प्रहरी हवल्दारको नक्कली प्रेम–पासो

युवतीको मृत्यु रहस्यमय
जनकराज सापकाेटा

काठमाडौँ — साउनको कुरा हो । मीनबहादुर पुडासैनीले अचानक खबर पाए, बैनी चमेली घले बिरामी भएर अस्पतालमा भर्ना भएकी छन् । अनामनगरमा रहेका मीन हतारिँदै वसुन्धरामा रहेको ग्रिन सिटी अस्पतालमा पुगे । बैनीको सघन उपचार कक्षामा उपचार भइरहेको रहेछ ।

अस्पतालकै कर्मचारीले विष सेवन गरेकी चमेलीलाई उनका श्रीमान्ले अस्पताल ल्याएर भर्ना गरेको सुनेपछि पुडासैनी चकित परे । किनकि रसुवा कालिका गाउँपालिका ५ घर भई असार २३ देखि रसुवाकै उत्तरगथा गाउँपालिका २ स्थित डाँडागाउँ माविमा शिक्षक पदमा कार्यरत बैनीको बिहे भएकै थिएन ।


उपचारकै क्रममा सोही दिन बैनीको मृत्यु भएपछि पो पुडासैनीले थाहा पाए, रसुवाबाट कसरी बैनी काठमाडौं आइन् । जीवनका के कस्ता घटना जेलिएर कसरी बैनीको मृत्यु भयो ? चमेलीको मृत्युको कथामा जोडिएका छन्, एक प्रहरी हवल्दार । गोरखाको विकट ताक्लुङ गाउँबाट गोर्खा सदरमुकामको टक्सार हुँदै चितवनमा बसाइँ सरेका हवल्दार राजेन्द्र तिवारीले अस्पताल भर्ना गर्दा आफू बिरामीको श्रीमान् भएको बताएका थिए । चमेलीको मृत्युका पछाडि यिनै राजेन्द्रसँग जेलिएको सम्बन्ध जिम्मेवार छ ।

Yamaha


४ साउन । बिहान ३:३५ । अस्पतालको कागजात हेर्दा मनमैजुस्थित डेराबाट चमेलीलाई तिवारीले महाराजगन्जको शिक्षण अस्पताल पुर्‍याएको थाहा हुन्छ । सघन उपचार कक्षमा बेड खाली नभएपछि अस्पतालले चमेलीलाई ग्रिन सिटी अस्पतालमा रेफर गरिदिएको थियो । जहाँ दाइ मीनले निस्प्राण बैनीलाई भेटेका थिए । बैनीको मृत्युपछि र उनको मोबाइलमा भएका म्यासेज र म्यासेन्जरमार्फत भएका कुराकानीको रेकर्ड सुनेपछि मीनले थाह पाए, कसरी बैनी नक्कली प्रेम–पासोमा परेकी रहिछे भनेर ।


एक वर्षभन्दा लामो समययता चमेली हवल्दार राजेन्द्रसँग प्रेमसम्बन्धमा थिइन् । राजेन्द्रले चमेलीलाई आफू अविवाहित भएको झूटो तथ्य बताएर प्रेमको नाटक गरेका थिए । प्रेमी विवाहित भएको थाहा पाएपछि चमेली सम्बन्ध टुटाएर बस्न खोजिरहेकी थिइन् । कान्तिपुरलाई प्राप्त उनीहरूबीचको संवादको रेकर्ड सुन्दा चमेली प्रेमीको झूठ थाहा पाएपछि समझदारीमा सम्बन्धलाई अन्त्य गर्ने निष्कर्षमा पुगेको देखिन्छ । राजेन्द्र भने विवाहित भए पनि दोस्रो विवाह गर्ने पक्षमा रहेका थिए।


प्रेमसम्बन्धको सबै कुरा बिर्सेर आ–आफ्नो बाटो हिँडने पक्षमा चमेली रहे पनि राजेन्द्र भने आक्रोशित बन्दै सम्बन्धमा रहँदाका तस्बिरहरू प्रयोग गरेर चमेलीलाई उपयोग गर्ने पक्षमा उभिन्छन् । कान्तिपुरलाई प्राप्त उनीहरूबीचको संवादमा चमेलीले भनेकी छन्, ‘तपाईंको घरमा छोराछोरी छन्, श्रीमती छ । मलाई किन सत्य कुरा बोल्नुभएन ।’


सम्बन्धको यही उतारचढावमा स्कुल बिदा लिएर काठमाडौं आएकी चमेली केही दिनयता परिवारका सदस्यको सम्पर्कबाहिर हुन्छिन् । बैनीको मृत्युपछि मीनले महानगरीय प्रहरी वृत्त बालाजुमा बैनीमाथि हिंसा र बलात्कारपछि हत्या भएको भन्दै निवेदन दर्ता गराए । लगत्तै बालाजु वृत्तले राजेन्द्रलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ । बालाजु वृत्तका डीएसपी चिरञ्जीवी कोइरालाले तिवारीलाई जिल्ला अदालतले पूर्पक्षका लागि थुनामा पठाएको बताए ।


डीएसपी चिरञ्जीवीले राजेन्द्रले विवाहेत्तर सम्बन्ध राखेको र चमेलीलाई डेरा लिएर राखेको बताए । मीनले बैनीको शरीरमा चोट रहेकाले घटना शंकास्पद रहेको बताए । प्रहरी सेवामा रहे पनि राजेन्द्रको विगत विवादास्पद देखिन्छ । जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत राजेन्द्र विगतमा केही आपराधिक घटना र महिला हिंसाको घटनामा पनि मुछिएका थिए । गोर्खाकै लार्के प्रहरीचौकी प्रोकमा जवान पदमा कार्यरत रहँदा राजेन्द्रमाथि व्यक्ति हत्याको अभियोग लागेको थियो । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार २०६५ साउन १३ मा उनीविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको थियो ।


सिर्दिबास १ की ३९ वर्षीया पम्फाकुमारी कार्कीलाई भीरबाट धकेलेर हत्या गरेको आरोपमा मुद्दा चलेपछि २०६५ पुस ५ मा तिवारीलाई पुर्पक्षका लागि थुनामा पठाइएको थियो । ‘जागिरले प्रहरी भन्थे अनेक गतिविधि गर्थे,’ राजेन्द्रको पूर्व छिमेकीसमेत रहेको एक स्थानीय शिक्षकले भने, ‘मान्छे मारेको केशपछि पनि जागिर जोडियो,’ उनले भने, ‘गाडी किनेका थिए, घरजग्गाको कारोबार गर्थे, प्रहरीको सामान्य जागिर खाने मान्छेले लाखौंलाखको व्यवसाय गरेको देख्दा हामी पनि छक्क परेका थियौं ।’

प्रकाशित : भाद्र ६, २०७५ १०:२७
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

युवती हत्या प्रकरणः निर्मलाको हत्या कर्तव्य ज्यानमा सजाय भुक्तान गरेका कैदीबाट

जनकराज सापकाेटा

काठमाडौँ — नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले कञ्चनपुर भीमदत्त नगरपालिका-२ की निर्मला पन्तको बलात्कार पछि हत्या ४१ वर्षीय दीलिप सिंह विष्टले गरेको निष्कर्ष निकालेको छ । गत साउन १० गते घरबाट निस्केर साथीको घर पढ्न गएकी निर्मला साइकलमा फर्किँदा बाटोमा चेन बिग्रेको र चेन बनाइदिने निहुँमा दीलिपले बलात्कार गरेको ब्युरोको निष्कर्ष छ ।

फाइल फोटोः कञ्चनपुर बजार ।

ब्युरोको अनुसार बलात्कारको प्रतिकारमा निर्मलाले चिच्याउँदा पोल खुल्ने डरले दीलिपले घाटी थिचेर हत्या गरेको अनुसन्धानको क्रममा दीलिपले बताएक थिए।

साथीको घरमा पढेर फर्केकी निर्मलाको शव भीमदत्त नगरपालिकाको वडा नम्बर १८ र २ को सिमानामा पर्ने निम्बुखेडा खोलाको पुर्व उत्तर तर्फको उखुबारीमा फेला परेको थियो। अनुसन्धानमा खटिएको ब्युरोको एक अधिकारीले निर्मलाको साइकलको चेन बिग्रिरहने समस्या भएको र त्यही चेन बनाइदिने बहानामा यौन विक्षिप्त दीलिपले बलात्कार पछि हत्या गरेको बताए। घटनाको भोलिपल्ट बिहान अन्दाजी बिहान आठ बजे मात्रै स्थानीय कृष्ण केसीले साइकल खोलमा देखेर निर्मलाको आफन्तलाई खबर गरेपछि बलात्कार पछि हत्याको घटना बाहिर आएको थियो। ब्युरोले १० गते अन्दाजी साढे दुईदेखि तीन बजेको बीचमा बलात्कार र हत्याको घटना भएको निष्कर्ष निकालेको छ।

घटना सार्वजनिक भएको भोलिपल्टै केन्द्रीय अनुसन्धान ब्युरोबाट डिएसपी अंगुर जिसी, इन्सपेक्टर गणेशसापकोटा र सई धर्मेन्द्र राई नेतृत्वको टोली अनुसन्धानका निम्ति कञ्चनपुर पुगेको थियो। अनुसन्धानमा संग्लन एक प्रहरी अधिकारीका अनुसार टोलीले कञ्चनपुरस्थित जिल्ला कारागारबाट बलात्कार र कर्तव्य ज्यान मुद्धामा सजाय भुक्तान गरेर छुटेका पूर्व कैदीहरुको गतिविधि निगरानी गरिरहेको थियो। आइतबार प्रहरीले मृतक निर्मलाको साइकल भेटिएको स्थानको करिब ५० मिटर पश्चिम तर्फको सडक किनारमा सादा पोशाकमा खटिएका प्रहरीले हातमा लठ्ठी लिएर उभिरहेका दीलिपलाई भेटेको थियो। शंकास्पद व्यवहार देखाएका दीलिपलाई सोधपुछ गर्न लाग्दा उनी भाग्न खोजेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो। अनुसन्धानमा संग्लन प्रहरीका अनुसार कुनै प्रतिशोध वा रिसिइबीले भन्दा पनि यौन भोक शान्त पार्न नै दीलिपले बलात्कार गरेको र पछि हत्या गरेको देखिन्छ।

ब्युरोले आइतबार नै दीलिपलाई जबरजस्ती करणी र कर्तब्य ज्यान मुद्धामा जिल्ला अदालत कञ्चनपुरबाट म्याद थप गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र केन्द्रीय अनुसन्धान ब्युरोको समन्वयमा उनीमाथि थप अनुसन्धान भइरहेको छ।

को हुनु दीलिप?

केन्द्रीय अनुसन्धान ब्युरोको अनुसार कर्तब्य ज्यान मुद्धामा ९ वर्ष जेल सजाय भुक्तान गरी निस्केका दीलिप मानसिक रुपमा ठिकै भएपनि सन्की व्यवहारका थिए। २०६५ सालमा आफ्नै कान्छो भिनाजु नारायण सिंह थापाको हत्या गरेको अभियोगमा जेल सजाय भोगेका दीलिप २०७४ जेठमा मात्रै कैद सजाय पुरा गरेर छुटेका थिए।

ब्युरोले दीलिपको विगत समेत आपराधिक पृष्ठभूमीले भरिएको बताएको छ। गाँजा र मादक पर्दाथका अम्मली रहेको दीलिप ९ कक्षामा पढने बेलामा नै एक युवतीसँग एकोहोरो मायामा परेका थिए। मन पराएकी युवतीलाई बारम्बार बाटो छेक्ने र दु:ख दिने गरेपछि युवतीका आफन्तले उनलाई टाउकोमा चोट पर्नेगरी कुटपीट गरेको र त्यसपछि पढाई छाडेका दीलिप केटी प्रति आशक्त व्यवहार देखाउने र असामान्य व्यवहार देखाउने गरेका थिए। ब्युरोले दीलिप यसअघि पनि विभिन्न बलात्कारको घटनामा संग्लन रहेको र परिवारका निम्ति समेत त्रास बन्ने गरेको बताएको छ।-

प्रकाशित : भाद्र ४, २०७५ १८:०८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT