१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

हनुमन्ते करिडोर निर्माण सुरु

लीला श्रेष्ठ

भक्तपुर — अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत समितिले हनुमन्ते खोलामा करिडोर निर्माण प्रक्रिया सुरु गरेको छ । समितिले डीपीआर तयार गरी गत असार २७ मा हनुमन्ते करिडोर निर्माणको ठेक्का सम्झौता गरिसकेको छ ।

हनुमन्ते करिडोर निर्माण सुरु

यही बर्खामा आएको बाढीले १ महिनाभित्रै हनुमन्तेकै कारण ३ पटक बस्ती डुबानमा परिसकेको छ । स्थानीय बासिन्दा, सरोकारवाला, जनप्रतिनिधिले डुबान समस्या समाधान गर्न करिडोर निर्माणको आवाज उठाउँदै आएका थिए ।


पहिलो चरणमा राम मन्दिरबाट खसाङखुसुङ खोला दोभानको दायाँबायाँको २ दशमलव ७ किमि करिडोर निर्माण गरिने समितिका उपप्रमुख एवं इन्जिनियर योगेन्द्र चित्रकारले बताए । ‘नदीको दायाँबायाँ राम मन्दिर–मनोहरा दोभानसम्मको १२ किमिमा करिडोर निर्माण गर्ने लक्ष्य छ,’ उनले भने, ‘पर्याप्त बजेट नहुँदा एकै पटक निर्माण सम्पन्न नहुने भयो ।’ नदीको दायाँबायाँ ८/८ मिटर कालोपत्रे सडक, फुटपाथसहित बगैंचा निर्माण गरिने उनले बताए । २ दशमलव ७ किमि हनुमन्ते करिडोर निर्माणका लागि ६९ करोड ७० लाख रुपैयाँमा पीएस गोल्डेन गुड समानान्तर जेभीले जिम्मा पाएको छ ।


सीमांकनमा समस्या
जिल्लाका ४ नगर भएर बग्ने हनुमन्ते खोला करिडोर निर्माणका लागि सीमांकनमै समस्या छ । हनुमन्ते खोलाको प्राकृतिक बहाव धेरै स्थानमा परिवर्तन भएको अवस्था छ । २०२१ सालमा खोलाको नाममा नक्सापास भएका कतिपय स्थानमा घरलगायत संरचना निर्माण भइसकेका छन् । ‘साबिक खोलामा नक्सापास गरी घर बनिसकेका छन्,’ मध्यपुर थिमि–३ का वडाध्यक्ष प्रेम कुटुले भने, ‘२०२१ को नापीअनुसार सीमांकन गरी खोला फर्काएर करिडोर निर्माण गर्न सम्भव छैन ।’ खोलाको विवादित क्षेत्रमा जग्गा एकीकरण आयोजना गरी निर्माण गर्नुपर्ने उनको सुझाव छ ।


करिडोर निर्माणका लागि सुरुमा सीमांकन गर्नुपर्ने र सीमांकन तथा करिडोर निर्माणका लागि जिल्लाको चारै स्थानीय तहको समन्वय हुनुपर्ने प्रदेशसभा सांसद शशिजंग थापा बताउँछन् । सूर्यविनायक र मध्यपुर थिमिका नगरप्रमुखको समन्वयमा गतसाता हनुमन्ते नदी डुबान न्यूनीकरण/समाधान विषयक भेलामा सरोकारवालाहरूले सीमांकनमा समस्या भएको बताएका थिए ।


डुबानको दीर्घकालीन समस्या समाधानका लागि २०२१ को नापीअनुसार खोला कायम गर्ने र खोलाको २ सय मिटर दायाँबायाँ जग्गा एकीकरण आयोजना लागू गर्न अध्ययन गर्ने निर्णय भएको मध्यपुर थिमि नगरप्रमुख मदनसुन्दर श्रेष्ठले बताए । उनका अनुसार खोलाको जग्गा सीमांकन, अध्ययनका लागि नापी कार्यालयको अगुवाइमा नगरपालिकाले प्राविधिक जनशक्ति उपलब्ध गराउने र जिल्ला प्रशासन कार्यालयले पर्याप्त सुरक्षा व्यवस्था गर्ने निर्णय भएको छ ।


हनुमन्ते खोला डुबान न्यूनीकरण तथा व्यवस्थापनका लागि प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टको संयोजकत्वमा नगरप्रमुख, उपप्रमुख र सम्बन्धित वडाका अध्यक्षहरू रहने गरी समिति गठन भएको नगरप्रमुख श्रेष्ठले बताए ।


डुबान किन ?
अव्यवस्थित सहरीकरण, खोला अतिक्रमण, प्लास्टिकजन्य फोहोर खोलामा थुप्रिएर सतहको उचाइ बढ्नु र सरकारले तोकेको मापदण्ड कार्यान्वयनमा बेवास्ता हुनुले नदी किनारका बस्ती बारम्बार डुबानमा परेको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत समिति प्रमुख इन्जिनियर आशिष घिमिरे बताउँछन् ।


भक्तपुर नगरपालिकाले नगरबाट निस्किएको बोरामा हालेर खोला किनारमै थुपार्ने प्रक्रियाले खोला साँघुरिएको स्थानीयको भनाइ छ । नगरपालिकाले सल्लाघारी क्षेत्रमा केही वर्षअघिसम्म खोला किनारमा फोहोर व्यवस्थापन गर्दै आएको थियो भने, हाल बाराहीस्थानमा व्यवस्थापन गर्छ ।


डुबानको दीर्घकालीन समस्या समाधान गर्न चारै स्थानीय तहका जनप्रतिनिधिको समन्वयमा करिडोर निर्माण हुनुपर्ने समिति उपप्रमुख योगेन्द्र चित्रकार बताउँछन् ।

ढल प्रशोधन केन्द्र निर्माण
काठमाडौं उपत्यका फोहोर पानी व्यवस्थापन आयोजना (पीआईडी) ले हनुमन्तेलगायत उपत्यकाको मुख्य/मुख्य नदीमा ढल व्यवस्थापन तथा प्रशोधन केन्द्र निर्माण थालेको छ । पीआईडीका प्रबन्धक सुरत बमका अनुसार मेलम्ची खानेपानी आयोजनाअन्तर्गत दोस्रो चरणमा मुख्य ४ स्थानमा प्रशोधन केन्द्र निर्माण गर्ने लक्ष्य छ । जसअनुसार नेपाल सरकार, ओपेग, एडीबीको सहयोगमा सल्लाघारी, कोडु (बालकुमार), गुहयेश्वरी र धोबीघाटमा ढल प्रशोधन केन्द्र निर्माणकै चरणमा छ ।


पीआईडीले चोकनचिल्ला/हनुमन्ते–मनोहरा खोला दायाँबायाँको करिब २५ किमि हयुमपाइप, खस्याङखुसुङ खोलाको दायाँबायाँ ७ दशमलव ६८ किमि, मनोहरा खोलाको दायाँबायाँ ११ दशमलव ३६ किमिमा नगरबाट निस्किने ढल संकलनका लागि हयुमपाइप जडान थालेको छ । हनुमन्ते खोला दायाँबायाँ ११ दशमलव ९४ किमिमा हयुमपाइप राखिसकेको उनले बताए ।


चोकनचिल्लादेखि सल्लाघारी माथिबाट संकलन भएको फोहोर पानी (ढल) सल्लाघारी प्रशोधन केन्द्रमा प्रशोधन हुने जनाएको छ । सल्लाघारीमा दैनिक १ करोड ४२ लाख लिटर फोहोर पानी प्रशोधन हुन्छ । त्यस्तै, भक्तपुरको तल्लो भेकदेखि संकलित ढल कोडुमा प्रशोधन हुने पीआईडीले जनाएको छ । कोडुमा दैनिक १ करोड ७५ लाख लिटर पानी प्रशोधन गरिने प्रबन्धक बमले बताए ।


त्यसैगरी, गुहयेश्वरीमा दैनिक ३ करोड २० लाख र धोबीघाटमा दैनिक ७ करोड लिटर ढल प्रशोधन गरी सफा पानी मात्र खोला/नदीमा मिसाइने जनाइएको छ । दैनिक उपत्यकाबाट निस्किने १४ करोड लिटर फोहोर पानी प्रशोधन गरी नदीमा मिसाउने र दुगन्र्धमुक्त नदी बनाउने लक्ष्यअनुरूप पीआईडी र अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत समितिले कार्य गरिरहेको उनले बताए ।


अत्याधुनिक प्रशोधन केन्द्रमा ढल प्रशोधन हुँदा गन्ध नआउने, फोहोरबाट बायो ग्यास उत्पादन गर्ने लक्ष्य छ । सुन्दरीघाट र गुहयेश्वरीमा प्रशोधन केन्द्रबाट निस्किएको फोहोरबाट बिजुली निकाल्न सकिने तथा बायोबाट ग्यासबाट निस्किएको कच्चा पदार्थलाई मलका रूपमा उत्पादन गरिने पीआईडीका प्रबन्धक बमले बताए ।


त्यस्तै, पीआईडीले गोकर्णमा २५ लाख लिटर र भक्तपुरको हनुमानघाटमा ७ लाख लिटर पानी प्रशोधन क्षमताको प्रशोधन केन्द्र निर्माण प्रक्रिया थालेको जनाएको छ । समितिले टुकुचामा १ करोड ७० लाख लिटर क्षमताको प्रशोधन केन्द्र निर्माण गर्ने योजना बनाएको छ । निर्माणको जम्मा लिएको निर्माण कम्पनीले सल्लाघारी, कोटु र धोबीघाटको प्रशोधन केन्द्र ५ वर्षसम्म सञ्चालन गर्ने र गुहयेश्वरीको १० वर्ष सञ्चालन पछि सरकारलाई हस्तान्तरण गर्ने सम्झौता भएको पीआईडीले जनाएको छ ।


उपत्यकाको जनसंख्याका हिसाबले ती केन्द्र ढल प्रशोधनका लागि पर्याप्त भने छैन । बढ्दै गएको जनघनत्व र फोहोरमैला व्यवस्थापन उपयुक्त तरिकाले नहुँदा प्रशोधन केन्द्रले धान्न कठिन छ । कतिपय स्थानमा जग्गा र साबिक खोलाको विवादका कारण हयुमपाइप जडान तथा प्रशोधन केन्द्र निर्माणमा समस्या आएको पीआईडीका प्रबन्धक बम बताउँछन् ।

प्रकाशित : श्रावण ३०, २०७५ ०९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?