कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

मेलम्चीमा ३४ करोड लिटर थपिने

याङग्री र लार्केको डीपीआर तयार
दीपेन्द्र विष्ट

काठमाडौँ — खानेपानी तथा सरसफाइ मन्त्रालयले मेलम्ची खानेपानी आयोजनाअन्तर्गत दोस्रो चरणमा याङग्री र लार्के खोलाको विस्तृत अध्ययन परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको जनाएको छ । डीपीआर स्पेनको परामर्शदाता कम्पनी इप्टिसाले तयार गरेको हो ।

मेलम्चीमा ३४ करोड लिटर थपिने

गतवर्ष आयोजनाले दिएको एक वर्षको समयावधिभित्र परामर्शदाताले डीपीआर तयार गरी बुझाएको हो । ‘अन्तर्राष्ट्रिय विज्ञले यस विषयमा छलफल गरिराखेका छन्,’ खानेपानी मन्त्रालयका सचिव गजेन्द्रकुमार ठाकुरले भने, ‘डीपीआरका सुधार गर्नुपर्ने पक्ष समेटेर स्वीकृत गरिनेछ ।’ नर्वे, क्यानडा, भारतलगायतका मुलुकबाट विज्ञ मगाएर छलफल भइरहेको उनले बताए । तीन महिनाभित्र अन्तर्राष्ट्रिय टेन्डर आह्वानमार्फत काम सुरु गरिने उनले जनाए ।


सिन्धुपाल्चोकको याङग्री र लार्के खोलाबाट ३४ करोड लिटर पानी उपत्यकामा ल्याउने लक्ष्य आयोजनाको छ । यी खोलाबाट थप पानी आपूर्तिका लागि सुरुङको संरचना निर्माण सुरु भइसकेको पनि ठाकुरले बताए । मेलम्चीदेखि लार्केबीच निर्माण गर्नुपर्ने सुरुङको लम्बाइ ११ किमि छ ।


मेलम्चीको अम्बाथान (हेडवर्कस) बाट २ किलोमिटर पर लार्के खोला छ । लार्केबाट याङग्रीको मुहानसम्म २ किलोमिटर सुरुङ बनाएर ल्याइने पानी सिधै मेलम्चीको हेडवर्क अम्बाथानमा ल्याइएर मिसाइन्छ । तीनवटै खोला मेलम्ची, याङग्री र लार्केबाट गरी कुल ५१ करोड लिटर पानी अम्बाथानदेखि २६ किलोमिटर टाढाको सुन्दरीजलमा सुरुङबाट ल्याइनेछ ।


साढे ८ करोड लिटर पानी प्रशोधन गर्न सक्ने केन्द्रको निर्माण सम्पन्न भइसकेको र अर्को प्रशोधन केन्द्र पनि निर्माण भइरहेको मन्त्रालयले जनाएको छ । काठमाडौं उपत्यकामा दैनिक ३८ करोड लिटर पानी आवश्यक भए पनि १२ करोड लिटर मात्र आपूर्ति हुँदै आएको छ ।


बर्खामा भने उपत्यकामा १७ करोड लिटर पानी आपूर्ति हुन्छ । मेलम्ची खानेपानी आयोजनाका प्रमुख सूर्यप्रसाद कँडेलले याङग्री र लार्के खोलासम्म पुग्ने सडक विस्तार तथा स्तरोन्नतिको काम सुरु भइसकेको बताए । २०२१ सम्ममा ३४ करोड लिटर पानी उपत्यकामा ल्याउने लक्ष्य छ । याङग्री र लार्केबाट डाइभर्सन सुरुङमार्फत पानी आपूर्ति गर्न करिब ३० अर्ब रुपैयाँ लाग्ने अनुमान छ । एसियाली विकास बैंक (एडीबी) ले मेलम्चीको दोस्रो आयोजनामा लगानी गर्नेछ ।

पानी ३ महिनामा सुन्दरीजल
त्यसैगरी अम्बाथानदेखि सुन्दरीजलसम्मको २६ किमि सुरुङ ढलान गर्ने काम धमाधम भइरहेको छ । आयोजना प्रमुख कँडेलले ३ महिनाभित्र सुन्दरीजल प्रशोधन केन्द्रमा पानी खसाल्ने बताए ।


यो पानी समानुपातिक ढंगले उपत्यकावासीलाई वितरण गरिनेछ । हाल उपत्यकाका विभिन्न स्थानमा खानेपानीको पाइप बिछयाउने र धारा जोड्ने काम भइरहेको आयोजना कार्यान्वयन निर्देशनालय प्रमुख त्रिरेशप्रसाद खत्रीले बताए ।


खानेपानी वितरणका लागि ८० हजार धारा जडान भइरहेको खानेपानी आयोजना निर्देशनालयका निर्देशक त्रिरेशप्रसाद खत्रीले जानकारी दिए । जसमध्ये ६० हजारभन्दा बढी धारा जडान भइसकेका छन् । मंहाकालचौर, बाँसबारी, पानीपोखरी, बालाजु, खुमलटार, आरुबारी, कीर्तिपुर, कटुञ्जे र भक्तपुरमा रिजर्भ टयांकी निर्माण कार्य भइरहेको पनि उनले बताए ।


६ सय ४० किलोमिटर पाइप बिछयाइसकिएको जनाउँदै उनले सुन्दरीजलदेखि महांकालसम्म १० किमिमा पाइपमा पानी परीक्षण पनि भइसकेको बताए । उनका अनुसार परीक्षणका क्रममा बाग्मतीको प्रशोधित ३ करोड लिटर पानी महाकांल पानी टयांकीमा पठाइएको थियो ।


प्रकाशित : भाद्र ६, २०७५ १०:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?