बिहानै बज्यो गुँला बाजा

प्रशान्त माली

काठमाडौँ — नेवार समुदायले मनाउने गुँला पर्व आइतबारबाट सुरु भएको छ । श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म हिनयान, महायान र बज्रयान तीनै समुदायका बौद्ध अनुयायीले भगवान् बुद्धप्रति आस्था प्रकट गर्दै एक महिनासम्म गुँला पर्व मनाउने गरिन्छ ।

बिहानै बज्यो गुँला बाजा

विशेषगरी नेवार समुदायका बौद्ध धर्मावलम्बीले गुँला पर्व मनाउने गर्छन् । शाक्यमुनि गौतम बुद्धले बुद्धत्व प्राप्त गरेको पवित्र महिनाको रूपमा एक महिनासम्मको अवधिलाई लिने बौद्ध धर्मावलम्बी बताउँछन् ।


एक महिनासम्म मनाइने पर्वमा विभिन्न सांस्कृतिक बाजागाजाका साथमा बुद्ध भगवानको भजनकीर्तन गाएर मठमन्दिर, बौद्ध चैत्य परिक्रममा गरिन्छ ।


गुँला पर्वमा चार बौद्ध तीर्थयात्रा गर्ने प्रचलन छ । विशेषगरी गुँला पर्व नमोबुद्ध, साँखुको बज्रयोगिनी, स्वयम्भू, बुङ्मती करुणामयको दर्शन गरी मनाउने प्रचलन रहेको छ । नेवार भाषामा ‘गुँ’ को अर्थ नौ र ‘ला’ को अर्थ महिना भएकाले नेपाल संवतको नवौं महिनाको पारु तिथिमा गुँला पर्व मनाउने गरिन्छ । मानन्धर समुदायमा पुनर्जन्मलाई स्मरण गर्दै सवा लाख चैत्य निर्माणको लक्ष्यसहित गुँला ङक धलं पर्व मनाउने गरिन्छ ।


पर्वको अवसरमा विशेषगरी स्वयम्भू महाचैत्य, बौद्ध चत्यलगायत उपत्यकाका विभिन्न चैत्यस्थलको दैनिक परिक्रमा गरिन्छ । राँगाको सिङबाट बनाइएको विशेषता न्याकुँ बाजा बजाइन्छ । धा:, बाँसुरी, धिम, भुस्यालगायत नौ बाजा बजाउने प्रचलन छ ।


बौद्ध धर्मावलम्बीले विशेष रूपमा मनाइन्छ । बौद्ध धर्मावलम्बीहरू बिहान सबेरै गुँला बाजा बजाउदै स्वयम्भू महाचैत्यमा पुगेका थिए । काठमाडौंका स्थानीयवासी स्वयम्भू महाचैत्य दर्शनपछि शोभाभगवती हुँदै विजयेश्वरी दर्शन गर्न पुगेका थिए । त्यहाबाट केलटोलस्थित सेतो मत्स्येन्द्रनाथ दर्शन गर्न पुगेका थिए ।


पर्व अवधिभर वर्षभर दिवंगत भएका आफन्तजनको सुखावती भवनमा वासको कामना गरेर शृंगभेरी बाजा बजाउँदै बौद्ध स्तोत्र, धारणी, नामसंगिती तथा सद्धर्मग्रन्थ पाठ गरेर स्वयम्भू महाचैत्य परिक्रमा गर्ने चलन छ ।


धार्मिक दृष्टिकोणले यस पर्वको अवधिमा नागपञ्चमी, यलपञ्चदान, रक्षाबन्धन, गाईजात्रा, कृष्णअष्टमी, मत:या:, देवपत्तनमा खड्ग जात्रा, रोपाईं जात्रा, कृष्णाष्टमी, बाबुको मुख हेर्ने पर्व आउँछन् । यसै अवसरमा उपत्यकाका विभिन्न मठमन्दिरहरूमा बिहान एक महिनासम्म गुँला बाजा बजाउने परम्परा छ ।

प्रकाशित : श्रावण २८, २०७५ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?