सुमो दुर्घटनामा चालकसहित ११ घाइते

कान्तिपुर संवाददाता

काठमाडौँ — दक्षिकाली नगरपालिका ९ को टल्कु भन्ने ठाउँमा शनिबार राति सुमो दुर्घटना हुँदा चालकसहित ११ जना घाइते भएका छन् । 

काठमाडौंबाट वीरगन्जका लागि छुटेको ना १ ज ४७०२ नम्बरको युनिक सुमो राति ८ बजेतिर दुर्घटनामा परेको दक्षिकाली नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष अम्रिका बलामीले जानकारी दिए। उनका अनुसार स्थानीय बासिन्दा, इलाका प्रहरी कार्यालय फर्पिङको टोलीले घाइतेको उद्धार गरेको हो। सुमोमा चालकसहित ११ जना सवार थिए ।

Yamaha

घटनामा परेकाहरुको पहिचान खुलेको छैन। उनीहरुमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइतेहरुलाई मनमोहन हस्पिटल दक्षिकालीमा उपचारमा राखिएको छ।

सुमो सडकबाट करिब ५० मिटर तल खसेको छ।

प्रकाशित : भाद्र ९, २०७५ २१:३९
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

महाभारतको सिङमाङ सोलुखुम्बुको फिफी

कान्तिपुर संवाददाता

काठमाडौँ — तामाङहरू महाभारत लेकलाई ‘म्हाबर’ भन्छन् । यही म्हाबरबाट बुधबार सिङमाङ, ठेकी, थारा (कपडा बुन्ने तान), डम्फूजस्ता पुराना बाजागाजासहितका सामग्री सहर ल्याइपुर्‍याइएको छ । राजधानीको भृकुटीमण्डपस्थित पर्यटन बोर्ड परिसर यति बेला खुल्ला संग्रहालयजस्तै बनेको छ, जहाँ यी र यस्तै पुराना कलात्मक सामग्री, तस्बिर प्रदर्शनीदेखि भेषभूषाका स्टलसमेत छन् । बुधबार सुरु तामाङ ज्ञान महोत्सवअन्तर्गत लोकजीवन, संस्कृति सम्बन्धित सामग्री राखिएका हुन् ।

प्रेक्षालयभित्र ३ नम्बर प्रदेशका उपसभामुख राधिका तामाङले महोत्सवको उद्घाटन गरिरहेका बेला बाहिर प्रदर्शनी स्थलमा गायक/गीतकार फूलकुमार बम्जनलाई भ्याईनभ्याई थियो । साहित्यिक संस्था तामाङ डाजाङका तर्फबाट पुराना सामग्रीहरू संकलनको संयोजन उनैले गरेका थिए । ‘गाम्बु (सिङमाङ) मा राखिएको घिउ पनि चाख्ने कि ?’ स्टल अवलोकन गर्न आउनेहरूलाई उनी जिस्काउन भ्याइहाल्थे, ‘सिङमाङ ल्याउँदा घिउ पनि सित्तैमा आएछ ।’

‘म्हाबर सेलो’ एल्बमका यी सर्जकले सिङमाङ, ठेकी, तेल हाल्ने काठको भाँडो, कपडा बुन्ने तान काभ्रेको महाभारत क्षेत्रमा पर्ने भीमखोरीबाट साथी दीर्घ ङेसुरमार्फत मगाएका रहेछन् । दीर्घले भने अचेल गाउँबाट मौलिकता लोप हुँदै गएको समस्या सुनाए । ‘यी सब संकलन गर्न लामो समय लाग्यो,’ साहित्यिक संस्था नाङसाल क्लबका पूर्व अध्यक्षसमेत रहेका उनले भने, ‘रेडिमेड कपडाले गर्दा तान बुन्ने चलन त हराई नै सक्यो ।’

यसरी नै हराउँदै गएको मध्ये महोत्सवमा छुर र घुम पनि आकर्षण बनिरहेको छ । महोत्सव अवलोकन गर्न पुग्ने धेरै तन्नेरीले घुम ओडेर सेल्फी लिँदै थिए । घुमकै छेउ बन्द नगरेको ढडियाजस्तो चोयाले बुनेको सामग्री थियो । ‘यसलाई छुर भनिन्छ,’ गायक फूलकुमार भन्दै थिए, ‘तेल पेल्न पनि प्रयोग हुन्छ, जाँड बनाउन पनि । पहिलेपहिले तोङवाको चलन सुरु नहुँदा कोदोको जाँड यसैमा छानेर पिउने चलन थियो रे ।’

