कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

बिरामीका सहारा बिरामी

‘क्यान्सरलाई मृत्युसँग दाँज्ने दृष्टिकोण परिवर्तन होस्, उपचार अभावभन्दा पनि परामर्श नपाएका कारण बिरामी बढी आत्तिन्छन्’
फातिमा बानु

काठमाडौँ — खोकनाकी डली गुरुङलाई २ वर्षअघि क्यान्सर देखियो । क्यान्सर सुन्नासाथ उनले सोचिन्–अब बाँच्ने दिन धेरै छैन । क्यान्सरकै कारण आमादेखि मावाली परिवारका सदस्य गुमाए पनि रोगबारे उनी खास जानकार थिइनन् ।

बिरामीका सहारा बिरामी

जब उनी आफैं यो रोगबाट प्रताडित भइन् रोगभन्दा बढी उनलाई मानसिक चिन्ताले सतायो । कहाँ उपचार गर्ने, उपचार हुन्छ कि हुँदैन या उपचार गरे पनि निको हुन्छ या हुँदैन लगायत अनेक कुरा उनको दिमागमा आउनेजाने भइरह्यो । अहिले क्यान्सरमुक्त भइसकेकी उनको औषधिभन्दा परामर्शले बढी प्रभाव पारेको अनुभव छ । उनी भन्छिन्, ‘उपचार गर्नुअघि, गर्दागर्दै र गरेपछि पनि परामर्श लिइरहेँ ।’

उनलाई परामर्श दिने कुनै विज्ञ या विशेषज्ञ चिकित्सक थिएनन्, उनी जस्तै क्यान्सर प्रभावित थिए । रोग पहिचान हुनासाथ मनमा उत्पन्न भएको त्रास हटाउन उनलाई तीनै बिरामीले सघाएका थिए । उनी भन्छिन्, ‘अन्तिम स्टेजको क्यान्सरसम्म पुगेर सामान्य जीवनमा फर्केका मान्छेहरू भेट्दा म बढी सकारात्मक हुन्थेँ, बाँच्ने आशा जाग्थ्यो ।’

रोग र डर दुवै जितेकी उनी हाल क्यान्सरका बिरामीलाई परामर्श दिन्छिन् । उनी भन्छिन्, ‘क्यान्सरलाई मृत्युसँग दाँज्ने दृष्टिकोण परिवर्तन होस्, उपचार अभावभन्दा पनि परामर्शको नपाएका कारण बिरामी बढी आत्तिन्छन् ।’

पछिल्लो समय सरुवा रोगभन्दा क्यान्सर, मुटु, मृगौलाजस्ता नसर्ने रोगको प्रकोप भने बढ्दै गएको छ । जसमध्ये पहिलो र घातक नेपालमा क्यान्सर, मानिन्छ । जुन रोगले छोएपछि अधिकांश बिरामीले आफूलाई फाँसीको फन्दामा परेको महसुस गर्छन् । उपचार र औषधि पाए पनि मनोबल कमजोर भएका कारणले उनीहरूलाई मृत्युको मुखसम्म पुर्‍याउने गरेको चिकित्सक बताउँछन् ।

बिरामीबाट बिरामीलाई परामर्श गर्नका लागि कल्याणकारी समूह नै सक्रिय भएर लागेको छ । समूहमा सबै क्यान्सर प्रभावित व्यक्तिहरू छन् । उनीहरू अस्पतालमा क्यान्सरका बिरामी भेट्छन् । रोग र यससँग लड्नेबारे जानकारी दिन्छन् । उनीहरूबाट बिरामीले उपचारका सही डाक्टर र अस्पताल अनि औषधिका ‘साइडइफेक्ट’ बारे पनि थाहा पाउँछन् । जसले उनीहरूलाई उपचारलाई सहजै स्विकार्ने र सजिलै बाँच्ने कला सिकाउँछ ।

क्यान्सर प्रभावितमध्ये अधिकांशलाई रोग निको भएपछि अरू विभिन्न समस्या देखा पर्छन् । सुगर, डिप्रेसनलगायत अन्य रोगले समात्ने र फेरि क्यान्सर नै फर्किने सम्भावना पनि उत्तिकै हुन्छ । यसका लागि पनि बिरामीलाई सल्लाह दिने काम उनीहरू गर्छन् । बिरामी पनि डाक्टरका भन्दा अनुभवीका कुरामा बढी विश्वासी र ढुक्क हुन्छन् ।

आफ्ना अनुभव र संघर्षका उदाहरणले बिरामीलाई थप बलियो र सकारात्मक बनाउँछन् । रोग लाग्दा र उपचारका क्रममा उनीहरूको मनोबल आँटिलो बनाउन मद्दत पुग्ने गरेको बिरामी सुनाउँछन् । विकसित मुलुकमा क्यान्सरजस्तो घातक रोग निदानका लागि यस्तैखाले परामर्शलाई पनि सँगै लैजाने अभ्यास छ । नेपालमा भने उपचारका क्रममा यस्तो अभ्यास पछयाएको छैन ।

क्यान्सर रोग विशेषज्ञ डा.सुदीप श्रेष्ठ भन्छन्, ‘पहिलो कुरा त बिरामी रोगबारे खुल्नै चाहँदैन, सामाजिक लाञ्छना र परिवारको हेलामा परिएला भन्ने डरले बढी खुम्चिन्छन् उनीहरू ।’ एउटा बिरामीको अनुभव नै अर्को बिरामीको प्रेरणाको मुख्य स्रोत हुन सक्ने उनी बताउँछन् । यसका लागि बिरामीले समुदायमा खुलेर आउन सक्ने वातावरण नभएको उनको भनाइ छ । जसका लागि क्यान्सरलाई मृत्युसँग दाँजिने चार दशक पुरानो मानसिकता हटाउन बृहत् अभियान आवश्यक छ ।

नेपालमा प्रत्येक वर्ष करिब १० हजारमा नयाँ क्यान्सरका अनुमान छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर प्रत्येक वर्ष २ लाख ७० हजारभन्दा बढी महिलाको पाठेघरको मुखको क्यान्सरले मृत्यु हुन्छ, जसमध्ये ८५ प्रतिशत मृत्यु विकासोन्मुख मुलुकै महिला छन् । पाठेघरको मुखको क्यान्सर ३५ देखि ६४ वर्षसम्मका महिलामा यो रोगको जोखिममा छन् । प्रारम्भिक अवस्थामै निदान गरी उपचार गरे यसबाट बच्न सकिने विशेषज्ञहरू बताउँछन् ।

प्रकाशित : भाद्र ७, २०७५ ०८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?