कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

अनावश्यक परीक्षण गराउँछन् मेडिकल प्रयोगशाला

प्रयोगशाला स्थापना तथा सञ्चालन मापदण्डसम्बन्धी निर्देशिकामा देशभित्रको प्रयोगशालामा परिक्षण सम्भव नभए मात्र विदेश पठाउने मिल्नेभएपनि कमिसनका लागि पठाउने अभ्यास हुने गरेको छ
फातिमा बानु

काठमाडौँ — काठमाडौं– छाला पहेंलो हुने, कमजोरी हुनेजस्ता समस्या भोग्दै आएकी एक महिला नजिकैको फार्मेसी पुगिन् । ललितपुरको लुभुस्थित फार्मेसीमै कार्यरत डाक्टरले रगत परीक्षण गर्नुपर्ने भनेपछि उनी तयार भइन् । रगत नमुना लिइएको फार्मेसीमा ल्याब (प्रयोगशाला) भने थिएन ।

अनावश्यक परीक्षण गराउँछन् मेडिकल प्रयोगशाला

संकलित रगत जाँच्नु पहिले गर्नुपर्ने प्रक्रियाका लागि आवश्यक पूर्वाधार पनि थिएन । र, यस्ता ठाउँमा रगत जाँचे पनि वास्तविक नतिजा आउँदैन भन्नेबारे उनी अनभिज्ञ थिइन् ।


ज्वरो आएर घरमा आराम गरिरहेकी एक युवतीलाई उनकी साथी (व्यावसायिक ल्याब टेक्निसियन) भेट्न आइन् । रगत लिएर आफू कार्यरत ग्वार्कोस्थित एक अस्पतालको प्रयोगशालामा परीक्षण गरिदिने भनेपछि बिरामी साथी राजी भइन् । सिरिन्जले रगत तानिन् र झोलामा राखेर हिँडिन् । प्रयोगशाला सञ्चालन मापदण्डअनुसार विशेषज्ञ डाक्टरको पुर्जीबिना कसैले बिरामीको नमुना रगत संकलन गर्न मिल्दैन ।


लामो समयदेखि छालासम्बन्धी समस्या भोगिरहेकी एक महिला नयाँ बानेश्वरको एक निजी अस्पताल पुगिन् । औषधि चलाउनुपूर्व रगत जाँचका लागि भारत पठाउनुपर्ने भनियो । महिलाको मञ्जुरीमा रगत संकलन भयो, भारतबाट रिपोर्ट पनि आयो । उनी हाल सोही अस्पतालमा उपचारत छिन् । प्रयोगशाला स्थापना तथा सञ्चालन मापदण्डसम्बन्धी निर्देशिका २०७३ अनुसार कुनै पनि परीक्षण गर्न देशभित्रको प्रयोगशालामा सुविधा नभए मात्रै विदेश पठाउन मिल्छ ।


यसका लागि पनि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको अनुमति लिनैपर्छ । देशमै हुन सक्ने परीक्षण पनि कमिसनका लागि विदेश पठाउने अभ्यास हुने गरेको छ । थापाथलीस्थित प्रसूति गृहकी प्याथोलोजिस्ट डा. रुना झा भन्छिन्, ‘विदेश नै पठाउनुपर्ने खालका नमुना परीक्षण निकै कम हुन्छन्, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा लगभग सबै सुविधा छ ।’


परीक्षण गर्न नमुना संकलन विदेश पठाइहाल्नुपरे पनि सेवाग्राहीसँग थप शुल्क लिन नपाइने निर्देशिकामा उल्लेख भए पनि कार्यान्वयन हुँदैन । अत्याधुनिक परीक्षण गरिने भन्दै बिरामीबाट महँगो शुल्क उठाइन्छ । विदेश ढुवानी गरिएका नमुना संकलनको विधि र नतिजा रिपोर्ट राष्ट्रिय प्रयोगशालामा बुझाउनुपर्ने बाध्यकारी नियम भए पनि कार्यान्वयन हुँदैन । सम्बन्धित निकायबाट यसको अनुगमन पनि हुन सकेको छैन ।


यी मेडिकल प्रयोगशालामा हुने लापरबाहीमध्येका केही सामान्य उदाहरण मात्रै हुन् । डाक्टरले अनावश्यक परीक्षण लेखिदिएर क्लिनिक नै तोकी जाँच्न पठाउने, नेपालमै हुन सक्ने परीक्षण विदेशी प्रयोगशाला सिफारिस गरिदिने, तलब बढ्ने लोभमा अस्पतालको फाइदाका लागि अनावश्यक ल्याब परीक्षण लेखिदिने या परीक्षण शुल्कमा एकरूपता नहुनेजस्ता लापरबाही पनि भइरहेका छन् । घरैमा गर्भवती जाँचका लागि भनेर बनेका विभिन्न किट पनि सुरक्षित मान्न नसकिने विशेषज्ञ बताउँछन् ।


तर, यस्ता अभ्यास रोकिन सकेको छैन । सरकारी स्तरबाट हुने जनचेतनाको पाटो पनि कमजोर छ । प्रयोगशालाबाट रगत, शरीरका तन्तु, शल्यक्रिया गरी निकालिएको मासु र पानीको सूक्ष्म अध्ययन गरिन्छ । यसले रोगको पहिचान, जाँच, उपचार र निदानमा सघाउँछ । तर यसमा हुने लापरबाहीले रोगको पहिचान नहुने तथा गलत उपचार विधिकै कारण बिरामी मृत्युको मुखसम्म पुग्न सक्छन् । निर्देशिकाले दक्ष प्रयोगशालाकर्मीबाट विशेष प्रक्रिया पूरा गरेर मात्रै परीक्षण कार्य गर्न सकिने उल्लेख गरेको छ । तर १८ महिने तालिम लिएका प्राविधिकको भरमा आवश्यक पूर्वाधारबिनै प्रयोगशाला चलाउने अभ्यास रोकिन सकेको छैन ।


अध्ययनका लागि विदेश जाने प्रक्रिया पूरा गर्न एक युवालाई मेडिकल रिपोर्ट बुझाउनुपर्ने भयो । यस्ता मेडिकल प्रक्रिया अनावश्यक लागेपछि उनले उपाय निकाले– चिनेका डाक्टरलाई अनुरोध गरी बिनापरीक्षण फाराममा छाप पनि लगाए । उनी अहिले वैदेशिक रोजगारमा छन् । यस्ता लापरबाहीको अनुगमन कहिले हुने ? या स्वास्थ्यकर्मी आफंैले केही आर्थिक फाइदाका लागि यस्ता गलत अभ्यास गरिरहेकै छन् । यस्ता अभ्यासले गुणस्तरीय प्रयोगशालामाथि प्रश्न उठ्ने गरेको डा. झा बताउँछिन् । उनी भन्छिन्, ‘सरकारले नेपालमै एउटा मात्रै अत्याधुनिक प्रयोगशाला खोल्नतर्फ लाग्नुपर्छ, यसो गर्दा जथाभावी खुलेका प्रयोगशाला आफैं निरुत्साहित हुन्छन् ।’


नेपाल मेडिकल ल्याबोरेटरी संघका अध्यक्ष राजेन्द्र खडका भन्छन्, ‘स्वास्थ्य व्यवसायी परिषद्ले जथाभावी लाइसेन्स दिने गरेको छ, आफूले सञ्चालन अनुमति दिने ल्याबको अनुगमन गर्दैन ।’ उनले मापदण्डविपरीत सञ्चालित प्रयोगशालाको अनुगमन गरी बन्द गर्नुपर्ने बताउँछन् । राजधानीका गल्ली–गल्लीमा विभिन्न प्रयोगशाला खोलिएका छन् । धेरै प्रयोगशाला खोल्न अनुमति दिएकै कारण अनुगमन गर्नसमेत जनशक्ति अभाव हुने गरेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका कर्मचारी बताउँछन् ।

प्रकाशित : भाद्र ६, २०७५ ०९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?