कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

सार्वजनिक गाडीमा अझै सास्ती

लीला श्रेष्ठ

भक्तपुर — चाँगुनारायण–६ नगरकोटका विकास तामाङ बागेश्वरी कलेज च्याम्हासिंहमा अध्ययन गर्छन् । कमल विनायकदेखि नगरकोटसम्मको करिब १२ किलोमिटर दूरीको यात्रा गर्न उनलाई निकै कष्टकर हुन्छ ।

सार्वजनिक गाडीमा अझै सास्ती

‘बिहान कलेज आउँदा कोच्चिएरै यात्रा, घर फर्किंदा उस्तै,’ उनले भने, ‘एक/एक घण्टा कुर्‍यो, झुन्डिएर यात्रा गर्नुपर्छ ।’

चाँगुनारायण–७ कलमसीकी सुनीता दंगाल सार्वजनिक बसमै निकै दु:ख भोग्नुपरिरहेको बताउँछिन् । ‘थोत्रो बसभित्र दुईतिर सिट, सिटको बीचमा दुवैतिरै फर्काएर सहचालकले यात्रुलाई उभ्याउँछन्,’ उनले दु:खेसो पोखिन्, ‘हलचल गर्ने ठाउँ हुँदैन तैपनि यात्रु कोचेको कोच्यै ।’ कमल विनायकदेखि नगरकोट चल्ने सीमित बसमा यात्रुले कोच्चिएर यात्रा गर्नुपर्ने बाध्यता छ ।

चाँगुनारायण नगरपालिका सुडाल, ताथली, बागेश्वरी, नगरकोट, छालिङ, दुवाकोट, सरस्वती खेल, सूर्यविनायक नगरपालिकाका गुन्डु, गाम्चालगायत क्षेत्रका स्थानीय बासिन्दाले समयमा सार्वजनिक बस चढ्न पाउँदैनन् । बस चढ्नै पाए पनि कोच्चिएर यात्रा गर्नुपर्ने बाध्यता छ । च्याम्हासिंह–सुडालसम्मको करिब ४ किलोमिटरको दूरीमा चल्ने सार्वजनिक बस आलोपालो क्यु प्रणालीअन्तर्गत आधा/आधा घण्टामा चल्ने गरेको छ ।

सार्वजनिक यातायातमा गुणस्तरीय सेवा विस्तार गर्ने भन्दै सरकारले सिन्डिकेट खारेज गरे पनि कुनै सुधार भने देखिएको छैन । नयाँ व्यवसायीको प्रवेश हुन नसक्नु र भएका बस पुरानै समितिअन्तर्गत सञ्चालन हुनुले यात्रुले परिवर्तनको अनुभूति गर्न पाएका छैनन् । मयूर यातायातले बनेपाबाट भक्तपुर हुँदै कोटेश्वर चक्रपथ परिक्रमा रुटमा यातायात सञ्चालन गरेपछि उत्पन्न विवादले सरकारले गत चैत १८ गते यातायात क्षेत्रको सिन्डिकेट खारेज भएको घोषणा गर्‍यो । देशभरका सबै यातायात समिति खारेज गर्दै कम्पनीमा दर्ता गर्नुपर्ने प्रावधान लागू गर्‍यो । तर, अरनिको राजमार्ग भएर जाने बनेपा, धुलिखेल, पनौती, सिन्धुली, बर्दिबास र उदयपुरसम्म केही नयाँ यातायात व्यवसायीको प्रवेश हुनुका साथै सूर्यविनायकबाट पोखरासम्म आरामदायी र अत्याधुनिक पर्यटक बस सेवा सञ्चालन भयो ।

जिल्लाको ग्रामीण भेगका रुटमा न त नयाँ व्यवसायीको प्रवेश भएको छ न त पुराना व्यवसायीले नयाँ बस नै थपेको छ । बस सेवामा पनि कुनै परिवर्तन आउन सकेको छैन । जिल्लाको चाँगुनारायण नगरपालिकाका नगरकोट, तेलकोट, छालिङ, दुवाकोट, सुडाल, ताथली, बागेश्वरी, कलमसी, सूर्यविनायक नगरपालिकाका सिपाडोल, दधिकोट, बालकोट लगायत क्षेत्रमा सञ्चालित रुटमा नयाँ व्यवसायीको प्रवेश नहुनुले पुराना व्यवसायीको राज चलेको छ ।

चल्दैनन् बस
सूर्यविनायक नगरपालिका–८ आशापुरी नैचालकी फूलमाया तामाङ दिनहुँ हरियो तरकारी बेच्न ३ घण्टा पैदल हिँडेर सूर्यविनायक चोक पुग्छिन् । तरकारी बेचिसकेर फर्किंदा दिनै बित्ने गरेको नैचालका कृषकहरूको गुनासो छ । काभ्रे र भक्तपुरको सिमानास्थल नैचाल आशापुरी महादेव मन्दिर क्षेत्रका बासिन्दा बस चढ्न ३ घण्टा पैदल हिँडेरै सूर्यविनायक आउने गरेको उनले बताइन् । सूर्यविनायक, घ्याम्पेडाँडा, पाटी भन्ज्याङ, साहु नैचाल, आशापुरी क्षेत्रमा सार्वजनिक बसको व्यवस्था नहुँदा व्यवसाय ढुवानीमा समेत कठिनाइ भएको उनको गुनासो छ ।

सोही स्थानकी ठूली तामाङ दिनहुँ बिहान ७ बजे एकभारी साग, लसुन, मूलालगायत हरियो तरकारी बोकेर सूर्यविनायक चोकको तरकारी बजार आइपुग्छिन् । बिहानै ४ बजे तरकारीको भारी बोकेर बाटो लागेकी सुनीता ३ घण्टा पैदल हिँडेपछि मात्र सूर्यविनायक आइपुग्छिन् । ‘एउटा नक्सापासको सिफारिस लिन दिनै माया मार्नुपर्छ,’ स्थानीय सन्तोष तामाङले भने । भक्तपुर र काभ्रेको सिमानामा पर्ने रानीकोटगढी, काभ्रेको रयाले, बेवर, बाबियो डाँडा, कुशादेवी लगायतका कृषकहरू ३ देखि ५ घण्टा पैदल हिँडेपछि मात्र गन्तव्यमा पुग्छन् । यस भेगका बालबालिका २ देखि ३ घण्टा पैदल हिँडेर विद्यालय जाने गरेका छन् ।

यदि परिवारका कोही सदस्य बिरामी भइहाले कसरी अस्पताल पुर्‍याउने भन्ने चिन्ताले सताइरहने स्थानीय फूलमाया तामाङ बताउँछिन् । ‘सञ्चो हुँदा त जति समय लगाएर गन्तव्य पुग्दा पनि भयो,’ उनले भनिन्, ‘बिरामी पर्‍यो भने आपत् आइलाग्छ, यो ठाउँमा एम्बुलेन्ससमेत आउन मान्दैन ।’ एम्बुलेन्सको विकल्पमा धेरैले ट्याक्सीलाई रोजे पनि ट्याक्सी भाडा धेरै महँगो लिने उनको गुनासो छ ।नयाँ नगरका बासिन्दालाई सार्वजनिक बस चढ्न घण्टौं पैदल हिँड्नुपर्ने बाध्यता छ । ‘सार्वजनिक बस चल्दैन, बस चढ्नकै लागि ३ घण्टा हिँड्नुपर्छ,’ स्थानीय एवं सूर्यविनायक नगरपालिका वडा नम्बर ८ का वडा सदस्य अजय तामाङले भने, ‘नजिक स्वास्थ्य चौकी छैन, जंगलको बाटो हुँदै पलाँसे पुग्नुपर्छ ।’

प्रकाशित : भाद्र ३, २०७५ ०९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?