कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दलित अभियन्तालाई ५ लाखको अवार्ड

कान्तिपुर संवाददाता

काठमाडौँ — सुदूरपश्चिमका जिल्लामा सामाजिक न्यायका लागि संघर्षरत बैतडीकी सरस्वती नेपाली अन्तर्राष्ट्रियस्तरको अवार्डबाट बुधबार राजधानीमा सम्मानित भएकी छन् ।

दलित अभियन्तालाई ५ लाखको अवार्ड

दशरथचन्द नगरपालिका–४ की उनलाई ५ लाख रुपैयाँ राशिको ‘सामाजिक न्यायका लागि दर्नाल अवार्ड–२०१८’ प्रदान गरिएको हो ।

प्रदेश नम्बर ७ का दलित र महिला अधिकारका लागि उनले नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएकी छन् । ३७ वर्षीया नेपालीले छुवाछूत प्रथाविरुद्ध कक्षा ५ मा पढ्दा नै विद्रोह थालनी गरेकी हुन् । हलिया आन्दोलन, बालीघरे (खलो) प्रथा र सिनो प्रथा न्यूनीकरण गर्न पनि उनले बैतडी र आसपास जिल्लामा संघर्ष गरिन् । राष्ट्रिय सभागृहमा सम्मान ग्रहण गर्दै उनले भनिन्, ‘समाजमा जातीय विभेद अझै छ । चुप लागेर सहनु वा विद्रोह गर्नुको विकल्प छैन ।’

२०५८ सालमा दलित समुदाय बैतडीको जगन्नाथ बाबाको मन्दिर प्रवेश गर्ने आन्दोलनको उनले अगुवाइ गरेकी थिइन् । मन्दिरमा चढाएको बलिको सिनो दलित समुदायलाई खुवाउने कुप्रथाविरुद्ध आवाज उठाइन् । संघर्ष गर्दै स्नातकसम्मको अध्ययन पूरा गरिन् । ‘मानिसलाई जात, लिंग, वर्ग, भूगोलका आधारमा विभेद गर्न हुँदैन भनेर संघर्षमा जुटें, अझै सक्रिय हुनेछु,’ उनले भनिन्, ‘राज्यले नीति–कानुन बनाएको छ तर प्रभावकारी कार्यान्वयन नहुँदा विभेद र कुप्रथा कायमै छ ।’

दलित आन्दोलनका अगुवा सुवास दर्लानकी आमा सरिताले अवार्ड प्रदान गरेकी हुन् । सुवासको ६ वर्षअघि अमेरिकामा सडक दुर्घटनामा निधन भएको थियो । उनैका नाममा अवार्ड स्थापना गरिएको हो ।

प्रकाशित : श्रावण ३१, २०७५ ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?