१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

अझै बनेनन् १४ सय सम्पदा

दामोदर न्यौपाने

काठमाडौँ — भूकम्पले भत्काएका १ हजार ५ सय सम्पदामध्ये अझै १ हजार ४ सय १० सम्पदा निर्माण हुन सकेका छैनन् ।

अझै बनेनन् १४ सय सम्पदा

भूकम्पले अतिप्रभावित १४ जिल्लाका ७ सय ५३ ऐतिहासिक, पुरातात्त्विक, धार्मिक र सांस्कृतिक सम्पदामा क्षति पुगेको प्रारम्भिक अनुमान थियो । पछि ती बाहेक थप ६ जिल्लाका ८ सय ४५ थपिएको पुरातत्त्व विभागका महानिर्देशक भेषनारायण दाहालले जनाए ।

तीमध्ये ४ सय ९४ को संरक्षण सुरु भएको मा १ सय ८५ को निर्माण सम्पन्न भएको उनले जनाए । विभागले १ सय ५० को यही आर्थिक वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ । उनले २०८० सालसम्म सम्पदा पुनर्निर्माण गरिसक्ने दाबी गरे ।

विभागले आर्थिक वर्ष २०७२/७३ बाट सम्पदा पुनर्निर्माण सुरु गरेको हो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले यस वर्ष ४९ सम्पदा निर्माणको अनुमति दिएको थियो । यसको लागि ३४ करोड ६२ लाख रुपैयाँ विनियोजन गरिएको थियो ।

निर्माण सम्पन्न सम्पदामध्ये केही विदेशी सहयोगमा बनेका छन् । विदेशी सहयोगमा ९ वटा सम्पदा काठमाडौं भ्याली प्रिजर्भेसन ट्रस्टले बनाएको छ । त्यसैगरी अमेरिकी एम्बासडर फन्डबाट हनुमानढोका दरबार परिसरको मोहनकाली चोकको पश्चिमी मोहोडा निर्माण सकिएको छ । श्रीलंकन सरकारको सहयोगमा बुङ्मतीको रातो मत्स्येन्द्रनाथको मन्दिरको संरक्षण तथा स्वयम्भूको आनन्दकुटी विहारको पुनर्निर्माण सम्पन्न भएको विभागले जनाएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बन्न बाँकी रहेका सम्पदाका लागि बजेट व्यवस्था गर्ने प्रतिबद्धता जनाएको छ । ‘बजेटका जटिलता छन्, प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भने, ‘स्रोत पहिचान गर्छाैं र बजेट के गर्न सकिन्छ भनेर हेर्छाैं ।’

गुम्बा पुनिर्माण गर्ने प्रतिबद्धता
ज्ञवालीले भूकम्पबाट क्षतिग्रस्त गुम्बाको पुनर्निर्माणका लागि प्राधिकरण प्रतिबद्ध भएको बताए । संघीय संसद्का माननीय सदस्यहरू तथा गुम्बासँग सरोकारवाला प्रतिनिधिसँग गुम्बा पुनर्निर्माणबारे छलफल गर्दै प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले निजी आवास पुनर्निर्माणमा बढी जोड दिनुपरेका कारण केही समय गुम्बालगायतका संरचनाको पुनर्निर्माण ओझेलमा परे पनि अब त्यसलाई अगाडि बढाउने प्रतिबद्धता जनाए ।

सम्बन्धित गुम्बाले बनाएका नक्सालाई मान्यता दिनुपर्ने प्रतिनिधिको मागप्रति सकारात्मक धारणा राख्दै उनले सरोकारवालाको राय सल्लाहमा सम्पदाको मौलिकता रहने गरी त्यसलाई अन्तिम रूप दिइने बताए । उनले गुम्बालगायतका सार्वजनिक संरचना निर्माणमा स्थानीय सरकारलाई पनि संलग्न गराउँदै लैजाने प्राधिकरणको नीति रहेको बताए ।

प्रकाशित : भाद्र १२, २०७५ ०८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?