कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

सार्वजनिक जग्गा मिचेर विहार

काठमाडौँ — कीर्तिपुर नगरपालिका–७ का अध्यक्ष राजकुमार माली रैथाने हुन् । उनका पुर्खाको मृत्यु संस्कार सुन्दरीघाटमा भयो । अहिले पनि त्यहीँ हुन्छ । तर, छेवैमा रहेको सुलक्षण कीर्ति विहारले ठूलो पर्खाल लगाइदिएको छ । शवदाहका बेला धूवाँ निस्किन सक्दैन ।

सार्वजनिक जग्गा मिचेर विहार

नेवारी परम्पराअनुसार श्राद्ध गर्न आवश्यक दुइटा ढुंगाका भकारी अहिले विहारको पर्खालभित्र परिसक्यो । कहिले शिव र गणेशका मूर्ति सारिएको हुन्छ, त कहिले शव जलाउन जाने मलामीसँगै झडपको स्थिति आउँछ । ‘१ रोपनीभन्दा केही बढी जग्गा विहारले किनेको हो । बाँकी ४ रोपनी अतिक्रमित हो भनेर स्विकारे पनि संरचना भत्काउन मान्दैनन्,’ माली भन्छन् ।’ सुन्दरीघाटमा विहारले जग्गा अतिक्रमण गरेको स्थानीयको भनाइ छ । वाग्मती छेउको उक्त घाट र जग्गा वडा नं. ६, ७ र ९ मा पर्छ । विहारले चिहान सार्न दबाब दिने गरेको उनीहरूको भनाइ छ । अहिले उक्त विहारले वाग्मतीछेउको २५ रोपनी जग्गामा तरकारी खेती गर्न थालेपछि विवाद पुन: सतहमा आएको हो ।

‘यो १७ गुठीका मृतकका परिवारले परापूर्वकालदेखि नै दाहसंस्कार गर्दै आएको ठाउँ हो,’ सुन्दरीघाट चिहान संरक्षण समाजका महासचिव रमेशकुमार महर्जनले भने, ‘वडा नं. ६ र ९ मा पर्ने त्यो जग्गा उहाँहरूले अतिक्रमण गर्नुभएको प्रस्ट छ ।’ लोकप्रियताका लागि कीर्तिपुरका जग्गा अतिक्रमण हटाउने भने पनि राजनीतिक शक्तिका अगाडि जनप्रतिनिधि निरीह भएको उनको आरोप छ । विहारले निर्माण कार्य सुरु गर्दादेखि नै नक्सापास नगराएको र सार्वजनिक जग्गा मिचेको विषयमा विवाद छ ।

नगरपालिकाबाट पटकपटक वार्ताका लागि ६ पटकसम्म टोली गठन भइसके पनि समस्या उस्तै रहेको कर्मचारी बताउँछन् । उक्त विहार एकापट्टिबाट वाग्मती नजिक पर्छ भने अर्कोतिर सडकसीमाभित्र पर्छ । ‘करिडोरको लागि नदीबाट २५ मिटर र दक्षिणकालीतिर जाने सडकका लागि १५ मिटर सडकसीमा छुट्टयाउनुपर्ने हुन्छ,,’ नगरपालिकाका एक कर्मचारीले भने, ‘नक्सापास गर्न उहाँहरू आउनुभएको छ । तर, त्यसरी सार्वजनिक र सडकसीमा मिचेर गर्नै मिल्दैन ।’ उनले पटकपटक राजनीतिक दलले नक्सापासका लागि दबाब दिइरहेको बताए ।

प्रकाशित : भाद्र १०, २०७५ ०७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?