१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

अख्तियारको छानबिनले रोक्या रोक्यै

प्रशान्त माली

ललितपुर — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नख्खु खोला करिडोर निर्माणमा भएको अनियमितताबारे उजुरी परेपछि २०६७ सालमा छानबिन सुरु गर्‍यो ।

अख्तियारको छानबिनले रोक्या रोक्यै

तत्कालीन जिल्ला प्राविधिक कार्यालय इन्जिनियरका अनुसार विस्तृत निष्कर्ष आउन बाँकी छ । १६ किमि कच्ची सडक निर्माण गर्न २०६७ मा तत्कालीन जिल्ला विकास समिति ललितपुरले १ करोड ६० लाख र ललितपुर उपमहानगरपालिकाले १० लाख रुपैयाँ बजेट छुट्याएको थियो । स्थानीय निकाय आर्थिक प्रशासन नियमावलीमा उपभोक्ता समितिलाई ३५ लाखसम्मका योजना मात्रै कार्यान्वयन गर्न दिने व्यवस्था छ ।

जिविसले राजनीतिक प्रभावका आधारमा बजेट सीमाभन्दा बढीको रकम निकासा गरेको आरोप थियो । डेढ करोड रुपैयाँभन्दा बढी बजेटको योजना उपभोक्ता समितिलाई दिने जिविसको निर्णयलाई अख्तियारले छानबिन थालेको हो ।

महालेखा परीक्षकको कार्यालय तथा राष्ट्रिय सतर्कता केन्द्रले नख्खु करिडोर निर्माणमा अनियमितता भएको भन्दै संलग्नमाथि कारबाही र उपभोक्ता समितिको नाममा रहेको बेरुजु असुलउपर हुनुपर्ने निर्णय गरेका थिए । तर, हालसम्म फछ्र्योट भएको छैन ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साझा प्रकाशनको अनियमितताबारेमा थालेको छानविन एक वर्ष बढी बितिसक्यो, अझै टुंगिएको छैन । आयोगमा साझाका कर्मचारीले संस्थामा व्यापक भ्रष्टाचार भएको दाबी गर्दै छानबिन गरी कारबाही गर्न माग गरेर गत वर्ष साउनमा उजुरी दर्ता गरेका थिए ।

कर्मचारीको उजुरीमा साझाका महाप्रबन्धक डोलेन्द्रप्रसाद शर्माले ०७३ मा आफ्नो मुद्रणालयलाई कथित रूपमा बेचेको र अल्पाइन अफसेट प्रेसको थोत्रो वेभ मेसिन प्रक्रिया नपुर्‍याई भाडामा लिएको आरोप छ । त्यसैगरी उनीमाथि साझाको पुल्चोकस्थित केन्द्रीय कार्यालय परिसरको जग्गा सहकारी बैंकको लिलामबाट बचाउन सरकारबाट ३० करोड रुपैयाँ दिएको थियो । उक्त रकममध्ये १४ करोड रुपैयाँबाहेक बाँकी रकम मनोमानी ढंगले खर्च गरेको आरोप लगाएको थियो । साझाका आफ्नै छापाखाना र कम्प्युटर छन् ।

लेखकहरूबाट पाण्डुलिपि टाइप भएर प्राप्त हुने नियम छ । तर, कम्प्युटर टाइपिङ, प्रुफिङको नाउँमा लाखौं रुपैयाँ भुक्तानी गरी कार्कीले अनियमितता गरेको कर्मचारीको आरोप छ । महाप्रबन्धक शर्माले अख्तियारले थालेको छानबिनमा आफ्नो केही कैफियत नभेटिएको दाबी गरे । आयोग प्रवक्ता रामेश्वर दंगालले कार्कीको फाइल अनुसन्धानकै क्रममा रहेकाले केही भन्न नसक्ने अवस्थामा रहेको बताए ।

रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीविरुद्ध कर्मचारीले अख्तियारमा ट्रान्समिटर खरिद, दोहोरो तलब लिएको, सवारी सुविधा र महँगा मोबाइल, क्यामरा खरिदलगायत १४ शीर्षकमा अनियमितता गरेको दाबी सहित कारबाही गर्न गत वर्ष दिएको उजुरी अझै टुंगिएको छैन ।

कार्कीले खुमलटारस्थित प्रसारण केन्द्रको जग्गा ठेकेदार कम्पनीलाई कौडीको भाउमा भाडामा दिएको पनि आरोप छ । खुमलटारको उक्त जग्गाको मूल्य चलनचल्तीमा प्रतिरोपनी ५ करोड रुपैयाँ पर्छ । भाडामा प्रतिरोपनी एक लाख रुपैयाँभन्दा कम मूल्यमा पाउन सकिँदैन । ललितपुर महानगरपालिका–१५ वडाध्यक्ष सुदर्शन मिश्रले उक्त जग्गा विपत् व्यवस्थापनका लागि खुला नै राख्नुपर्नेमा रेडियो नेपालले कौडीको भाउमा भाडामा दिएको आरोप लगाए ।

सातदोबाटो–गोदावरी जाने मूल बाटोको उत्तरपट्टिको ४२ रोपनी जग्गा कुवेर ज्ञान हाउजिङ कम्पनीलाई कम मूल्यमा भाडामा दिएको कार्कीमाथि आरोप छ । कार्कीले पनि अख्तियारले थालेको छानबिनमा आफ्नो केही कैफियत नभेटिएको दाबी गरे ।

यी केही उदाहरण मात्र हुन् । आयोगलाई अख्तियारको दुरुपयोग गरेमा कानुनबमोजिम अनुसन्धान गर्न सक्ने संवैधानिक व्यवस्था छ । अनुसन्धानबाट सार्वजनिक पद धारण गरेका व्यक्तिले भ्रष्टाचार गरेकामा कारबाही गर्न अदालतमा मुद्दा दायर गर्न सक्छ ।

आयोगले सार्वजनिक पद धारण गरेका व्यक्तिले भ्रष्टाचार गरेर आरोपमा थुप्रै छानबिन पनि थाल्ने गरेको छ । तर, आयोगद्वारा अनुसन्धान धेरै ढिलाइ गर्ने गरेको आरोप छ । आयोगका प्रवक्ता रामेश्वर दंगालले इस्ट्रिङ अपरेसन गरेर घूससहित पक्राउ परेकाहरूको मात्र २०/२२ दिनमा मुद्दा दायर गर्न सकिने बताए । ‘अन्य केसको हकमा अनुसन्धान जति पनि लम्बिन सक्छ,’ उनले भने, ‘अनुसन्धान लम्बिनुमा आयोगमा कर्मचारी अपुग भएर भने होइन ।’

उनका अनुसार ३२ हजार घूससहित पक्राउ परेका यातायात कार्यालय वाग्मती एकान्तकुना सवारी चालक अनुमतिपत्र नयाँ दर्ता शाखाका नासु लेखनाथ भुसाल र ७० हजार रुपैयाँ घूससहित पक्राउ परेका ललितपुर महानगरपालिका राजस्व फाँटका खरिदार राजेन्द्र नेमकुल र १५ नम्बरका दलाल कृष्ण बोगटीलाई मुद्दा दायर गरिसकेको छ । ‘अन्य केसको हकमा त्यसै भन्न सकिँदैन,’ उनले भने ।

प्रकाशित : भाद्र ८, २०७५ ०८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?