फोहोर फाल्न लाम

ल्यान्डफिल साइट

काठमाडौँ — बिहीबार दिउँसो नुवाकोटको सिसडोलमा फोहोर बोकेका टिपर र ट्रक सडकमा लाम लागेका थिए । केही चालक चर्को घामबाट बच्न छहारीमा बसेका थिए भने कोही गाडीभित्रै गीत बजाएर आराम गरिरहेका देखिन्थे ।

फोहोर फाल्न लाम

नुवाकोटको ककनी गाउँपालिका–२ मा पर्ने सिसडोलमा वडा नम्बर १ सम्मै आइपुग्ने गरी बिहीबार करिब १ सय ५० हाराहारीमा फोहोर बोकेका गाडी लामबद्ध देखिन्थे । दिनहुँ काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका साथै छिमेकको काभ्रेको फोहोर पनि यहीँ व्यवस्थापन गरिने गरिएको छ । दैनिक करिब २ सय ५० भन्दा बढी गाडी फोहोर फाल्न उक्त क्षेत्रमा जान्छन् तर फर्किने भने टुंगो हुन्न । समयमै पुगे पनि फोहोर फाल्न पालो कुर्नुपर्ने चालकहरू बताउँछन् ।

एक वर्षदेखि गोकर्णेश्वर नगरपालिकाको फोहोर यहाँ फाल्न थालेका कृष्ण कार्की फोहोर फाल्न १/२ दिन जसरी भए पनि कुर्नैपर्ने बाध्यता रहेको बताउँछन् । लगातार पानी पर्‍यो भने त्यो समय ३/४ दिनसम्म पनि पुग्छ । ‘यहाँ पालो कुर्नुपर्दा उता नगरपालिकामा फोहोर लिन आएर भनेर गुनासो गरिरहेका हुन्छन्,’ कार्कीले भने, ‘सडकको अवस्थाका कारण पानी पर्नेबित्तिकै गाडी रोकिनुपर्ने हुन्छ । जति सक्दो चाँडो सडक मर्मत गर्नुपर्छ ।’ उनको भनाइमा गाडीहरू लामो समयसम्म कुर्दा उपत्यकाको फोहोरको थुप्रो झनै बढिरहेको हुन्छ, तर समयमा उठाउन पुग्न सकिन्न ।


गाडी बिग्रिनेबित्तिकै त्यहाँसम्म पुग्ने बाटो जाम हुने गर्छ । त्यसले सबै गाडीलाई प्रभाव पार्छ । चालकहरू आफैं मिलेर त्यसलाई छेउ लगाउने वा बनाउने गर्छन् । चन्द्रागिरि नगरपालिकाले विभिन्न संस्थासँग मिलेर ४ वटा ट्रकमा जम्मा गरी सिसडोलमा फोहोर पुर्‍याउँछ । त्यहाँको फोहोर लिएर आउने चालक श्यामकृष्ण बलामी ओखरपौवाकै स्थानीय हुन् । ‘हामी आफ्नै घरमा खान्छौं, यहाँ कुर्नेले होटेलमा खानुपर्छ । धेरै दिन बस्नुपर्‍यो भने काम गर्ने संस्थाले बेहोर्छ, नत्र चालकले आफैं तिर्नुपर्छ,’ उनले सुनाए । समय–समयमा प्लास्टिकजन्य तथा पुन: प्रयोग गर्न सकिने सामग्री संकलनका लागि आउने गाडीहरूले पनि बाटो छेकिदिन्छन् । सवारी व्यवस्थापन चुस्त हुन नसकेको उनको गुनासो छ ।

सिसडोल पुग्नेबित्तिकै स्थिति तनावपूर्ण हुने चालक बताउँछन् । स्थानीयले स्वास्थ्य र दैनिक क्रियाकलापमा असर परिरहेकाले फोहोर नफाल्न माग गरे पनि विकल्प नहुँदा फोहोर फाल्नैपर्ने बाध्यता छ । चालकहरू कहिले स्थानीयसँग झडपको स्थिति आउने हो भनी डराउनुुपर्ने अवस्था रहेको जनाउँछन् । एक चालकले भने, ‘प्रहरीले नै स्थानीय उचाल्ने काम गरेको छ । गाडी फुटाइदिनेदेखि ज्यानको पनि डर हुन्छ । यति गाडीको आवतजावत हुने ठाउँमा एउटा ट्राफिक प्रहरी पनि छैन ।’ उनले प्रशासन कमजोर रहेकाले गाडीले उछिनेर, पालो मिच्ने जस्ता समस्या दिनहुँजसो भोगिरहेको बताए ।

काठमाडौं बस्ने रामशरण पुजारी पछिल्लो २५ वर्षदेखि दिनहुँ काठमाडौंको फोहोर फाल्ने काम गरिरहेका छन् । जोरपाटी, सुन्दरीघाट लगायतका स्थान हुँदै अहिले महानगरपालिकाले सिसडोलमा फोहोर फाल्ने भएपछि उनी दिनहुँ गइरहेका हुन्छन् । ‘पानी पर्‍यो भने सडक बिग्रन्छ । फोहोरमाथि माटो हालेर बनाएको बाटो दब्दै गएको छ,’ पुजारीले भने, ‘गाडीहरू बिग्रिरहेका हुन्छन् । राति पनि यहीँ गाडीमा नत्र कतै बास मागेर बिताउनुपर्ने हुन्छ ।’

काठमाडौं महानगरपालिकाले ३ वर्षका लागि भनेर लिएको सिसडोल ल्यान्डफिल साइट अहिले १२ वर्षपछि फोहोर फाल्नै नमिल्ने गरी भरिइसकेको छ । तर छेउछाउको माटो निकालेर सडक बनाउँदै फोहोर फाल्ने ठाउँ फराकिलो पार्दै अझसम्म त्यहीँ फालिँदै आएको छ ।

अन्य विकल्पतर्फ महानगर र राज्य गम्भीर बन्न नसकेको स्थानीयको आरोप छ । नजिकै नुवाकोट र धादिङको सिमानामा रहेको बन्चरेडाँडामा फोहोर फाल्ने भनेर स्थान चयन गरिएको २० वर्ष कटिसक्दा पनि निर्माण हुन नसक्नुले भविष्यमा राजधानी झनै दुर्गन्धित बन्ने सरोकारवाला बताउँछन् ।

प्रकाशित : भाद्र १, २०७५ ०८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?