१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

वाग्मतीमा र्‍याफ्टिङको लर्को

काठमाडौँ — सफाइ अभियानको २ सय ७६ औं साता पुगेको अवसरमा शनिबार वाग्मती नदीमा जलयात्रा मनाइएको छ । महोत्सवको भने यो १८ औं संस्करण रहेको आयोजकले जनाएको छ ।

वाग्मतीमा र्‍याफ्टिङको लर्को

‘वाग्मती जलजात्रा–२०१८’ नाम दिइएको उत्सवमा वाग्मती सफाइ अभियन्ताको उल्लेख्य सहभागिता थियो । उत्सवको मुख्य आकर्षणका रूपमा नदीमा र्‍याफ्टिङ गरिएको हो ।

थापाथली पुलबाट सुरु भएको जलजात्रा बल्खु हुँदै चोभार खण्डको सुन्दरीघाटसम्म गरिएको हो । १८ वटा र्‍याफ्टमा सय जनाभन्दा बढी र्‍याफ्टिङमा सवार थिए । कार्यक्रमको मुख्य अतिथि वरिष्ठ वातावरण पत्रकार भैरव रिसाल थिए भने विशिष्ट अतिथिमा वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत थिए ।

त्यसैगरी प्रतिनिधिसभा सदस्य पम्फा भुसाल, अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष नरेन्द्रराज बस्नेत, पूर्वअर्थसचिव किशोर थापा, स्थानीय जनप्रतिनिधि तथा सफाइ अभियानका अगुवा, सम्पदाप्रेमीलगायतको उपस्थिति थियो ।

बिहानैदेखि दर्केको वर्षाका कारण औपचारिक कार्यक्रम तोकिएको समयभन्दा ढिलो सुरु भएको थियो । मन्त्री बस्नेत तथा वरिष्ठ पत्रकार रिसाललगायतका अतिथिहरू कार्यक्रमस्थल छाता ओढेर पुगेका थिए । पञ्चकन्यालाई समेत धौधौ मञ्चमा उकालिएको थियो । नदी किनारको हिलोमा अतिथि मुस्किलले सम्हालिए । त्यसैगरी रिभर गाइडलाई र्‍याफ्टमा हावा भर्नसमेत मुस्किल परेको थियो ।

महाकाली, मार्दी, भोटेकोसी, दूधकोसी, मस्र्याङ्दी, पश्चिम सेती, बूढी गण्डकी, सुनकोसीलगायत १८ नदीबाट छुट्टाछुट्टै ल्याइएको पानीलाई अतिथिले तामाको भाँडामा मिसाएका थिए । उक्त पानीलाई वाग्मती नदीमा मिसाइएको थियो । ‘आगामी दिनमा वाग्मती नदीलाई तिर्खा लागेको बेला नदीका स्वच्छ पानीझैं सहज पिउन सकियोस् भन्ने विम्बस्वरूप यसो गरिएको हो,’ कार्यक्रमका सभाध्यक्ष मेघ आलेले बताए, ‘कमसेकम नेपालले बेलाबखत आयोजना गर्ने सार्क शिखर सम्मेलन, बिमस्टेक सम्मेलनका बेला हामीले अथितिलाई वाग्मतीमा नौका विहार गराउन सक्यौं भने गौरव गर्न सकिन्छ ।’

एकदिने वाग्मती जलयात्रा उत्सवको नेपाल नदी संरक्षण संस्था (एनआरसीटी) र फ्रेन्ड्स क्लब कुपण्डोलले संयुक्त रूपमा आयोजना गरेका हुन् ।

प्रकाशित : भाद्र १०, २०७५ ०७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?