बल्ल अन्डरपास

कोटेश्वर, मित्रपार्क र नयाँबानेश्वरमा पनि बनाइने
दीपेन्द्र विष्ट

काठमाडौँ — कलंकी चोकमा शुक्रबार भेटिएका ट्याक्सीचालक वसन्त लामा अन्डरपास (भूमिगत बाटो) ले ट्राफिक जाममा कमी आउनेमा ढुक्क देखिन्थे । ५ वर्षदेखि ट्याक्सी चलाउँदै आएका उनी कलंकीदेखि कालीमाटीसम्म दैनिक हुने ट्राफिक जामले आजित भइसकेका थिए ।

काठमाडाैंकाे कलंकीमा शुक्रबारदेखि सञ्चालनमा अाएकाे अण्डरपासमा गुडेका गाडी । तस्बिर : इलिट जाेशी । कान्तिपुर

‘अब त ट्राफिक जाम कम होला,’ १० मिनेटको बाटो पनि नभए पनि कालीमाटीदेखि कलंकी पुग्न करिब १ घण्टा लाग्ने गरेको उनको अनुभव छ । सडक पूर्वाधार निर्माणमा मुलुककै पहिलो ‘अन्डरपास’ निर्माण सम्पन्न भएपछि लामाजस्ता धेरै चालक तथा यात्रुलाई सुबिस्ता हुने अनुमान छ । अत्यधिक जाम हुने कलंकी–नागढुंगा, कलंकी–सीतापाइला, कंलकी–कालीमाटी र कंलकी–बल्खु क्षेत्रमा अब अन्डरपासका कारण जाम नहुने लामाको पनि विश्वास छ । अन्डरपास शुक्रबारदेखि सञ्चालनमा ल्याइएको सडक विभागका प्रवक्ता मुक्ति गौतमले जानकारी दिए ।

‘अरू ठाउँमा समेत अन्डरपास निर्माण गर्दै छौं,’ उनले भने, ‘उपत्यकामा जाम कम गर्न अन्डरपास निकै आवश्यक छ ।’ चक्रपथको मित्रपार्क र कोटेश्वर तथा नयाँबानेश्वरमा अन्डरपास आवश्यक भएको गौतमले बताए । कोटेश्वरमा अन्डरपास निर्माण गर्न अर्थमन्त्रालयमार्फत् जापान सरकारलाई अनुरोध गर्न लागिएको उनले बताए । ‘नयाँबानेश्वरमा खानेपानीको पाइप तथा ढलका कारण केही समस्या हुन सक्छ,’ उनले भने, ‘तर कोटेश्वरमा चाँडै निर्माण हुन्छ ।’

Yamaha


उपत्यका ट्राफिक महाशाखाले कंलकी क्षेत्रलाई उपत्यकाको सबभन्दा बढी ट्राफिक जाम हुने स्थानमा राखेको थियो । ‘अब त जाम घट्ला,’ उपत्यका ट्राफिक महाशाखाका प्रमुख वसन्त पन्तले भने, ‘यस क्षेत्रमा ट्राफिक प्रहरीले केही राहत पाउँछन्, ।’ मुलुककै लाइफ लाइन मानिएको कंलकी–नागढुंगा क्षेत्रको ट्राफिक जाममा कमी आउने उनले बताए ।

चीन सरकारको अनुदान सहयोगमा निर्माण भइरहेको कोटेश्वर–बल्खु–कलंकी चक्रपथ सुधार आयोजनाअन्तर्गत अन्डरपास निर्माण भएको हो । कलंकी चोकमा निर्माण सम्पन्न भएको ४ लेनको अन्डरपास ८ सय मिटर लामो छ । योसँगै कोटेश्वर–बल्खुपुल–कलंकी कम्तीमा १० किलोमिटर लामो सडकलाई ८ लेनमा विस्तार गर्ने काम पनि अन्तिम चरणमा पुगेको छ ।

५ अर्ब रुपैयाँ अनुदान सहयोगमा चक्रपथको पहिलो खण्ड विस्तारको काम भएको हो । चिनियाँ कम्पनी सांघाई कन्स्ट्रक्सनले अन्डरपास निर्माण गरेको हो । सन् २०१७ जनवरीमा सम्पन्न हुने सम्झौता गरे पनि भूकम्प र भारतको नाकाबन्दीका कारण निर्माण एक वर्षपछि धकेलिएको हो ।

हाल थानकोटबाट आउने सवारीसाधन कालीमाटीतर्फ जान र बल्खुबाट आएका साधन सीतापाइलातर्फ मोडिँदा ट्राफिक जाम हुने गर्छ । अब अन्डरपास चक्रपथतिर जाने सवारीसाधनले प्रयोग गर्नेछन् । चार लेनमा निर्माण भएको अन्डरपासको २ लेन बल्खुबाट सीतापाइलातिर जान र २ लेन सीतापाइलाबाट बल्खुतिर जान प्रयोग गरिएको छ । चक्रपथ परिक्रमा गर्दा अब कलंकी चोकमा रोकिनु पर्दैन । कालीमाटीतिरबाट थानकोट जान र आउन अन्डरपासमाथि निर्माण भएको सडक प्रयोग गरिएको आयोजनाले जनाएको छ ।

अन्डरपासको दायाँ र बायाँ सहायक दुई/दुई लेनको सडक निर्माण गरिएको छ । त्यसैगरी कोटेश्वर–कलंकी १० दशमलव ४ किलोमिटर सडकखण्ड विस्तारको कार्य अन्तिम चरणमा पुगेको प्रवक्ता गौतमले बताए ।


बल्खु–कोटेश्वर खण्डमा आठ लेनमै कालोपत्रे भइसकेको उनले बताए । बल्खु–कलंकी क्षेत्रमा धमाधम काम भइरहेको उनले बताए । ‘दुई महिनाभित्र सबै काम सम्पन्न हुन्छ,’ उनले भने, ‘अब चक्रपथको कलंकी–महाराज खण्डको विस्तारको काम पनि सुरु हुन्छ ।’ आगामी असोजदेखि कलंकी–महाराजगन्ज ८ दशमलव २ किलोमिटर खण्डको काम अघि बढाउन चीन र नेपाल सरकारकाबीच द्विपक्षीय सम्झौता भइसकेको छ ।

अहिले उक्त खण्डको सडक सीमाभित्र पर्ने संरचना, घर, टहरा, खानेपानी, विद्युत्, टेलिफोनलगायत पोल हटाउने काम भइरहेको छ । चीन सरकारको ६ अर्ब रुपैयाँ अनुदानमा सडक विस्तार गर्न लागिएको गौतमले बताए ।

प्रकाशित : भाद्र २, २०७५ ०८:३४
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

मस्तिष्कमा फित्तेकिराको फुल

सुँगुरमा पाइने फित्तेकिरा ‘टानिया सोलियम’ ले गर्दा यो रोग हुन्छ
‘यो रोग काँचा सागसब्जी, प्रदूषित पानी लगायत खानाले हुन्छ । पोटास पानीमा सागसब्जीलाई १५/२० मिनेट डुबाएर मात्र त्यसपछि सलाद खाँदा सुरक्षित हुन्छ ।’डा. वसन्त पन्तवरिष्ठ स्नायु शल्य चिकित्सक
अतुल मिश्र

काठमाडौँ — हाम्रो मुलुकमा वयस्क जनसंख्यामा पहिलो चोटि भेटिने छारे रोगमा करिब ६० प्रतिशतलाई फित्तेकिरा (टेप वर्म) को फुल मस्तिष्कमा पुगेर यो जटिलता निम्तिने गरेको छ । यो रोगलाई चिकित्सकीय भाषामा न्युरो सिस्टिसर्कोसिस भनिन्छ । यो रोग सुँगुरमा पाइने फित्तेकिरा ‘टानिया सोलियम’ ले गर्दा हुन्छ ।

मस्तिष्कमा सिस्टिसर्कोसिस भएमा छारे रोग, टाउकोमा पानी जम्नु, टाउकामा दबाब बढ्नु, मानसिक सन्तुलनमा परिवर्तन, मानसिक रोगको लक्षण, मेनेन्जाइटिस हुनुको साथै मानिसको मृत्यु पनि हुन सक्छ ।

‘फित्तेकिराले हुने छारेको समस्या छोटो समयमा घेरै छिटो छिटो देखिने गरिएको छ,’ न्युरो सिस्टिसर्कोसिस विषयमा मुलुकमा विभिन्न अध्ययन, अनुसन्धान गर्दै आएका र करिब १० हजारभन्दा बढी न्युरो सिस्टिसर्कोसिसको उपचार गरेका वरिष्ठ स्नायु शल्य चिकित्सक डा. वसन्त पन्त भन्छन्, ‘यो समस्या एक वर्षमुनिकालाई देखिनु दुर्लभ छ ।’

फित्तेकिराको एउटै परजीवीले दुइटा रोग सार्दो रहेछ । बंगुर/सुँगुरको राम्ररी नपाकेको मासु खाँदा शरीरमा फित्तेकीरा बस्छ । दूषित खाद्यपदार्थ सेवन, दूषित पानीले सिँचाइ, राम्ररी नधोईकनै बनाइएको सागसब्जी, सलाद आदि सेवन यसको कारण हो ।

पूर्ण स्वस्थ भएको ग्यारेन्टी नहुँदासम्म सलाद नखानु नै उपयुक्त रहेको आंैल्याउँदै डा. पन्त भन्छन्, ‘पोटास पानीमा सागसब्जीलाई १५/२० मिनेट डुबाएर मात्र त्यसपछि सलाद खाँदा सुरक्षित हुन्छ ।’ फोहोर खाद्य पदार्थ/पानी, प्रदूषित सागपात सलाद आदि खाँदा हाम्रो शरीरमा फित्तेकिराको फुल जान सक्छ । र त्यही फुल रक्तसञ्चारको माध्यमले मस्तिष्कमा पुगेर ‘सिस्ट’ को रूपमा विकसित हुने औंल्याउँदै उनी थप्छन्, ‘फित्तेकीराको फुल मस्तिष्कमा पुग्यो भने न्युरो सिस्टसर्कोसिस र अन्य अंगमा पुग्यो भने सिस्टिसर्कोसिस भनिन्छ । यो रोग काँचा सागसब्जी, प्रदूषित पानी लगायत खानाले हुन्छ ।’

सहरी क्षेत्रको छेउछाउमा दूषित नाला, ढलको पानीमा सागसब्जी उमार्ने भएकोले समेत न्युरो सिस्टी सर्कोसिस हुने सम्भावना बढी रहेको छ ।

केही व्यक्ति राम्ररी नधोएर सलाद, चटनी बनाउँछन् भने पूर्णरूपमा नपाकेको सागसब्जी सेवन गरेरसमेत यो रोगको चपेटामा पर्ने गरेका छन् ।

मस्तिष्कमा पुगेको फित्तेकिराको फुल हटाउन कहिलेकाहीं शल्यक्रियासमेत गर्नुपर्छ । यो फुलले मस्तिष्कमा पुगेर त्यहाँ हुने पानीको बहावलाई रोक्दा रोगीलाई विभिन्न शारीरिक समस्यासँगै छारे रोगको लक्षण देखापर्छ ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार लाखौंको संख्यामा फित्तेकिराको फुल वातावरणमा पेटमा फित्तेकिरा भएकाहरूको दिसाका माध्यमले फैलिन्छ । जब सुँगुरले वातावरणमा छरिएर रहेको यो फुललाई खान्छ, त्यतिखेर उसको शरीरमा सानो सिस्ट विकसित हुन्छ । जसका कारण खाद्य पदार्थको माध्यमले संक्रमित हुन्छौं ।

जस्तै : राम्ररी नपाकेको खानाले, फित्तेकिराको फुलले संक्रमित पानी खानाले वा सरसफाइसम्बन्धी कमीले यो संक्रमणको चपेटामा फस्छौं । यो सुँगुरको मासुले हुँदैन । राम्ररी नपाकेको बंगुरको मासु खानाले फित्तेकिराको रोग लाग्न सक्छ । यो कीरा फोहोर पानीले नुहाउनु वा खानुले समेत मानव शरीरमा पुग्छ । डा. पन्तका अनुसार युवा व्यक्तिमा स्ट्रोक हुने एउटा कारण न्युरो सिस्टिसर्कोसिससमेत हो ।

मौसमी रूपमा देखिन्छ न्युरो सिस्टिसर्कोसिस
यो रोग मौसमी रूपमा समेत देखिने गरिएको छ । वर्षापछि यो रोग बढी मात्रामा देखिने आंैल्याउँदै डा. पन्त भन्छन् , ‘वर्षायाममा यो रोगले संक्रमित हुन्छन् र वर्षा सकिएपछि यसको लक्षण लिएर आउँछन् ।’ जाडो यामतिर र वर्षा सुरु हुनु अगाडि यो रोगका बिरामी कम मात्रामा देखिने गरिएको छ । यो रोगको मुख्य लक्षण छारे रोग देखिनु हो ।

नेपाल र दक्षिण अमेरिकामा पाइने टानिया सोलिएम एउटै डा. पन्तका अनुसार नेपाल र दक्षिण अमेरिकामा पाइने टानिया सोलिएम एउटै रहेको अध्ययनका क्रममा गरिएको डीएनए विश्लेषणले देखाएको छ ।

नेपालीको मस्तिष्कमा एकदुइटा मात्र सिस्ट देखिनु र पश्चिमाहरूमा धेरै बढी सिस्ट देखिने भएपछि ‘टानिया सोलिएम’ को डीएनए विश्लेषण गरिएको थियो ।

‘नेपालीहरू सानैदेखि यो संक्रमणको सम्पर्कमा रहेकोले हामीमा प्रतिरोधक क्षमता छिटो विकसित हुन्छ,’ डा. पन्तका अनुसार यसैले नेपालीहरूलाई न्युरो सिस्टिसर्कोसिस हुँदा मस्तिष्कमा कम सिस्ट देखिएको हो ।

उपचार प्रक्रिया
न्युरो सिस्टिसर्कोसिस भएको धेरैजसो व्यक्ति चिकित्सककहाँ छारे रोगको समस्या लिएर आउँछन् । यस्ता व्यक्तिको मस्तिष्कको सिटी स्क्यान/एमआरआई गरेर हेर्दा नेपालमा करिब ९० प्रतिशत व्यक्तिमा एउटा मात्र ‘सिस्ट’ वा एकदम कम सिस्ट देखिने गरिएको डा. पन्त बताउँछन् ।

तर कोही कोहीमा त नौलाखे ताराजस्तै मस्तिष्कको धेरै भागमा सिस्ट छरिएर रहेको पनि देखिएको स्थिति उनी आंैल्याउँछन् । धेरै बढी सिस्ट देखिए जुका मार्ने औषधि एल्वेन्डाजोल खुवाइने गरिएको औंल्याउँदै उनी मस्तिष्कमा रहेको सिस्ट मर्ने बेलामा सिजर (छारे रोग) देखिने बताउँछन् । सिस्ट मर्ने बेलामा रसायन बाहिर निस्किन्छ त्यसैले छारे रोग देखिन्छ ।

किराले मस्तिष्कमा सिस्ट बनाएपछि वा सिस्ट मरेपछि त्यसको चारैतिर एउटा कडा कवचको निर्माण हुन्छ । यसले गर्दा हाम्रो मस्तिष्कको स्नायुमा दबाब पर्छ । यही स्टिसर्कोसिसलाई शल्यक्रियाको माध्यमले निकालिन्छ ।