यी दुवै सामग्री भने सिन्धुपाल्चोकबाट ल्याइएका थिए, प्राज्ञ निमा ग्याम्जो बल लामामार्फत । केहीअघि गाउँबाट आइपुगेका पुराना सामग्री आफूलाई माया लागेर संरक्षण गरिराखेको बताए लामाले ।

महोत्सवमा ढ्याङग्रो, यापोङ (सगुन खाने भाँडो), सोली, गाङसाङ (चुलोमाथि मासु सुकाउने चोयाको वस्तु) पनि छन् । बिहेमा केटा र केटी पक्ष राखेर रक्सी खुवाउने यापोङचाहिँ फूलकुमारले भक्तपुर ठिमी पुगेर ल्याएका हुन् । अचेल सहरतिरका तामाङहरू यापोङको सट्टा बियर या कोकको बोतलमा खाँदा लाएर सगुन राख्ने चलन छ । ‘तर, गाउँमा यापोङचाहिँ हराएको छैन है,’ सिन्धुलीको कमलामाई खोल्मोगाङका फूलकुमारले भने, ‘यापोङ भएन भने सगुन नै राखिँदैन ।’

उनको स्टलमा सबैमा रोचक वस्तु थियो– फिफी । चोयाबाटै बुनिएको यो चारकुने ढकिया युनिक देखिन्थ्यो । सोलुखुम्बुको तामाङ समुदायमा कोसेली बोक्न प्रयोग गरिने फिफी पहिलोपटक सहर आइपुगेको हो । ‘यो सहरमै पनि कोसेली बोक्न हुने खालको छ,’ फूलकुमारले भने, ‘स्टाइल नै फेन्सी छ ।’

भित्र प्रेक्षालयमा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति वैरागी काइँला, पूर्व राजदूत गणेश योञ्जन, साहित्यकार आहूति, युग पाठक, मानवशास्त्री मुक्तसिंह लामा, संग्रामसिंह लामा, संयुक्त राष्ट्रसंघ आदिवासी स्थायी मञ्चका पूर्व सदस्य परशुराम तामाङ लगायतले तामाङ समुदायको मौलिक पहिचान र राज्यमा उनीहरूको उपस्थितिको अवस्थाबारे बहस गरिरहेकै बेला बाहिर प्रदर्शनी स्थलमा भने तन्नेरीहरू झाँक्रीको डमीसँग सेल्फी खिच्दै थिए । कोही टुङ्ना र डम्फू बजाउँदै सेलो गाउँदै थिए । बौद्धस्थित रञ्जित लामाको ‘ह्याङला गोइलो’ (हाम्रो पोसाक) ले बुटिकमा राखिने डमीलाई दिएको झाँक्रीको रूप आकर्षक थियो ।


महोत्सवको यो तेस्रो संस्करण हो । दुईदिने महोत्सवको पहिलो दिन २१ लेखकका किताब लोकार्पण गरिए भने १४ वटा कार्यपत्र प्रस्तुत गरिए । पहिलो सत्रमा ‘तामाङ भाषा र भाषा विज्ञान’ विषयका विभिन्न पक्षमाथि प्रा. दानराज रेग्मी, अम्बिका रेग्मी, भाषाविद् अमृत योञ्जन, धनबहादुर तामाङ, ओमकार श्रेष्ठ, लोकबहादुर लोप्चनले कार्यपत्र पेस गरेका थिए । दोस्रो सत्रमा ‘तामाङ समाज र संस्कृति’ विषयका विभिन्न पक्षमाथि निष्णु थिङ, राजनलाल जोशी, अञ्जु तामाङ, प्रतिज्ञा रेग्मी, ध्यानबहादुर मोक्तान, प्रताप बल तामाङ, कर्म डी लामालगायतले कार्यपत्र प्रस्तुत गरे ।

विभिन्न तामाङ विभूतिहरूका तस्बिर प्रदर्शनीसमेत गरिएको महोत्सवमा नेपालका विभिन्न जिल्लासँगै भारतका दार्जिलिङ र सिक्किमका साहित्यकार, संस्कृतिकर्मी, कलाकर्मी लगायतको सहभागिता रहेको महोत्सव संयोजक एवं पूर्व राजदूत गणेश योञ्जनले जनाए ।

प्रकाशित : भाद्र ९, २०७५ २१:१०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT