आर्यघाटको मेचमा बस्दा करेन्ट लागेर मृत्यु

मान्छेलाई नै करेन्ट लागेर ज्यान गएको यो पहिलो घटना हो, यसअघि यस्तो करेन्टमा बाँदर पर्ने गरेका थिए । डेढ दशकअघि एकैपटक पचासभन्दा बढी बाँदरको मृत्यु भएको थियो ।
शिल्पा कर्ण

काठमाडौँ — सोमबार दिउँसो ३ बजे । पशुपतिको दक्षिणी ढोकाबाट भित्र छिर्दै गरेकी अधवैंशे महिलाले ३/४ वर्षकी नानीको हात समातेकी थिइन् । ‘यता नचलाउ भन्दै छु, करेन्ट लाग्छ,’ ती नानीलाई सचेत गराएपछि सँगै रहेकी महिलालाई उनले भनिन्, ‘अस्ति यहाँ एक जना करेन्ट लागेर मरेको रे ।’

आर्यघाटको मेचमा बस्दा करेन्ट लागेर मृत्यु

त्यसैबेला अलि पर पशुपति आर्यघाटको २ नं. चितामा पुष्प गन्धर्वको दाहसंस्कार हुँदै थियो । ती महिलाले उल्लेख गरेका, करेन्ट लागेर मृत्यु भएका व्यक्ति पुष्प थिए । ४४ वर्षीय पुष्प गन्धर्वको शनिबार बेञ्चमा बस्दा करेन्ट लागेर मृत्यु भएको थियो ।


पशुपति क्षेत्रमा गाइडको काम गर्दै ६ जनाको परिवार चलाउँदै आएका गन्धर्वको मृत्युपछि परिवार बिचल्लीमा परेको छ । ‘त्यो दिन दिउँसोसम्म ३/४ जना टुरिस्टलाई घुमाउनुभएको थियो,’ गन्धर्वका साथी तथा गाइड एसोसिएसन अफ पशुपतिनाथका अध्यक्ष सुनील थापामगरले भने ।
गन्धर्वले त्यसै दिन एसोसिएसनका सदस्यले बुझाउनुपर्ने मासिक शुल्क पनि बुझाएका थिए । दिनभरिको काम सकेपछि उनी एकैछिन सुस्ताउन त्यहाँ बसेका थिए ।


पशुपति क्षेत्रमै कार्यरत एक गाइडका अनुसार आरती सकिएको केहीबेर मात्रै भएको थियो । व्यवस्थापन कार्यालयसँगै रहेको मलामी बस्ने फलामे मेचमाथि बस्दा गन्धर्वलाई करेन्ट लाग्यो ।
त्यसदिन राति ८ बजेतिर गन्धर्वलाई त्यहीं काम गर्ने नवराज प्याकुरेलले देखेका थिए । ‘दिनहुँ देखिरहेकै मान्छे, घाँटी बांगो बनाएर बेञ्चमाथि ढल्केका थिए । के भएछ भनेर मैले उठाउन खोजेको थिएँ । प्रहरीले रक्सी खाएको मान्छे होला छाडिदिनुस् भनेपछि उठाइनँ,’ उनले भने । पछि बालबालिकाले आएर सास नचलेको भनेपछि गन्धर्वका छोरालाई खबर गरियो । प्रहरीलाई पनि ।


परिवारका सदस्य आइपुगेपछि उनलाई सिनामंगलस्थित केएमसी अस्पताल पुर्‍याइयो । त्यहाँबाट टिचिङ लगियो । त्यहीं उनको ज्यान गयो । आइतबार उनका परिवार र गाइड एसोसिएसनले पशुपति विकास कोषविरुद्ध गौशाला प्रहरीमा उजुरी दिए । कोषको लापरबाहीले प्रवाहित करेन्टका कारण गन्धर्वको मृत्यु भएको भन्दै दोषीलाई कारवाही र क्षतिपूर्ति माग गर्दै प्रदर्शन पनि भयो ।


गन्धर्व आराम गर्न बसेको फलामे बेञ्चनजिकै बिजुलीको पोल छ । पोलसँगै खरीको बोट । बेञ्चमा बटारेर बाँधिएको नाङ्गो तार खरीको बोटमाथि हुँदै पोलमा जोडिएको थियो । ‘त्यो तार कसले जोड्यो, किन र कहिले जोडियो कसैलाई थाहा छैन । दिनभरि बत्ती नबल्ने भएकाले तारमा करेन्ट प्रवाह हुँदैन तर राति त्यसमा करेन्ट हुन्छ,’ अध्यक्ष थापामगरले भने, ‘यसमा कोषको लापरबाही देखियो ।’


ती तारहरू त्यसै फालिएको देखेर कसैले मेचमा बाँधेको हो वा कसैले बिजुलीको कुनै काम गरेर त्यत्तिकै छोडिदिएको हो, कसैलाई थाहा छैन । मान्छेलाई नै करेन्ट लागेर ज्यान गएको यो पहिलो घटना हो, यसअघि यस्तो करेन्टमा बाँदर पर्ने गरेको त्यहाँ कार्यरत रहेकाहरू बताउँछन् । काठमाडौं महानगर– ८ का अध्यक्ष दिनेशकुमार डंगोलले झन्डै डेढ दशकअघि कैलाशमा लगाइएको तारजालीमा करेन्ट प्रवाह भएपछि एकैपटक पचासभन्दा बढी बाँदरको मृत्यु भएको बताए ।


पशुपति विकास कोषले गन्धर्वका परिवारलाई क्षतिपूर्तिबापत १४ लाख रूपैयाँ एक साताभित्र उपलब्ध गराउने र मृतककी श्रीमती अनितालाई करारमा जागिर दिने सहमति उनको परिवारसँग गरेको छ । कोषले घटनाको नैतिक जिम्मेवारी लिएको र छानबिन गर्न समिति गठन गरेको एक कर्मचारीले जानकारी दिए । आफ्नो लापरबाही भएको स्वीकार्दै उनले कोषले यस विषयलाई गम्भीरतापूर्वक लिएको बताए ।


घटनाको भोलिपल्ट तार र सबै मेच हटाइएको छ । तर, मेच हटाउँदैमा समस्या नहट्ने यस क्षेत्रमा कार्यरतहरू बताउँछन् । फलामका संरचनासँगै नांगा तार हुँदा जतिखेर जे पनि हुन सक्ने थापामगर बताउँछन् ।

प्रकाशित : भाद्र ६, २०७५ ०९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?