एउटा अर्को स्थितिमा मस्तिष्कको थैलामा सिस्ट फस्दा पानीको बहाव रोकिएर ‘हाइड्रोसिफेलस’ रोगसमेत उत्पन्न हुन्छ ।

डा. पन्तले आफू गरेको ६ वटा शल्यक्रियामा मस्तिष्कमा पानीको बहाव रोकिएर हाइड्रोसेफलस देखिएको बताए ।

यो आफैं निको हुने रोगसमेत रहेको जनाउँदै डा. पन्त भन्छन्, ‘सन् २००२ बाट छारे रोगको शल्यक्रिया गर्दा डेढ सय छारे रोगीको शल्यक्रियामध्ये फित्तेकिराको कारण २० वटा शल्यक्रिया भएको छ ।’

१४ वटा केसमा भने मस्तिष्कमा दाग छोडेर छारे रोगको समस्या देखिएकोले शल्यक्रियाका माध्यमले सिस्टको खाटो निकालिएको हो ।

टाउको दुखेर उपचार प्रक्रियामा आएका केही व्यक्तिमा सिटी स्कयान गर्दा आकस्मिक रूपमा फित्तेकिराको फुल पाइएको समेत उनी आंैल्याउँछन् । यस्तोमा उपचार नगरी कुरेर हेरिन्छ, आफैं मरेर गयो भने केही गर्नु पर्दैन ।

सावधानी
सिस्टिसर्कोसिसको औषधि सुरु गरे पनि शरीर काम्ने लक्षण जारी रहन सक्छ । यसको बिरामीलाई कुनै पनि समय शरीर काम्ने लक्षण देखा पर्न सक्ने भएकाले एक्लै धुम्न नजाने, गाडी मेसिन, मोटरसाइकलजस्ता यन्त्र चलाउने मात्र नभई नियमित रूपमा औषधि सेवन गर्नुपर्छ ।

डेढ दशकमा केही कमी
डा. वसन्त पन्तले डेढ दशकअघि हावर्ड विश्वविद्यालयसँग मिलेर गरेको अध्ययनमा मुलुकमा छारे रोग भएर चिकित्सककहाँ पुग्ने ७५ प्रतिशत वयस्कमा फित्तेकिराको फुल मस्तिष्कमा पुगेर उक्त रोग विकसित भएको देखिएको थियो । तर हालको नयाँ अध्ययनले उक्त प्रतिशत ६० रहेको देखाएको छ ।

यो रोगको संख्यामा कमी देखिएबाहेक अन्य नतिजाहरू उस्ताउस्तै देखिएका छन् । हावर्डसँगको अध्ययनले काठमाडौं, पोखरा, धरान र दाङलाई सिस्टिसर्कोसिसको पकेट एरियाको रूपमा देखाएको थियो । हालसमेत स्थितिमा फरक आएको छैन ।

सर्कोसिस देशका हरेक वर्गमा सामान रूपमा व्याप्त छ । हावर्डसँगको सहकार्यमा गरिएको अध्ययनको क्रममा डा. पन्तद्वारा उपचार गरिएका १ सय ३१ जनामध्ये २५ प्रतिशतले फ्लस भएको टाइलेट उपयोग गर्थे भने २५ प्रतिशतले ल्याट्रिन र २७ प्रतिशत बाहिर मैदानमा दिसा गर्थे । यस्तै, उक्त रोग लागेका ९२ प्रतिशत रोगीहरू सुंँगुरपालक थिएनन् ।

यो तथ्यांकले मुलुकका उच्चदेखि निम्न वर्गसम्ममा यो रोग व्याप्त रहेको देखाउँछ । अध्ययनका क्रममा उमालेर पछि फिल्टर गरेर पानी खाने ४० प्रतिशत सिस्टिसर्कोसिसका रोगीहरूको डा. पन्तले उपचार गरेका थिए ।

atulmishra7@gmail.com

प्रकाशित : भाद्र २, २०७५ ०८:३०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT