१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

सीमांकन विवादले ६ वर्षमा पनि पुल बनेन

सुरुको डिजाइनअनुसार पुल निर्माण गर्न नसकेकाले ढिलाई भएको सडक डिभिजन कार्यालय भक्तपुरको भनाई

भक्तपुर — जग्गा सीमांकन विवादले काठमाडौं र भक्तपुर जिल्ला जोड्ने मनोहरा खोला पुलको निर्माण कार्य रोकिएको छ ।

सीमांकन विवादले ६ वर्षमा पनि पुल बनेन

खोलाका वहाव परिवर्तनका कारण विवाद बढेपछि पुलको निर्माण कार्य अन्योलमा परेको स्थानाीय बासिन्दा बताउँछन् । उक्त पुल ६ वर्षअघि डिभिजन सडक कार्यालय भक्तपुरले निर्माण सुरु गरेको थियो । ‘जहरे खहरेको जग्गा अतिक्रमण भएको छ, पुलसम्म पुग्ने सडकमा बाली लगाइएको छ,’ कागेश्वरी मनोहरा नगरपालिका–४ ब्रह्मखेलका ऋपुसूदन थापाले भने, ‘सार्वजनिक बाटो मिचेका कारण पुल निर्माणमा समस्या छ ।’

भक्तपुरको चाँगुनारायण नगरपालिका–४ मिलाख्वाटबाट काठमाडौंको कागेश्वरी मनोहरा–४ ब्रह्मखेल जोड्ने पुल समयमा नबन्दा सर्वसाधारणलाई आवतजावतमा समेत समस्या परेको छ । ‘फलामे पुल जीर्ण अवस्थामा छ, वर्षातको समयमा आवतजावत गर्न कठिन छ,’ चाँगुनारायण–४, हलचापका रामेश्वर श्रेष्ठले भने, ‘हाम्रो आउजाउ भक्तपुरभन्दा काठमाडौंमै बढी छ ।’

पुल नबन्दा अध्ययन गर्न काठमाडौं जाने बालबालिकालाई खोला तर्न कठिन भएको उनले बताए । चाँगुनारायण क्षेत्रका करिब २ सय बालबालिका कागेश्वरीमा अध्ययनरत भएको उनी बताउँछन् ।

काठमाडौंमा घर भएका कतिपयको भक्तपुर र भक्तपुरमा घर हुनेको काठमाडौंमा जग्गा भएकाले पनि खोलाका कारण खेतीपाती गर्न समस्या हुने गरेको स्थानीयको गुनासो छ । ‘हामीलाई भक्तपुरमा भन्दा काठमाडौं जान नजिक पर्छ,’ स्थानीय सानु श्रेष्ठले भने, ‘अड्डा/अदालत, कागजी काम मात्र भक्तपुरमा हुन्छ, बाँकी सबै कारोबार काठमाडौंमै हो ।’

आर्थिक वर्ष ०६९/७० मा डिभिजन सडक कार्यालय भक्तपुरले श्री नागार्जुन कोसी एन्ड न्यौपाने/जेभी निर्माण कम्पनीसँग ३ करोड ५० लाख लागतमा पुल निर्माण सम्झौता गरेको हो ।

सुरुको डिजाइनअनुसार पुल निर्माण गर्न नसकेकाले ढिलाई भएको कार्यालय प्रमुख इन्जिनियर गुरुप्रसाद अधिकारीले बताए । ‘प्राविधिकले गरेको माटो परीक्षणअनुसार सतहको गहिराइमा माटो नभई ढुंगा भेटियो, डिजाइनअनुसार पुल नबन्ने भयो,’ उनले भने । डिजाइन परिवर्तन गरी निर्माण थाल्दा निर्माण कार्यमा केही ढिलाइ भएको उनले बताए । पछिल्लो डिजाइनअनुसार निर्माण थाले पनि जग्गा विवादले सडक नहुँदा निर्माण सामग्री ल्याउन नसकेको र पुल निर्माणमा थप समस्या आएको उनले जनाए ।

ब्रह्मखेल–चाँगुनारायण जोड्ने ५२.५ मिटर लम्बाइको २ लेन पुलको ३५ प्रतिशत निर्माण कार्य सम्पन्न भएको डिभिजन सडक कार्यालय भक्तपुरका सब–इन्जिनियर रामचन्द्र फुयाँलले बताए । पछिल्लो डिजाइनअनुसार पुल निर्माण २०७५ असार मसान्तभित्र सम्पन्न गर्ने गरी सम्झौता भएको थियो । तर निर्माण रोकिएकाले म्याद थपको प्रक्रिया अघि बढाइएको फुयाँलले बताए ।

सडक कार्यालयले गत फागुनमै स्थानीयसँग जग्गा विवाद समाधानका लागि समन्वय गर्न कागेश्वरी मनोहरालाई पत्राचार गरिसकेको प्रमुख इन्जिनियर अधिकारीले बताए ।

कागेश्वरी मनोहरा नगरपालिका–५ का वडाध्यक्ष एवं नगरपालिका प्रवक्ता राजाराम पुडासैनीले भने, ‘साविक मनोहरा खोलाको धार परिवर्तन हुँदै जाँदा सीमांकनमा समस्या आएको छ ।’ जग्गा विवाद टुंग्याउन नगरसभाबाट निर्णय गरी अमिन पठाइसकेको उनले जनाए । वर्षाको समयमा सीमांकन गर्दा समस्या हुन सक्ने भएकाले असोजपछि विवाद अन्त्य गरिने उनको भनाइ छ ।

प्रकाशित : भाद्र ५, २०७५ ०८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?