‘प्रहरी चाहन्छन् लास जलाइयोस्,’ उनले भने, ‘तर, हामी क्षतिपूर्ति नपाएसम्म लास बुझ्दैनौं ।’ विश्वकर्मा दम्पतीको ३ छोरा १ छोरी छन् । छोरी हीरा एकान्तकुनास्थित महेन्द्र भृकुटी विद्यालयको कक्षा ७ मा पढ्छन् । ११ वर्षी कान्छा छोरा विजय कक्षा ४ मा पढ्छन् । आर्थिक अवस्था कमजोर भएका कारणले १६ वर्षीय जेठा छोरा अनिल र १४ वर्षीय माइलो सुनील पढाइ छोडेर वाइरिङको काम सिक्दै छन् ।

अस्पतालमा लास राखेबापत दैनिक एक हजार रुपैयाँ बुझाउनुपर्छ । अहिले हामीसँग अस्पताललाई तिर्ने पैसासमेत छैन । काजीमानका भाइ अष्टबहादुर भन्छन्, ‘थसिखेलमा प्रहरीको सीसी क्यामरा छ रे । तर, हेर्न मानेका छैनन् ।’ उनले राजधानीमा सातामा एक जना टिपरको सिकार हुने गरेको बताए ।

‘चालकलाई दुईचार दिन थुनिन्छ । १/२ लाख तिरेर निस्कन्छ । फेरि चलाउँछन्,’ उनले भने, ‘कडा नियम बनाएर लागू नगरेसम्म टिपर आंतक रोकिँदैन ।’ उनले रोडा, ढुंगा, बालुवाका ठेकेदार, प्रशासन, व्यापारी र नेताको सिन्डिकेटको अन्त्य नभएसम्म दुर्घटनामा कम नआउने बताए । ‘ठेकेदारलाई ढुंगा बेच्नुपरेको छ । व्यापारीलाई सुरक्षा चाहिएको छ । प्रशासनलाई कमिसन लोभ छ । नेतालाई चन्दा चाहिएको छ,’ उनले भने, ‘यिनीहरू मिलेमतो हुन्जेलसम्म टिपर आतंकको रोकिँदैन ।’

महालक्ष्मीस्थानमा बाटो काट्ने क्रममा तीन महिनाअघि ५७ वर्षीय फुर्मामंगल शेर्पालाई ठक्कार दिँदा उपचारको क्रममा मृत्यु भएको थियो । एकान्तकुनामा चार महिनाअघि ना६ख २७८० नम्बर ट्रकको ठक्करबाट सरला मिश्रको घटनास्थलमा मृत्यु भयो । मिश्र कुसुन्तीबाट बा६७प ४०८३ नम्बरको मोटरसाइकलमा सवार थिए । टिपरको ठक्करबाट मृत्यु हुनेको संख्या वृद्धि भएपछि गृह मन्त्रालयले उपत्यकाका तीनै प्रमुख जिल्ला अधिकारीलाई राति ८ बजेदेखि बिहान ५ बजेसम्म मात्रै टिपर चलाउने व्यवस्था मिलाउन निर्देशन दियो । ‘गृह मन्त्रालयले अझै टिपरलाई व्यवस्थित बनाउनुपर्ने देखिन्छ,’ अष्टबहादुरले भने ।

महानगरीय प्रहरी परिसर जावलाखेल एसएसपी गणेश ऐरले ठक्कर दिने टिपर र चालकको खोजी भइरहेको दाबी गरे । ‘हामीले घटनालगत्तै अनुसन्धान थालेका छौं,’ उनले भने, ‘जसरी भए पनि पक्राउ गरिनेछ ।’ उनले टिपर आतंक कम गर्न छलफल भइरहेको बताए । ‘सरोकारवाला निकायहरूसँग बसेर योजना बनाउनेक्रममा छौं,’ उनले भने ।

जेब्राक्रसिङ र फुटपाट नहुँदा पनि दुर्घटना
चक्रपथ सडक बनाउन नेपाल र चिनियाँ सरकारबीच भएको सम्झौतामा साइकल लेन, फुटपाथ, ८ लेन सडकको बीचमा मिडियन रहने व्यवस्था छ । चिनियाँ ठेकेदार कम्पनी संघाई कन्स्ट्रक्सन ग्रुपले बनाएको सडकमा साइकल लेन, मिडियन राखिएको छैन । कतै त फुटपाट पनि छैन । यसले पनि दुर्घटना बढेको ललितपुर ट्राफिक प्रहरीको भनाइ छ । सातदोबाटोमा बस स्टप राखिएको छैन । ग्वार्कोबाट आउने सावजनिक बस सडकमै राख्नुपर्छ । ललितपुर ट्राफिक प्रहरी प्रमुख सीताराम हाछेथु भन्छन्, ‘चक्रपथको स्पिड ५० किमि प्रतिघण्टा तोकिएको छ । गतिअनुसारको सुरक्षा व्यवस्था अपनाइएको छैन । यसले पैदल र साइकलयात्रु जोखिम मोलेर यात्रा गर्न बाध्य छन् ।’

कोटेश्वर–कलंकी १७ किमि सडकमा तीनवटा मात्र आकाशेपुल मात्र राख्ने गरी डिजाइन गरिनु, हरित क्षेत्र र जेब्राक्रसिङ पर्याप्त नराखिनु दुर्घटना बढ्नुको कारण रहेको हाछेथुको भनाइ छ । यस सडकखण्डमा ६ महिनायता ९ जनाले ज्यान गुमाइसकेका छन् । धेरै सर्वसाधारण अंगभंग भइसकेका छन् । सडक विभाग प्रवक्ता मुक्ति गौतमले पैदल, साइकलयात्रुको दुर्घटना कम गर्न अध्ययन भइरहेको दाबी गर्छन् । ‘सडक निर्माणाधीन अवस्थामा छ,’ उनले भने, ‘सम्पन्नपछि दुर्घटनामा कमी आउनेछ ।’

टिपरले बोक्ने निर्माण सामग्री अवैध
टिपरले बोक्ने ढुंगा, गिट्टी, बालुवा र माटो गोदावरी नगरपालिका र वाग्मती गाउँपालिकामा उत्पादन हुन्छ । नल्लु क्षेत्रमा सञ्चालित ढुंगा खानी तथा क्रसर र भट्टेडाँडामा सञ्चालित बालुवा खानी मापदण्डविपरीत छन् । संसद्को प्राकृतिक स्रोत/साधन समितिले ६ वर्षअघि नल्लु क्षेत्रको ढुंगा खानी बन्द गर्न र नख्खु खोलाको बहाव क्षेत्रको अतिक्रमण संरक्षण गर्न निर्णय पनि गरेको थियो ।

अहिले व्यवसायीले सञ्चालन स्वीकृति पनि लिएका छैनन् । बिनास्वीकृत उद्योगहरूबाट उत्पादित निर्माण सामग्री टिपरले नख्खु करिडोर, चापागाउँ सडक हुँदै चक्रपथ पुर्‍याएर दैनिक हजारौं टिप सहरका विभिन्न स्थानमा पुर्‍याइरहेका छन् । तैपनि नियमन गर्ने सबै निकाय मौन छन् । महानगरीय प्रहरी परिसर जावलाखेलका एसएसपी ऐरले यसबारेमा आफूलाई जानकारी नभएको दाबी गरे ।

प्रकाशित : श्रावण २७, २०७५ ०७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?