१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

त्रिवि मानवशास्त्र विभागमा विद्यार्थीको तालाबन्दी, विभाग प्रमुख उप्रेतीले दिए राजीनामा

प्रमुख कारण १३ करोडको परियोजना

काठमाडौँ — त्रिभुवन विश्वविद्यालय मानवशास्त्र केन्द्रीय विभाग प्रमुखले आफ्ना माग सुनुवाइ नगरेको भन्दै विद्यार्थी संगठनले तालाबन्दी गरेका छन् ।

त्रिवि मानवशास्त्र विभागमा विद्यार्थीको तालाबन्दी, विभाग प्रमुख उप्रेतीले दिए राजीनामा

त्रिविकै प्राध्यापकले त्रिवि र अमेरिकी सहयोग नियोग (यूएसएआईडी) बीच भएको सम्झौताअनुसारको परियोजनालाई विभाग प्रमुखले दुरुपयोग गरेको भन्दै विद्यार्थी संगठनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसित छानबिनको माग गरेका छन् । विभाग प्रमुख प्राध्यापक लयप्रसाद उप्रेतीले भने राजीनामा दिएका छन् ।


अनेरास्ववियु, नेपाल विद्यार्थी संघ, अखिल (क्रान्तिकारी), नयाँ शक्ति विद्यार्थी युनियन, अखिल (क्रान्तिकारी) विप्लवका त्रिवि इकाईले संयुक्त रूपमा विभागमा तालाबन्दी गरेका हुन् । उनीहरूले विभाग प्रमुखको कार्यकक्ष, प्रशासन र लेखा शाखामा तालाबन्दी गरेका छन् । ‘विश्वविद्यालय सफाइ अभियानका क्रममा विभाग प्रमुखलाई पटकपटक सम्पर्क गर्‍यौं, तर उहाँ बाहिरै रहेर विद्यार्थी संगठनका माग बेवास्ता गर्नुभयो,’ नयाँ शक्ति विद्यार्थी युनियन त्रिवि समितिका अध्यक्ष बलबहादुर रम्तेलले भने, ‘हाम्रो माग त्रिविको लोगोको दुरुपयोग गरी परियोजना सञ्चालन नगरियोस् भन्ने नै हो । अन्तत: तालाबन्दी गर्न बाध्य भयौं ।’


त्रिवि मानवशास्त्र विभागअन्तर्गत यूएसएआईडीको सहयोगमा ‘अ स्टडी अन स्टेट अफ सोसल इनक्लुजन इन नेपाल’ नामक परियोजना सञ्चालनमा छ । सन् २०१७ मा सुरु भएको परियोजना २०२० सम्म चल्ने छ । परियोजनाको बजेट अमेरिकी डलर १ दशमलव ५ मिलियन अर्थात् १३ करोड रुपैयाँभन्दा बढी छ । यसअघि त्रिवि समाजशास्त्र तथा मानवशास्त्र नछुट्टिँदै पहिलो चरणको परियोजनाबाट बृहत् अनुसन्धान गरी दर्जनभन्दा बढी कृति प्रकाशनमा आएका छन् ।


उक्त परियोजनालाई लिएर ‘त्रिविको भलो चाहने प्राध्यापकहरू’ को नाममा अख्तियारमा निवेदन दिइएका छन् । ‘त्रिविका उच्च ओहदामा आसीन व्यक्तिहरूबाट आफू खुसी प्रोजेक्ट स्वीकृत गरी सोही रकमबाट त्रिविमा शैक्षिक सुधारको सट्टा आफ्ना निकटहरूलाई नियमविपरीत विभागमा नियुक्ति गरी,’ गत जेठमा दिइएको निवेदनमा छ, ‘आफू नियमित उपस्थित नहुने, हप्तौंसम्मको हाजिर एकैचोटि गर्ने, बालुवाटारमा कार्यालय खोली अन्य काम गर्ने तथा विभिन्न बैंक खातामार्फत ठूलो मात्रामा रकमको दुरुपयोग भइरहेको छ ।’


मानवशास्त्र विभागको तालुकदार निकाय शिक्षाध्यक्षको कार्यालय हो । तर, शिक्षाध्यक्ष सुधा त्रिपाठीले विभाग प्रमुख उप्रेतीको राजीनामाबारे आफूलाई जानकारी नभएको बताइन् । ‘मानवशास्त्र विभाग प्रमुखले विश्वविद्यालयको नाममा रहेको प्रोजेक्टलाई बाहिर लगेर चलाएका छन् शिक्षाध्यक्ष त्रिपाठीले कान्तिपुरसित भनिन्, ‘त्यही लफडालाई लिएर विद्यार्थी संगठनहरूले तालाबन्दी गरेको सुनेको छु । उहाँ (विभाग प्रमुख उप्रेती) को राजीनामाबारे मलाई जानकारी छैन ।’


विभाग प्रमुख उप्रेती सम्पर्कमा आउन चाहेनन् । उनको विभाग प्रमुखको अवधि डेढ वर्ष बाँकी छ । विभागका अर्का प्राध्यापक विनोद पोखरेलले प्रमुख उप्रेतीको कार्यको बचाऊ गरे । ‘मानवशास्त्र विभाग अरू विभागभन्दा फरक प्रकृतिको छ,’ पोखरेलले भने, ‘उहाँ (उप्रेती) सैद्धान्तिक अडानको मान्छे हुनुहुन्छ । यो विभागलाई प्रमुखले चलाउने हो, कर्मचारीले होइन । माथिबाटै असहयोग भएकाले राजीनामा गर्नु भएको हुन सक्छ ।’ पोखरेलले २०४६ पछि विश्वविद्यालयमा प्रत्यक्ष राजनीतिक हस्तक्षेप बढेको र २०६२/६३ पछि प्राज्ञिक व्यक्ति पदाधिकारी बनेर काम गर्ने वातावरण नरहेकोसमेत उल्लेख गरे ।

प्रकाशित : भाद्र १, २०७५ २०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?