कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

बिमस्टेक तयारीमा जुट्यो महानगर 

विद्या राई

काठमाडौँ — भदौ १४ र १५ गते हुन लागेको बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) सम्मेलनको तयारीका लागि काठमाडौं महनगरपालिका फोहोरमैला व्यवस्थापन, सडक सरसफाई र स्वागतद्वार निर्माणमा जुटेकाे छ ।

बिमस्टेक तयारीमा जुट्यो महानगर 

घर, व्यवसाय, कार्यालयबाट निस्केका फोहोर जथाभावी फ्याकेर दुर्गन्धित र अस्तव्यस्त बनेको काठमाडौं सरसफाईमा महानगरलाई चटारो छ । फोहोरमैला उठाउने र सिस्डोलमा व्यवस्थापनका लागि पठाउने काम भइरहेको महानगरका प्रवक्ता ज्ञानेन्द्र कार्कीले बताए ।

‘महानगरले उठाउँदै आएको स्थानका फोहोरमैला लगभग उठाइसकेका छौँ, निजी क्षेत्रका आफ्नै गाडी नभएर उठाएका छैनन्, यी पनि महानगरले नै उठाउँछ,’ उनले भने । अहिले दैनिक २०० ट्रक फोहोर सिसडोलमा विसर्जन भइरहेको छ ।


यसैगरी धुलाम्मे र हिलाम्मे सडकहरु पनि बिमस्टेक सम्मेलनको अवसरमा सफा हुँदैछन् । भदौ १० गतेबाट काठमाडौंका मुख्य सडकहरु जेट मेसिन र ब्रुमरले सफा गरिने भएको छ । जेट मेसिनले हिलो पखाल्ने काम हुन्छ भने ब्रुमरले धुलो सफा गर्छ । एयरपोर्टदेखि सोल्टी, सिंहदरबार आसपास, राष्ट्रपति निवास, प्रधानमन्त्री निवास, चक्रपथ लगायतका मुख्य सडकहरु जेट मेसिन र ब्रुमर लगाएर सफा गरिनेछन् ।


यसका लागि महानगरमा भएका तीन वटा जेट मेसिन र ब्रुमर प्रयोग हुनेछन् । थप जेट मेसिन र ब्रुमरका लागि सडक विभागसँग पनि समन्वय गर्न सकिने प्रवक्ता कार्कीले बताए । काठमाडौंमा करिब एक सय वटा स्वागतद्धार पनि निर्माण हुनेछन् ।


महानगरका अनुसार १२ गतेसम्ममा फोहोरमैला व्यवस्थापन, सडक सरसफाई र स्वागतद्धार निर्माण गरिनेछ । बिमस्टेकमा नेपाल, भारत, बंगलादेश, भुटान, म्यानमार, श्रीलंका र थाइल्यान्ड सदस्य छन् । यी मुलुकका राष्ट्र र सरकार प्रमुखहरू भदौ १४ र १५ गते आयोजना हुने सम्मेलनमा सहभागी हुँदैछन् । ‘१३ गतेबाट पाहुनाहरु आउन सुरु गर्नुहुन्छ, १२ गते सम्पन्न गरिसक्नुपर्ने भएकोले काम त्यही गतिमा बढिरहेको छ,’ प्रवक्ता कार्कीले भने ।

दिनमा मात्रै काम गरेर सम्भव नहुने भएकाले रातको समयमा पनि काम गरिने महानगरले जनाएको छ । दिनमा सवारीसाधनको चाप हुने कारण रातमा सडक सफाईको काम बढि हुनेछ । यसअघि ८ घण्टामात्रै कर्मचारी परिचालन गर्दै आएको महानगरले तयारी सम्पन्न नहुन्जेलसम्म १६ घण्टा परिचालन गर्ने भएको छ । सवारीसाधन र मेसिनहरु पनि सोही अनुरुप सञ्चालन हुनेछन् ।


तयारीमा लागेको सबै खर्च महानगरले आन्तरिक स्रोतबाट जुटाउने भएको छ । सवारीसाधन, मेसिन र मानवीय स्रोत परिचालन दोब्बर भएकाले खर्च बढि हुने आँकलन गरेको छ ।


सन् १९९७ मा स्थापना भएको बिमस्टेकको पहिलो सम्मेलन सन् २००४ मा थाइल्यान्डमा भएको थियो । दोस्रो सन् २००८ मा भारतमा भएको थियो । तेस्रो शिखर सम्मेलन ४ वर्षपछि सन् २०१४ मा म्यानमारमा भएको थियो । त्यसपछिको अध्यक्ष नेपाल बनेको हो । अध्यक्ष मुलुकले सम्मेलन आयोजना गर्ने चलन अनुसार यसपटक काठमाडौंमा सम्मेलन हुन लागेको हो । नेपाल चार वर्षदेखि बिमस्टेकको अध्यक्ष छ ।

प्रकाशित : भाद्र ७, २०७५ १३:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?