कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

जनै पूर्णिमामा किरातीको ढवाङकुमो 

ललितपुर — किराती युवतीहरू चाम्दो (संगिना) गाउँदै नाचे । युवकले साथ दिए । गोलो घेरामा गाउँदै, थपडी मारेर अघि र पछि सर्दै नाच्नु पर्ने संगिनाको नियमै हो । त्यसैमा मिसिए, नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति विष्णुविभु घिमिरे, प्राज्ञ श्रवण मुकारुङ, कवि व्याकुल माइला लगायत ।

जनै पूर्णिमामा किरातीको ढवाङकुमो 

उपत्यकामा बसोबास गरिरहेका ओखलढुंगा र खोटाङका वाम्बुले राईहरूले दुई दशकदेखि सामूहिक रूपमा यो चाड मनाउँदै आएका छन् । ढवाङकुमोकै अवसरमा किरात वाम्बुले राई समाजले आइतबार ललितपुरको महालक्ष्मी नगरपालिका–१ इमाडोलमा एउटा समारोह गर्‍यो ।


‘बाहुनछेत्रीले जनैपूर्णिमा, नेवारले क्वाँटी पूर्णिमा, किरातीले ढवाङकुमो पूर्णिमा भनेर मनाउँदा रहेछौं,’ उपकलुपति घिमिरेले भने, ‘आज एकै दिन तीनै थरीले तीन वटा हिसाबले चाड मनाउनुमा नेपालको सांस्कृतिक सौन्दर्य लुकेको छ ।’


कलाकारहरू बडाजित, विष्णु माइला, जीवन, भुवन, मोतीलाल, दिलकला, जीवनकुमारी, अरुणा र अम्बिका राईले मादल, बाँसुरी बजाएर राम्दले भाकाको गीत वाम्बुले भाषामै प्रस्तुत गरे । मौलिक पहिरनले आकर्षण दिइरहेको थियो । पुरुषले दौरा सुरुवाल र शिरमा वाम्बुले ढाका टोपी, महिलाले गुन्युचोली र सुनौला गरगहना झपक्कै पहिरिएका थिए ।


संस्थाका अध्यक्ष गजुरधन राईका अनुसार, ओखलढुंगाको उँबुगाउँको ढ्वाङकुमटारलाई वाम्बुले राईको उदगम थलो मानिन्छ । समुद्री सतहदेखि करिब २ हजार मिटर उचाइमा रहेको लिब्जु पहाडलाई ‘लिब्जु बाजे’ भनेर पूजा गरिन्छ । त्यहाँ मुन्धुम विधिअनुसार ढवाङकुमो मनाइन्छ । त्यसका अलावा खोटाङ, उदयपुरको कटारी, सुनसरीको धरान र बेलायतमा समेत ढवाङकुमो चाड धुमधामसाथ मनाउने गरिन्छ ।


समारोहमा ललितकला प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ धनबहादुर याक्खालाई विशेष सम्मान गरियो । मूर्तिकारहरू शिव न्यौपाने, नीराजन मानन्धर, इन्दिरा श्रेष्ठ, नरेश थुलुङ, रञ्जित थापामगर र गणेशबाबु पनि सम्मानित भए ।

प्रकाशित : भाद्र १०, २०७५ २१:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?