कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

खोइ फुटपाथ र साइकल लेन ?

डिजाइनमै त्रुटि
प्रशान्त माली

ललितपुर — राजधानीका सडकमा फुटपाथ र साइकल लेन नहुनु डिजाइनमै त्रुटि भएको भन्दै सरोकारवालाले गम्भीर चासो व्यक्त गरेका छन् ।

खोइ फुटपाथ र साइकल लेन ?

नेपाल इन्जिनियरिङ एसोसियएनले शुक्रबार आयोजित ‘प्लानिङ एन्ड डिजाइनिङ फर पिपुल फ्रेन्डली काठमाडौं : मेकिङ काठमाडौं वाक एगेन’ शीर्षकमा आयोजित अन्तक्र्रियामा यस्तो धारणा व्यक्त गरिएको हो । उनीहरूले काठमाडौंका सडक सहरी सडक कि हाइवे छुटयाउन नसकेको भन्दै यस्तै स्थिति रहिरहे दुर्घटना झन् बढ्दै जाने बताएका छन् ।

अमेरिकाका विभिन्न सहरमा २० वर्षदेखि फुटपाथ र साइकल लेन डिजाइन गर्दै आइरहेका इन्जिनियर सागर ओन्त भन्छन्, ‘काठमाडौंमा हुने दुर्घटनामा सबभन्दा बढी पैदलयात्रुको मृत्यु हुने गरेको छ । सहरी क्षेत्रमा पदैलयात्रुलाई दिनुपर्ने सेवासुविधाबारे इन्जिनियर नै अनभिज्ञ छन् ।

सरकार दुर्घटना न्यूनीकरण गर्न गम्भीर हुन जरुरी छ ।’ सहरी क्षेत्रको सडक फरक डिजाइनअनुसार बनाउनुपर्छ । ‘राजधानीमा हाइवेको डिजाइनमा सडक बनाउन थालिएकाले दुर्घटना बढ्नुका साथै सांस्कृतिक सम्पदा नष्ट भएका छन् ।’ कार्यक्रममा भक्तपुरको ६ लेन सडकमा दुर्घटना बढ्नुको कारण तथा कोटेश्वर–कलंकी सडक, माइतीघर–तीनकुने सडकमा दुर्घटना र ट्राफिक जामका कारण र न्यूनीकरणका उपाय देखाइएको थियो ।

सडक विभागले बनाएको नेपाल सडक मापदण्ड २०७१ अनुसार सडकको दायाँबायाँ न्यूनतम १ दशमलव २ मिटरको साइकल लेन र न्यूनतम डेढ मिटरको फुटपाथ पनि हुनुपर्छ । तर, उपत्यकाका अधिकांश सडकमा फुटपाथ र साइकल लेन नै छैन ।

चिनियाँ ठेकेदार कम्पनी सांघाई कन्स्ट्रक्सन ग्रुपले बनाउन थालेको कोटेश्वर–कलंकी सडकको निर्माणमा त्रुटि छ । नेपाल र चिनियाँ सरकारबीच चक्रपथ बनाउन भएको सम्झौतामा साइकल लेन रहने व्यवस्था भए पनि निर्माण गरिएको छैन । यसले पनि चक्रपथ सडकमा दुर्घटना बढाएको इन्जिनियरहरूको भनाइ छ । ‘अहिलेको सडक व्यवस्थित गर्नसके मात्र पनि दुर्घटना कम गर्न सकिन्छ,’ उनीहरूको भनाइ छ ।

वातावरण इन्जिनियर भूषण तुलाधारका अनुसार काठमाडौंमा साइकल चलाउनेको संख्या १ दशमलव ६ प्रतिशत मात्र छ । ‘साइकल लेनको व्यवस्था गर्नसके २ वर्षमा साइकल चलाउनेको संख्या २ प्रतिशतभन्दा बढी पुर्‍याउन सकिने उनको दाबी छ । ‘साइकल भरपर्दो र सस्तो माध्यम हो,’ उनले भने, ‘यसले प्रदूषण कम गर्न सहयोग गर्नुका साथै डिजेल पट्रोल खरिदको खर्च न्यून गर्न मद्दत गर्छ ।’

निर्माणाधीन चक्रपथमा नाली, फुटपाथ र साइकल लेनसहित गरी २ दशमलव ५ मिटर मात्र छ । उक्त स्थान नाली, फुटपाथ वा साइकल लेन केका लागि हो भन्ने निश्चित छैन । ‘फुटपाथ र साइकल लेनबिनाको सडकले दुर्घटना निम्त्याउने निश्चित छ,’ तुलाधार भन्छन् ।

चक्रपथ र भक्तपुर सडकको डिजाइन परिवर्तनबारे सडक विभागका इन्जिनियरसँग भइरहेको छलफल सकारात्मक रहेको उनले जनाए । कार्यक्रममा विभिन्न साइकलयात्रीले साइकल चलाउनेलाई सरकारले प्राथमिकता नदिएको बताए ।

राजधानीका सडकमा प्रतिघण्टा ६० किमिको गतिमा आएको गाडीले ठक्कर दिँदा मानिसको मृत्यु हुने सम्भावना ९० प्रतिशत, प्रतिघण्टा ५० किमिको गतिमा आएको गाडीले ठक्कर दिँदा ६० प्रतिशत, ३० किमि प्रतिघण्टाको गतिमा आएकोले ठक्कर दिँदा १० प्रतिशत छ । चक्रपथको गति ५० किमि प्रतिघण्टा तोकिएको छ । गतिअनुसार सुरक्षा व्यवस्था अपनाइएको छैन ।

प्रकाशित : भाद्र २, २०७५ ०८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?