१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

ट्रमा सेन्टर जाँदैनन् वीरका डाक्टर

एउटै स्वास्थ्य प्रतिष्ठानअन्तर्गत पर्ने वीर अस्पताल र ट्रमा सेन्टरका चिकित्सकले आवश्यक पर्दा दुवैतिर सेवा दिनुपर्ने हुन्छ । तर दुई अस्पतालबीच सहकार्य नहुँदा बिरामी मारमा पर्ने गरेका छन् । वीरका डाक्टरलाई लिखित रूपमा बोलाए पनि नआउने गरेको ट्रमाका चिकित्सक बताउँछन् ।
फातिमा बानु

काठमाडौँ — बाराका सामोहम्मद उपचारका लागि राजधानीको ट्रमा सेन्टर पुगे । लामो समयदेखि ढाड र छातीको समस्या झेलिरहेका उनको राजधानी आइपुगे पनि उपचार भने हुन सकेको छैन । ट्रमामा कार्यरत चिकित्सकले गर्नुपर्ने सबै उपचार भइसक्दा पनि ‘कन्सल्टेन्ट डाक्टर’ नहुँदा उनको शल्यक्रिया रोकिएको छ ।

ट्रमा सेन्टर जाँदैनन् वीरका डाक्टर

हाडमा देखिएको क्षयरोग संक्रमण छातीसम्म सरेको हुँदा यतिखेर उनलाई छातीरोग विशेषज्ञबाट उपचार आवश्यक छ, जो ट्रमामा उपलब्ध छैनन् ।

वीर अस्पतालबाट विशेषज्ञ आइदिनुपर्ने हुन्छ । वीरबाट विशेषज्ञ नआउँदा उनको आकस्मिक उपचार समेत रोकियो । अवस्था गम्भीर भएपछि हाल उनलाई महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल रिफर गरिएको छ । दुई साताअघि मोटरसाइकलको ठक्करबाट घाइते भएका एक बिरामीको पनि कन्सल्टेन्ट डाक्टर अभावमा उपचार प्रभावकारी हुन सकेको छैन । उनको मानसिक अवस्थामा समेत समस्या देखिएको छ ।

आफ्नो नामसमेत सही तरिकाले भन्न सक्दैनन् । उनको खुट्टाको हड्डी भाँचिएको छ । शल्यक्रिया गर्नुपर्ने अवस्थामा छन् । आफन्तबारे केही बताउन नसक्ने उनलाई मानसिक रोग विशेषज्ञबाट उपचार आवश्यक छ । आफन्तको अनुमतिबिना शल्यक्रिया गर्न नसकिने हुँदा उनको पनि उपचार रोकिएको छ । ट्रमा सेन्टरमा मानसिक रोग विशेषज्ञको दरबन्दी छैन ।

वीरकै डाक्टरले हेर्नुपर्ने हुन्छ । वीर अस्पतालमा पनि साताको २ दिन मात्रै मानसिक रोग विशेषज्ञ आउँछन् । उनीहरू पाटन मानसिक अस्पतालबाट आएर वीरमा उपचार सेवा दिने गरेका छन् ।

ट्रमा सेन्टरमा भने उनीहरू आउँदैनन् । गम्भीर घाइते भएर ट्रमा सेन्टरमा भर्ना भएका अधिकांश बिरामी मानसिक अवस्थामा पनि विक्षिप्त हुन्छन् । त्यस्ता बिरामीलाई मानसिक परामर्श र मनोबल बढाउन अत्यावश्यक हुने उपचारमा संलग्न चिकित्सक बताउँछन् ।

वीर अस्पताल र ट्रमा सेन्टर एउटै स्वास्थ्य प्रतिष्ठानअन्तर्गत पर्छन् । यस हिसाबले दुवै अस्पतालका चिकित्सकले आवश्यक पर्दा दुवैतिर सेवा दिनुपर्ने हुन्छ । वीरका डाक्टरले ट्रमाका बिरामीको अवस्था हेर्ने र ट्रमाका डाक्टरले वीरका बिरामीको शल्यक्रिया गर्ने ।

दुई अस्पतालबीच सहकार्य नहुँदा बिरामी मारमा पर्ने गरेका छन् । वीर अस्पतालका डाक्टरलाई लिखित रूपमा बोलाउँदा पनि नआउने गरेको ट्रमामा कार्यरत चिकित्सक बताउँछन् । शल्यक्रिया नै नहुने र जोखिममा पर्ने स्थिति आएपछि बिरामीलाई अन्य अस्पतालमा रिफर गरिँदै आएको छ ।

रिफर भएर जाने सरकारी अस्पतालमा पनि बिरामीले सजिलै बेड पाउन सक्दैनन् । उनीहरू भौंतारिन्छन्, दु:ख पाउँछन् । यस्ता झमेलासँग जुध्न नसक्दा कोही उपचार नै नगरी फर्किन्छन् ।

दुर्घटनामा गम्भीर घाइते, आगोले जलेका, र हाडजोर्नी सम्बन्धी समस्या भएका बिरामीले ट्रमा सेन्टरमा लामो समयसम्म उपचार गर्नुपर्ने हुन्छ । उनीहरूलाई शल्यचिकित्सकको जति आवश्यकता हुन्छ जनरल मेडिसिनका कन्सल्टेन्ट डाक्टरको निगरानी पनि उत्तिकै चाहिन्छ । यस्ता बिरामीलाई मधुमेह, मुटु, मृगौला, छातीसम्बन्धी समस्या देखिन्छ ।

शल्यक्रिया भइसकेका बिरामीलाई पनि कहिलेकाहीं यस्ता चिकित्सकबाट उपचार चाहिन्छ । ट्रमा सेन्टरका निर्देशक डा. प्रमोद उपाध्याय भन्छन्, ‘हामीले ट्रमामै यस्ता डाक्टरको दरबन्दी हुनुपर्छ भनेर माग राखेका छौं, नयाँ दरबन्दी खुल्न नसक्दा यस्तो समस्या भइरहेको छ ।’

विशेषज्ञ र पूर्वाधार हुँदाहुँदै पनि बिरामी रिफर गर्नुपरेकोमा उनले दु:ख व्यक्त गरे । वीरका डाक्टर ट्रमा जान नमानेको विषयमा आफूलाई जानकारी नभएको वीर अस्पतालका निर्देशक डा. भूपेन्द्रकुमार बस्नेतले बताए । उनले भने, ‘वीरमा बिरामीको चाप अत्यधिक छ, यतैका बिरामीलाई समय दिन भ्याइनभ्याइ हुन्छ ।’ दुवै अस्पतालका प्रशासन र डाक्टरसँग सल्लाह गरेर यस्ता समस्या समाधान गरिने उनले बताए ।

प्रकाशित : भाद्र ८, २०७५ ०८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?